काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको बढी तरलता नियन्त्रण गर्न आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
यसका लागि केन्द्रीय बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै आज दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम सङकलन गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण २८ दिने अवधिको हुनेछ र जसको भुक्तानी भदौ ८ गते तोकिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल बहुब्याजदर प्रणालीमा हुने भएकोले, सहभागी संस्थाहरूले फरक ब्याजदरका दरहरू प्रस्ताव गर्न सक्नेछन् ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गमा पर्ने बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
वि.सं.२०८२ साउन ११ आइतवार १२:०१ मा प्रकाशित






























