back

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

वि.सं.२०८२ भदौ ३० सोमवार

144 

shares
NTC AD

जेरुसेलम । अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पा¥यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताएको थियो । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।

उनको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाएको छ ।

– कतार आक्रमणपछि पनि भ्रमण –

रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेको थियो । उनले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताएको थियो ।

आइतबार नेतान्याहु, रुबियो र उनीहरूका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गरे । नेतान्याहुले भने, “रुबियोको भ्रमण इजरायल–अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।”

शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गरेको थियो । इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ ।

कतारमा भएको आक्रमणले कम्तीमा छ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गरे । उनले भने, “कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।”

– गाजामा घातक आक्रमण –

स्थानीय अस्पतालहरूका अनुसार आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका छ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।

इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा सहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ ।

इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।

सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।

“यो नरसंहारको एक हिस्सा हो”, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भने, “तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दै छन् ।”

– भोकमरी चर्किँदै –

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण दुई वयस्कको मृत्यु भएको छ । जुनदेखि हालसम्म दुई सय ७७ वयस्क र युद्ध सुरु भएदेखि एक सय ४५ बालबालिकाले कुपोषणका कारण ज्यान गुमाएका छन् ।

इजरायली निकायले गत हप्तामा एक हजार दुई सयभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको दाबी गरेको छ । तर सहायता संस्थाहरू यो ठूलो आवश्यकताका लागि पर्याप्त नभएको उल्लेख गर्दै धेरै सहायता गन्तव्यमा पुग्नुअघि नै लुटिने गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय टोलीहरूले गाजासम्मको पानी लाइनमध्ये एकलाई मर्मत गरी आपूर्ति बढाएको इजरायलले जनाएको छ । तर पानी अझै अभावमै छ र मानिसहरू दुई–तीन दिनमा आउने ट्रकहरू पछ्याएर बोतल र भाँडामा भरेर लैजान बाध्य छन् ।

– युद्धको पृष्ठभूमि –

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार दुई सय जनाको हत्या र दुई सय ५१ जनाको अपहरण गरेसँगै गाजामा युद्ध सुरु भएको थियो । अझै ४८ जना बन्धक गाजामा छन्, जसमा २० जना जीवित रहेको इजरायलको विश्वास छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणले हालसम्म कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनीको ज्यान गएको छ । यसमा नागरिक र लडाकू कति छन् भनेर भने छुट्याइएको छैन । रासस

 

वि.सं.२०८२ भदौ ३० सोमवार १५:१० मा प्रकाशित

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

ओली सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्ताव फिर्ता, उच्चस्तरिय न्यायिक जाँजबुझ आयोग गठन गरिने

काठमाडौं । सरकारले अघिल्लो सरकारले निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश...

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

जेनजी स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्झनामा जेनजी स्मारक पार्क...

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

दमौली (तनहुँ) । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी...

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

हेमन्त जोशी, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार...

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

राजनीतिमा संलग्न नहुने भन्दै डा. रुइतले भने-मन्त्री बन्ने चर्चा हल्लामात्रै

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश...

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

आयोगद्वारा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको...