काठमाडौँ । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई शुक्रबारदेखि निष्क्रिय पारेर प्रयोग गर्न नदिने निर्णय गरेको छ । सरकारले विगत केही महिनादेखि सबै सामाजिक सञ्जाललाई नेपालमा कानुनी प्रक्रिया अनुसार दर्ता गर्न आग्रह गरेको थियो । सामाजिक सञ्जालमा विभिन्न प्लेटफर्महरूले उक्त प्रक्रिया पुरा नगरेपछि सरकारले कडाइ गरेको हो ।
सरकारको निर्णयले विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेका केही विदेशी सामाजिक सञ्जाल एकाएक चल्न बन्द भएपछि लाखौँ प्रयोगकर्तामा असर परेको छ । मनोरञ्जन, अध्ययन, व्यवसायिक प्रचार–प्रसार, कारोबार, सचेतना, सूचना आदानप्रदान तथा वैचारिक अभिव्यक्तिको नियमित थलो बनेको प्लेटफर्म नचल्दा धेरैले आफ्नो दैनिक गतिविधि प्रभावित भएको छ ।
सामाजिक सञ्जालमार्फत व्यवसाय सञ्चालन गर्दै आएका उद्यमी तथा सामग्री निर्माताले भने आफ्नो आय स्रोतमै प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरेका छन् । विज्ञापनमार्फत आम्दानी गर्नेहरूलाई तत्काल वैकल्पिक उपाय खोज्नुपर्ने बाध्यता आएको छ ।
सरकारको तर्फबाट सूचना प्रविधि विभागले यो कदम प्रयोगकर्ताको सुरक्षाका लागि भएको दाबी गरेको छ । दर्ता नभएका सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, अश्लील सामग्री र साइबर अपराध बढेको भन्दै सरकारले नियन्त्रण गर्ने नीति लिएको हो । विभागका अनुसार दर्ता गरेर सञ्चालनमा आएका प्लेटफर्महरूलाई भने कुनै असर पर्ने छैन ।
विशेषज्ञहरूले भने सामाजिक सञ्जाल नियन्त्रण आवश्यक भए पनि वैकल्पिक प्लेटफर्म वा समाधानबिनै अचानक रोक्दा प्रयोगकर्तामा असन्तोष बढ्न सक्ने चेतावनी दिएका छन् । प्रयोगकर्ताले सजिलो पहुँच पाउने तर सुरक्षित र नियमनमा रहने वातावरण बनाउन सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने सुझावसमेत दिएका छन् ।
यसरी दर्ता नभएका सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा डिजिटल संचार, व्यवसाय र मनोरञ्जन क्षेत्रमा छोटो तथा मध्यम अवधि दुवैमा असर पर्ने निश्चित देखिएको छ ।
प्रतिवन्धले काे-काे छन् मारमा ?
नेपालमा सामाजिक सञ्जाल बन्द हुँदा विभिन्न क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सामाजिक सञ्जाललाई प्रमुख आम्दानीको स्रोत बनाएका कन्टेन्ट क्रिएटर, ब्लगर र युट्युबरहरू सबैभन्दा बढी मारमा परेका छन् । उनीहरूले भिडियो, अडियो, तस्वीर तथा अन्य सामग्री मोनेटाइज गरेर आम्दानी गर्दै आएका थिए, तर अहिले आयका स्रोत नै अवरुद्ध भएको छ ।
त्यस्तै, अनलाइन व्यापार गर्ने व्यवसायीहरूलाई पनि ठुलो घाटा पुगेको छ । सामाजिक सञ्जालमार्फत उत्पादन र सेवाको विज्ञापन गरेर ग्राहकसम्म पु¥याउने अभ्यास रोकिएपछि उनीहरूको कारोबार ठप्पजस्तै भएको छ । बैंक तथा वित्तीय संस्थाले समेत फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्मलाई प्रचार–प्रसारको सहज माध्यम बनाएका थिए, जसले गर्दा वित्तीय गतिविधिमा समेत असर परेको छ ।
अनलाइन मिडियाहरूले समाचार र सामग्री साझा गर्न सामाजिक सञ्जाललाई प्राथमिक प्लेटफर्म बनाएका थिए । अहिले समाचार, विचार वा सूचना सहजै आमजनतासम्म नपुग्दा जनता सूचनाबाट विमुख भएका छन् । पत्रकारिता र सञ्चारमाध्यमको पहुँचमा ठूलो चुनौती देखिएको छ ।
त्यसबाहेक विद्यार्थी तथा अनुसन्धानकर्ताहरू पनि प्रभावित भएका छन् । उनीहरूले अध्ययन सामाग्री खोज्ने, क्लास नोट साझा गर्ने वा समूह छलफल गर्ने माध्यम नै अवरुद्ध भएको छ । विज्ञापन एजेन्सी, डिजिटल मार्केटिङ कम्पनी तथा टेलिकम प्रदायकहरूलाई समेत ठूलो घाटा पुगेको देखिन्छ ।
यसैगरी, सामाजिक सञ्जालमार्फत विदेशमा रहेका नेपालीसँग सम्पर्क राख्ने काममा सहजता थियो, तर अहिले लाखौं परिवार अन्तर्राष्ट्रिय सम्पर्क अभावको पीडामा परेका छन् । सरकारी निकायहरूले समेत सूचना प्रचार गर्ने माध्यम हराएको भन्दै समस्या भोगिरहेका छन् ।
यसरी सामाजिक सञ्जाल बन्दले व्यापार, शिक्षा, सञ्चार, वित्तीय गतिविधि र अन्तर्राष्ट्रिय सम्पर्कलगायत समाजका सबै तहमा गहिरो असर पारेको देखिन्छ ।
इन्टरनेट सेवा प्रदायकको आम्दानी घट्ने आशंका
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले देशभरिका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा नकारात्मक असर पर्न सक्ने देखिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले धेरै डेटा खर्च गर्ने भएकाले प्रतिबन्धपछि इन्टरनेट प्रयोगमा कमी आउने भएकाले कम्पनीहरूको डेटा बिक्रीमा प्रत्यक्ष घाटा पुर्याउने सम्भावना छ । साथै, व्यक्तिगत प्रयोगकर्ताले महँगो इन्टरनेट प्याकेजको प्रयोग घटाएपछि ग्राहक संख्या घट्न सक्ने चेतावनी पनि दिइएको छ ।
यद्यपी स्थिर कर्पोरेट ग्राहक र स्थानीय डिजिटल सामग्रीको प्रयोग बढ्दा आंशिक नाफा हुने सम्भावना पनि छ ।
वि.सं.२०८२ भदौ २० शुक्रवार १५:२७ मा प्रकाशित




























