back
CTIZAN AD

हाम्रो गाउँमा आएको परिवर्तन

वि.सं.२०८२ जेठ ४ आइतवार

4.3K 

shares

आफ्नै जन्मथलो, हुर्केको गाउँतिर जान मन सधैं लालायित रहन्छ। त्यहाँका मानिसहरू मात्र होइनन्—पहाड, खोल्सा–खोला, रूख, भञ्ज्याङ–चौतारी सबै आफ्नै जस्ता लाग्छन्। सायद सबैलाई यस्तै लाग्दो हो। हालै म गाउँ पुगेको थिएँ। गोधूलि साँझको समय थियो। झमझम पानी पर्‍यो। म बाटोछेउको एउटा अपरिचित घरको पिँढीमा ओत लाग्न गएँ। घरकी बजैले बस्नका लागि गुन्द्री लगाइदिनुभयो। “भोक लागेको छ? मकै  खानुहुन्छ, नानी” भन्दै स्नेहपूर्वक सोध्नुभयो। हाम्रो गाउँतिर पुरुषलाई पनि मायाले ‘नानी’ भनेर सम्बोधन गरिन्छ।

मेरो जुत्ता हिलोमा कुल्चिएर फोहोर भएको थियो, त्यसैले म खुट्टा पिँढीको डिलबाट तल राखेर बसे। बजैले मेरा जुत्ता भिजेको देख्नुभयो र भन्नुभयो, “खुट्टा पिँढीमै राख्नुहोस न, नानी।” होइन बजै, जुत्ता फोहोर छ- मैले भनेँ। बजै सहज मुस्कानसाथ भन्नुभयो—”आ नानीपनि, हिलो–धुलो त बडार्दा गैहाल्छ नि।”

मैले २०७२ सालको भूकम्पपछिको एउटा घटना सम्झेँ। त्यसबेला हामी काठमाडौंमा थियौं, त्रिपालमुनि आश्रय लिएका। एक साँझ, हुरीसँगै मुसलधारे पानी पर्‍यो। झरी र हुरीले सबैको त्रिपाल उडाइदियो। हामी नजिकैको तुलनात्मक रूपमा सुरक्षित लाग्ने एउटा घरको पार्किङतर्फ दौडियौं। त्यो घर पनि गाउँबाटै बसाइँ सरेर आएका एक परिवारको थियो। तर, अफसोच! हामीलाई त्यहाँ बस्न दिइएन—हाम्रा हिलाम्य खुट्टाले टायल फोहोर हुन्छ भनेर। त्यो क्षण मैले मनमनै सोचेँ—माटोले पोतिएको पिँढी भएका घरधनिहरुका मन टायल लगाइएको पार्किङ भएका घरधनीहरूका मनको अन्तर !  सायद यही नै हो—हिजो गाउँको झुपडीबाट जनताको झुपडीका लागि राजनीति गर्ने ‘मान्छेहरू’ आज शहरको आलिशान महल र हवेलीमा बसाइँ सरेपछि राजनीति नै स्खलित हुने मनोविज्ञानको जरो। हुन त, यस्ता घटनालाई सामान्यकरण   गर्नु अनुचित हुन्छ। अहिले म जहाँ बस्छु, त्यहाँ मैले आफ्नो जन्मस्थानसरह माया, आत्मीयता र सद्भाव पाएको छु।

मलाई झनै भावुक बनाइन् बजैकी करिब चार वर्षीया नातिनीले। झरी केही कम भएको थियो, अब सिमसिम मात्र परिरहेको थियो। म हिंड्ने तयारीमा थिएँ। त्यो देखेर सानी नानी एक्कासि भनिन्, “पानी परेको छ, नजानूस् हजुर, भिजिन्छ। घर कहाँ हो त हजुरको? अब त अँध्यारो पनि हुन्छ। आज हाम्रो घरमै बस्नूस् न। भोलि उज्यालो हुन्छ, पानी पनि पर्दैन। जानुनै छ भने मेरो स्कुल जाँदा ओढ्ने प्लास्टिक छ, त्यही ओढेर जानूस्। भोलि बिहानै फर्काइदिनु होला है!” अहा! कति निष्कलुष मानवता! म ती बालिकाको कुरा सुनेर नतमस्तक भएँ। यदि   ती नानीको ठाउमा कुनै संम्रान्त परिवारकी नानी भएको भए के यस्तो अपेक्षा गर्न सकिन्छ? शायद उनले मनमनै भन्दिहुन “ईट्स नट माई विजिनेस”। वास्तवमा, परिवेशले नै संस्कारको निर्माण गर्छ। व्यक्तिको व्यवहार, सोच, आचरण, जीवनशैली र नैतिक मूल्यहरू त्यसैबाट विकसित र स्थापित हुन्छन्।

समयसँगै गाउँमा विकास भएको छ। गाउँ–गाउँसम्म मोटरबाटो पुगेको छ, गाउँलेको सुविधाका लागि। तर अफसोच! त्यही बाटो समातेर हामी गाउँलेहरूले गाउँका आफ्ना झिटी–झाम्टा बोकेर  आफ्नै गाउँ, आफ्नै बस्तीलाई पिठ्यु फर्काईरहेका छौ। यसरी गाउँ रित्तिदै जाने स्थिती आउनुमा हामीले समाजवाद उन्मुख संविधान त बनायौ तर उधमशिलता उन्मुख शिक्षा पाएनौ। रोजगारी सृजना गरेनौ र राजनितिमा भष्ट्रिकरणले भविस्य समेत अन्यौल बनायौ। अन्तरदेशिय बसाई सराईले समेत यो स्थितीमा पुर्याउन सहयोग गर्‍यो।

मैले गाउँ छोडेको चार दशकभन्दा बढी भइसकेको छ। तर जब म गाउँ पुग्छु, त्यो मेरा सम्झनाको गाउँ जस्तो लाग्दैन। मतलब, गाउँ पूर्णरूपले परिवर्तन भइसकेको छ। बाल्यकालका ती स्मृतिहरूलाई वर्तमानको भौतिक यथार्थसँग मेल गराउन म झन्डै असमर्थ हुन्छु। समयसँगै गाउँमा विकास भएको छ। गाउँ–गाउँसम्म मोटरबाटो पुगेको छ, गाउँलेको सुविधाका लागि। तर अफसोच! त्यही बाटो समातेर हामी गाउँलेहरूले गाउँका आफ्ना झिटी–झाम्टा बोकेर  आफ्नै गाउँ, आफ्नै बस्तीलाई पिठ्यु फर्काईरहेका छौ। यसरी गाउँ रित्तिदै जाने स्थिती आउनुमा हामीले समाजवाद उन्मुख संविधान त बनायौ तर उधमशिलता उन्मुख शिक्षा पाएनौ। रोजगारी सृजना गरेनौ र राजनितिमा भष्ट्रिकरणले भविस्य समेत अन्यौल बनायौ। अन्तरदेशिय बसाई सराईले समेत यो स्थितीमा पुर्याउन सहयोग गर्‍यो।

बसाइँसराइ मानव इतिहासकै पुरानो र निरन्तर चलिरहने प्रक्रिया हो। जहाँ सम्भावना देखिन्छ, जहाँ जीवन सहज, सुरक्षित र सम्मानित लाग्छ—मानिसहरू त्यहीँ सर्दछन्।

आज गाउँमा बिजुली छ, बाटो छ, शिक्षा र स्वास्थ्य सेवा, पिउने पानी, इन्टरनेट, बजार, र मनोरञ्जनलगायत आधारभूत सुविधा उपलब्ध छन्। हो, गाउँमा भौतिक विकास त भएको छ। हाम्रो पालामा, पालो कुर्दै कुवाबाट चुहिने गाग्रीमा पानी थापेर—बाँसको सुप्लाले जागे भिज्नबाट जोगाउदै पानी बोक्नुपर्ने समय थियो। आज ती बस्तीका घर-आँगनमै चौबीसै घण्टा सफा मुहानको धाराको पानी छ। पानी त छ, तर प्यास मेटाउने मानिस छैनन्। मट्टितेलको टुकीमा पुराना कपडाको बाती जलाएर उज्यालो पार्ने समय अब स्मृतिमा मात्रै बाँकी छ। अहिले झलमल्ल बिजुली छ—झण्डै निःशुल्कजस्तै। उज्यालो त छ, तर त्यस उज्यालोमा देखिने अनुहारहरू पातलिएर गएका छन्।

पहिले कुनै सरकारी कागज बनाउन सातु वा मकै भुटेर घण्टौं पैदल यात्रा गर्नुपर्थ्यो। अब त आफ्नै आँगनछेउमा स्थानीय सरकार छ। सरकारी रेडियो र महिनौंपछि हुलाकमार्फत आउने गोरखापत्रका समाचारहरू अहिले मोबाइलको एउटा क्लिकमै पाइन्छन्। आधारभूत स्वास्थ्य सेवा पनि गाउँमै उपलब्ध छ। आज गाउँमा भव्य विद्यालय भवनहरू छन्, फर्निचर छन्, र सम्पूर्ण आधारभूत शैक्षिक सुविधा पनि छ। साँचो भन्नुपर्दा, अहिलेका कतिपय सार्वजनिक विद्यालयका पूर्वाधारहरू मैले स्नातकोत्तर पढ्दा भएका विश्वविद्यालयहरूको भन्दा अब्बल छन्। तर पनि—विद्यालय उमेरका बालबालिकालाई तिनका अभिभावकहरूले डोर्याउदै शहर बजारका टिनको छानामुनीका ‘बोर्डिङ’ पठाएका छन्, हजारौं खर्चेर।

शहरमा हामी कम्तीमा चारवटा ढोका (कम्पाउन्डको गेट, च्यानल गेट, मूल ढोका र कोठाको ढोका) थुनेर—खतरनाक अपराधीलाई कैद गरेझैं—आफैँलाई बन्द गरेर बस्छौं। तर गाउँका घरका ढोका आज पनि ढप्काएर मात्रै बन्द गरिन्छ, त्यो पनि स्याल–कुकुर नपसून् भनेर। जति ठूला घरहरू बन्दै गएका छन्, त्यति नै मान्छेका मनहरू खुम्चिंदै  गएका छन्।

गाउँमा अहिले राजनीतिक ध्रुवीकरण देखिँदैन। राष्ट्रिय राजनीतिले गाउँको राजनीतिमा प्रत्यक्ष र स्पष्ट प्रभाव छ। हाम्रो पालामा “यो पार्टी” र “त्यो पार्टी” भनेर घण्टौं बहस, विवाद, कहिलेकाहीं त झगडा नै हुन्थ्यो।

आज केही अपवाद बाहेक प्रायः सबै दलका नेता र कार्यकर्ताहरूको व्यवहार, चिन्तन र चरित्र एकै ढाँचामा ढालिएको छ। महान जनयुद्धका अमर सहिदहरूको सम्झनामा निर्माण गरिएका स्मृति द्वारहरूका रङहरू बिस्तारै खुइलिँदै गएका छन्—सहिदका सपना खुइलिएको जस्तै। सहिदका परिवारहरू, बेपत्ता योद्धाका आफन्त, र घाइते सेनानीहरूको जीवन आज पनि पीडाले भरिएको छ, न त्यो दुख घटेको छ, न त  घट्ने संभावना देखिन्छ। हिजो हवाई चप्पल र गोल्डस्टार जुत्ता लगाएर झोला भिरेर शहर  पसेका नेताहरु आज कहाँ पुगे? त्यसको हिसाब–किताब भविस्यले नै गर्नेछ। जब “मार्क्सवादी–लेनिनवादी” विचारधारा बोकेको पार्टीको शासनमा महेन्द्रले लगाएको भू–सुधार र हदबन्दी समेत हटाइन्छ—त्यो देशबाट जनताले अरु के अपेक्षा गर्न सक्छन् र?

खेतलाई अब ‘खेत’ भनिँदैन, बारीलाई पनि ‘बारी’ रहन दिइएको छैन। यी सबै ठाउँहरू ‘घडेरी’ को रूपमा रूपान्तरित भइसकेका छन्। उजाडिएका घरहरू, रित्तो अँगन, र छानोबाट उम्रिएको घाँसले मानौं हामीलाई गिज्याइरहेछ—”हेर, तिमीहरूले हामीलाई छोडेर गयौ!” घरबाहिर फालिएका हलो, जुवा, हल्लुडो, जोतरा—अब कामको प्रतीक्षा होइन, मृत्युसँगको सामीप्यता बोकिरहेका छन्।

गाउँका प्रत्येक डाँडा, खोल्सा र पाखामा चिटिक्क परेका मन्दिरहरूको बाढी आएकैजस्तो छ। म हिन्दू संस्कृति मनाउदछु तर अलौकिक वा दैवीशक्तिमा मेरो विश्वास छैन। मानिसहरू ६० वर्ष कटेपछि धार्मिक हुन्छन भन्थे तर मेरो हकमा त्यो लागू होला जस्तो लाग्दैन।

यति धेरै मन्दिरहरू किन निर्माण भइरहे होलान् ? चेतनाको कुनै तहमा दैवी दृष्टिको उदय भएको हो ? पच्क्षगामी चेतना भन्दा मानिसको आस्थामा चोट लाग्ला त्यसैले मैले त्यसो भन्दिन। बरु, पुन्य कमाउनै हो भने—पुर्खाहरूले बनाएका आत्मीयताका केन्द्र चौतारीहरूको जगेर्ना गरिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। मैले त गाउँ छोडिसकेको छु। अतः मेरो गाउको बारेमा अर्कालाई उपदेश दिने नैतिक अधिकार मसँग छैन।

पहिले डाँडाको फेदीमा, जंगलको छायाँमा घरहरू बस्ने गर्थे। त्योभन्दा तल बारी हुन्थ्यो, अनि अझ तल, जहाँ सिँचाइको सुविधा थियो, त्यहाँ खेतहरू फैलिएका हुन्थे। तर अहिले—उत्पादन हुने ठाउँहरू घरहरूले अतिक्रमण गरिसकेका छन्। जहाँ अन्न उम्रिनु पर्ने थियो, त्यहाँ सिमेन्ट र फलामका पर्खाल उभिएका छन्।

कहिल्यै जंगल फाँडेर पुर्खाले बसोबास थालेको ठाउँलाई—अब उल्टै जंगलले फेरि निल्दै छ। खेतलाई अब ‘खेत’ भनिँदैन, बारीलाई पनि ‘बारी’ रहन दिइएको छैन। यी सबै ठाउँहरू ‘घडेरी’ को रूपमा रूपान्तरित भइसकेका छन्। उजाडिएका घरहरू, रित्तो अँगन, र छानोबाट उम्रिएको घाँसले मानौं हामीलाई गिज्याइरहेछ—”हेर, तिमीहरूले हामीलाई छोडेर गयौ!” घरबाहिर फालिएका हलो, जुवा, हल्लुडो, जोतरा—अब कामको प्रतीक्षा होइन, मृत्युसँगको सामीप्यता बोकिरहेका छन्। फाली, करुवा, बिनारी, सोइला, अनौ—ती सबै हाम्रो सम्झनाबाट हराउँदै छन्। ठेकी, नेती, मदानी लोप  हुनै लागेको छन्। गाउँमा बाँकी रहेका वृद्धवृद्धाहरूको मौनता भित्र अकल्पनीय पीडा छ। धन, सम्पत्ति र समृद्धि नै सुखको पर्याय होइन भन्ने कुरा उनीहरूका आँखा बोलेझैं लाग्छ। आजको “ब्रेकफास्ट” र “हाई टी”सँग हिजोको “अर्नी”को  तुलना नै हुन सक्दैन।

गाउँको यो बिखण्डन र विस्थापन—दलाल पुँजीवादी उपभोक्तावादले लपेटेको परिणाम हो। हिजो धानको खराई—सम्पन्नताको सूचक थियो। मानिसहरू जंगल, जल, र जमिनमा पसिना बगाउँथे। आज ठूला घर र चिल्ला गाडीले सम्पत्तिको मापदण्ड बनाएका छन्। हिजो गाईभैंसी बाँधिने गोठहरूमा आज स्कुटर, मोटरसाइकल र कार पार्किङ गरिन्छ। मेरो आशय यो होइन कि हामीले पुर्खाहरूले गरेका सबै कुरा दोहोर्याउनु पर्छ। तर चेतना र प्रविधिको भरपूर उपयोग गर्दै आत्मनिर्भर, स्वाभिमानी र उत्पादनशील नेपाली बन्न सक्नुपर्छ। किनभने उत्पादन गर्ने भनेको गाउँ हो—शहर होइन।  गाउँ छोडेर शहर पसेका, राज्य संयन्त्रमा जोडिएकाहरू, प्रायः दलाल र बिचौलिया मात्रै उत्पादन गरिरहेका छन्।

 

 

 

 

 

 

वि.सं.२०८२ जेठ ४ आइतवार १५:३६ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...