back
CTIZAN AD

१० वर्ष अमेरिकामा पढेर फर्किएका सुशील कृषि उद्यम गर्दै

वि.सं.२०८१ चैत १ शुक्रवार

714 

shares

म्याग्दी । मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन् । मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् ।

“हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भने, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।”

अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन् । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्यौली जग्गा छ ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आएका थिए ।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन् ।

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ ।

“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवद्र्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भने, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”

वि.सं.२०८१ चैत १ शुक्रवार १०:२४ मा प्रकाशित

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त...

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको...

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८...