back
CTIZAN AD

राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै

वि.सं.२०८१ चैत ८ शुक्रवार

660 

shares

गोलबजार (सिरहा) । कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् ।

बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयहरुमा पहिलाको भन्दा बेग्लै खालको उत्साह देखिन थालिएको छ । “पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीभित्र सानासाना व्यवयासी मात्र थियो,” लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादव भन्नुहुन्छ, “तर अहिले सडक फराकिलोसँगै बजारमा ठूलठूला पक्की भवन र ठूलो पसलहरु खुल्न थालेका छन् ।” कुनै बेला दुर्गम मानिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित विद्यापती मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिण्डा–खुर्कियाही सडक छेउका बस्तीहरु सुगम क्षेत्र बनेका छन् ।

लक्ष्मीपुरपतारी गाउँपालिकालाई केही वर्षअघि सम्म दुर्गम क्षेत्रका रुपमा मानिथ्यो तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला लक्ष्मीपुर पतारी क्षेत्र मधेस प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापती मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुरपतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहहरीसम्मको उक्त सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिरहाले सडक कालोपत्र गरेपछि स्थानीयहरुलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । “छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो”, पोखरभिण्डा गाउँका स्थानीय सन्तोष साह भन्छन् , “तर सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।”

सडक डिभिजन कार्यालय लहानले सिरहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकहरुको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरु अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडकहरु निर्माण भएपछि विकासले गति लिनाका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् । “पहिला पहिला सडक जीर्ण हुँदा सवारीसाधन त्यति नचल्दा गाउँमा उत्पादन भएको तरकारी सहज रुपमा लहान बजारसम्म पु¥याउन समस्या हुन्थ्यो”, लक्ष्मीपुर पतारीका श्रवण महतो भन्छन्, “तर अहिले थुप्रै सङ्ख्यामा अटो रिक्साहरु चल्न थालेपछि ती बालीहरु बजार पु¥याउन सकिरहेका छाँै ।” यसबाट किसानसमेत उत्साहित भएको उनकोे भनाइ छ ।

वर्षांैदेखि जीर्ण रहेको सो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । रु १८ करोड ७४ लाख ९९ हजार नौको लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौँले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ । २०८२ असारसम्ममा उक्त सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सब–इन्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उनका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँबाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिहेको छभने गाउँ क्षेत्रमा नाला निर्माण गरिएको छ ।

निर्माणाधीन विद्यापती मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इन्जिनियर आशुतोष कर्णले बताए । प्राविधिक रुपमा केही ‘भेरियसन’ गर्नुपर्ने भएकाले सडकको बाँकी कार्य छिट्टै अगाडि बढाइने उनकोे कथन छ ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चौक हुँदै चकदह, प्रमाणपुर र वडा नं १० पटेर्वा चोकसम्म निर्माणाधीन सडकको काम पनि तीव्र रुपमा भइरहेको छ । कुल आठ किलोमिटर ५०० मिटर लामो सो सडकमा हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने चरणमा पुगेको डिभिजन सडक कार्यालय लहानले जनाएको छ ।

गौरी पार्वती के एन्ड केजी जेभीले २०८१ मङ्सिर १७ गतेसम्म काम सक्नेगरी २०७९ मङ्सिर १८ मा ठेक्का सम्झौता गरेकामा रकम सुनिश्चित नगरिँदा केही ढिलाइ भए पनि अहिले काम तीव्र रुपमा भइरहेको निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर भूपेन्द्र सिफैलया बताउँछन् । उनले थपिएको म्यादअघि नै काम सकिने गरी निर्माणको काम अघि बढेको बताए ।

बलान नदीको छेउबाट निर्माण भइरहेको सो सडकले आवागमनमा सहजता मात्र नभई बलान नदीले बर्सेनि गर्दै आएको कटान र डुबानको समस्या समाधान हुने स्थानीयको बुझाइ छ । “हाम्रो लागि यो बाटो अत्यन्तै महत्वपूर्ण र वरदान नै बनेको छ,” बैरवनका स्थानीय जीवछ यादव भन्छन् , “सडक निर्माण भएपछि गाडी गुडाउन पनि सहज हुन्छ र बर्खायाम बलान नदीले गर्ने कटान र डुबानबाट समेत बचाउँछ । यो हाम्रो लागि ठूलो उपलब्धि हो ।”

कुल रु २७ करोड आठ लाख १६ हजारको लागतमा निर्माण भइरहेको यस सडकको भौतिक प्रगति ३३ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि विश्व सुवेदीको भनाइ छ ।

यस्तै उदयपुरको पुरानो सडकसँग सप्तरी लोकमार्ग दूरी छोट्याउन २०२५ सालमा ‘ट्र्याक’ खोलिएको मोतिगढा–जोगीदह खण्ड निर्माणको कामले पनि तीव्रता पाएको छ । करिब १२ किलोमिटरको सो सडकलाई पनि कालोपत्र गर्ने गरी काम अघि बढेको डिभिजन सडक कार्यालय लहानका प्रमुख कर्ण बताउँछन् ।

कर्णका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा रु ४० करोडसम्मको लागतमा सडकहरु निर्माण भइरहेको छ । ती योजनाअन्तर्गत उदयपुरको निर्वाचन क्षेत्र नं १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै पुरानो सडक मोतिगढा–जोगीदह खण्डमा कालोपत्र गर्न लागिएको छ । दुई लेनको सडक कालोपत्र गर्ने गरी रु २८ करोड ४३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरी धमाधम काम गरिरहेको छ । आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा त्रियुगा नगरपालिका–१, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–१०, ९, २ र ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर सडकअन्तर्गत मोतिगढा–जोगीदह–रुपनीसम्मको करिब १२ किलोमिटरको सडक आव २०८१÷८२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेको निर्माण व्यवसायी मनिकुमार दाहालले बताउनुभयो । उक्त सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्ने गरी अघिल्लो आवमा आर्थिक वर्ष काम वर्ष सुरु गरेको थियो ।

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर सञ्जीव साहका अनुसार सडक स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माण, ठूलासाना गरी २२ वटा कलभर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत कामहरु भइरहेको छ । करिब रु २५ करोडभन्दा बढी लागत अनुमान रहेको सो योजनामा सरकारले चालु आवमा रु अढाई करोड मात्र बजेट उपलब्ध गराएको छ ।

वि.सं.२०८१ चैत ८ शुक्रवार १३:३६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...