back
CTIZAN AD

आठ दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक, नागरिकलाई दैनिक यात्रामा सास्ती

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.1K 

shares

गलेश्वर (म्याग्दी) । गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् ।

पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गरेकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियालिन ।

सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन् ।

वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताए । यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उनले बताए ।

यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन् ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिए ।

उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

“बेनी–दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भने “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ ।”

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी–दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए । पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “वर्खाको समयमा वैकल्किप मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ”, उनले भने, “अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ ।”

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:१८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...