काठमाडाैँ । नेकपा माओवादी केन्द्र विहादी गाउँपालिका ६ नम्बर वडा समितिले ३०औँ जनयुद्ध दिवस मनाएको छ । शालिग्राम छापमा एक कार्यक्रमको आयोजना गरी माओवादीले जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र विहादी गाउँपालिका उपाध्यक्षहरू टेकबहादुर थापा र टेकबहादुर बस्यालले जनयुद्धका कारण नेपालमा सामन्ती राजतन्त्रको अन्त्य भएको बताए । उनीहरूले जनयुद्धले नै उत्पीडित, उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न गराएको भन्दै माओवादी केन्द्रमा गोलबन्द हुन आम न्याय प्रेमी जनसमुदायलाई अपिल गरे ।
उनीहरूले जनयुद्धको जगमा प्राप्त उपलब्धिलाई रक्षा र कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गर्दै जनयुद्ध दिवसको शुभकामना दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी सङ्गठनका विहादी गाउँपालिकाका अध्यक्ष छविलाल न्यौपानेले जनताको विकास र सुशासनको पक्षमा माओवादी केन्द्र मात्र रहेको बताए । उनले भ्रष्टाचारको भण्डाफोर गर्न सबैलाई आग्रह गर्दै सामाजिक विकृति विसङ्गतिका विरुद्ध सबै नागरिक लाग्नुपर्ने आवश्यकता औँल्याए ।
विहादी गाउँपालिका–६, का वडा अध्यक्ष मनबहादुर बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पालिका समितिका सदस्य सोभाखर तिवारीले गरेका थिए । २०५२ साल फाल्गुन १ गते जनयुद्ध सुरु गरेको दिनलाई स्मरण गर्दै आज नेकपा माओवादी केन्द्रसहित विभिन्न घटकहरूले देशैभर जनयुद्ध दिवसलाई भव्यताका साथ मनाएका छन् ।
,
वि.सं.२०८१ फागुन १ बिहीवार १७:१२ मा प्रकाशित































