‘समानताका लागि संबिधान कार्यान्वयन र समाजवादी आन्दोलन ।
महिला हिंसा बिरुद्ध शुसासन र समृद्धिको पक्षमा सातौं राष्ट्रिय सम्मेलन ।।’
भन्ने नाराका साथ नेपालको क्रान्तिकारी महिला आन्दोलनमा लामो र ऐतिहासिक विरासत बोकेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले सातौं सम्मेलन गर्दैछ । हामीलाई थाहा छ अहिलेको गणतन्त्र यो समेतको यात्रा र संघर्षको परिणाम हो । महिला मुक्ति आन्दोलन केवल नारीलाई घरेलु दायराबाट बाहिर ल्याउने प्रयत्न मात्र नभई सामाजिक न्याय, समानता र आर्थिक स्वतन्त्रताको आन्दोलनसमेत रह्यो । नेपालको सामाजिक र राजनैतिक आन्दोलनमा महत्वपूर्ण योगदान दिँदै आएको र गर्विलो इतिहास बोकेको महिला संगठन हो, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) । सातौं सम्मेलनका क्रममा यसले विगतका उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा संगठनले तय गर्नुपर्ने स्पष्ट कार्यदिशा निर्धारणको अपेक्षा गरिएको छ ।
अनेमसंघ (क्रान्तिकारी) को जन्म नै सामाजिक अन्याय, वर्गीय असमानता र पितृसत्तात्मक संरचनाविरुद्धको विद्रोहको परिणाम हो । यस संगठनले विगतमा विभिन्न विकृति बिरुद्धका आन्दोलन, विरोध कार्यक्रम, जनचेतना अभिवृद्धि र महिला अधिकारका पक्षमा नीति निर्माणमा दबाब सिर्जना गर्दै आएको छ । जनयुद्धका कठिन दिनहरुमा महिलाले हतियार समाते, भूमिगत भएर संघर्ष गरे, र त्यही बलिदानको जगमा आज हामी यहाँसम्म आइपुगेका छौं । कोक्रो हल्लाउने हातहरुले युद्ध मोर्चाको नेतृत्वसम्म लिए । महिलाले पड्काएको बन्दुक पड्कँदैन भन्ने भनाईलाई चिर्दै महिलाहरुले एकातिर बच्चा र अर्कातिर काँधमा बन्दुक बोकेर हिंडे । युद्ध मैदानमा थुप्रै महिलाहरु सहादत प्राप्त गरे । युद्ध नीति र पार्टी नीतिहरुको गोपनियता कायम गर्नेमा महिलाहरु अब्बल देखिए । थुप्रै खालका प्रताडना सहे तर पनि जिम्मेवारीबाट कहिल्यै पछि हटेनन् । जनयुद्धको जनमुक्ति सेनामा ४० प्रतिशत हाराहारी महिला प्रत्यक्ष रणमैदानमै उत्रिए भने कतिले घरमा सेल्टर दिएर आन्दोलनप्रति नैतिक समर्थन देखाए । जनयुद्ध सामान्ती समाजको विरुद्धमा उठेको आन्दोलन भएकै कारण कति आमाबुबाले आफ्नो छोराछोरीलाई टीका लगाएर युद्धमा पठाए । मैदानमा लागेका महिला दिदीबहिनीहरु सुत्केरी अवस्थामा पनि आराम गरेनन् । त्यसैले जनयुद्ध सफल हुनुमा महिला सहभागिताको महत्वपूर्ण योगदान छ भन्ने कुरा सगर्व भन्न सकिन्छ । र त्यसको उत्पादन कारखाना अनेमसंघ (क्रान्तिकारी) नै थियो भन्न सकिन्छ ।
गणतन्त्रसम्मको फल र जनयुद्धको स्मरण
आन्दोलनमा महिला सहभागिताकै कारण जनयुद्धको सफलता सम्भव भएको भन्ने कुरा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा जनयुद्धका सर्वोच्च कमाण्डर क. प्रचण्डले भन्दै आउनु भएको छ । जनयुद्धमा महिला सहभागिता र महिलाहरुले देखाएको साहसकै कारण आजको नेपाली समाजमा महिलाहरु खुलेर बाँच्न पाएका छन् । जनयुद्धकै प्रतिफल देशमा गणतन्त्र स्थापना भयो भने महिला राष्ट्रपति, प्रतिनिधिसभाको सभामुख बन्ने देखि प्रदेश र स्थानीय तहमा महिला सहभागिता उल्लेख देखिन्छ । राष्ट्रको सुरक्षा गर्ने नेपाली सेनामा महिलाको प्रवेश पनि जनयुद्धकै प्रतिफल हो । विश्व समुदायले नै नेपाली महिला आन्दोललाई हेर्ने दुष्टिकोण उच्च रहेको छ ।
जनयुद्धकै कारण हिजो समाजमा धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने बोक्सी, जातीय तथा लैंगिक छुवाछुत, दाइजो, छाउपडी जस्ता विभेदपूर्ण कुप्रथाहरू धेरै हदसम्म कम भएका छन् । अहिले यदाकदा प्रचलन र आपराधिक मानसिकताबाट महिलाहरु प्रताडित हुनु परे पनि हिजोको हाम्रो आमा पुस्ता नै हेर्दा पनि हामीले उपभोग गर्न पाएको स्वतन्त्रता सानो कुरा होइन ।
तर आलोचनात्मक दृष्टिले हेर्दा, युद्धपश्चात महिलालाई राजनीतिक संस्थागत शक्तिमा रूपान्तरण गर्ने प्रक्रियामा अपेक्षाकृत कमजोरी पनि देखिन्छ । धेरै महिला नेतृत्व उदाए पनि, पुरुष–केन्द्रित सत्ता संरचनाभित्र उनीहरूको स्थान अझै चुनौतीपूर्ण रहेको छ ।
यो सातौं सम्मेलन केवल औपचारिक नभई ऐतिहासिक महत्वको बनाउन हामीले अनेसंघको कार्ययोजना र कार्यदिशाका बारेमा गम्भिर छलफल गर्नु पर्दछ । समाजमा अझै पनि लैंगिक हिंसा रोकिन सकेको छैन । त्यस्तै बेरोजगारी, छोराछोरी बीचको विभेदपूर्ण शिक्षा र स्वास्थ्यमा असमान पहुँच, वैदेशिक रोजगारीतर्फ महिलाको बढ्दो निर्भरता, र विदेशी संस्कृतिको प्रभावले नेपाली महिलालाई थप जटिल अवस्थाबाट गुजारिरहेको छ । हिजो आन्दोलनहरुमा पुरुष सरह काँधमा काँध मिलाएर युद्ध मोर्चामा हिडेका महिलाहरुमा पनि आज राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ । यसका कारण क्रान्तिकारी दिदीबहिनीहरु नै संगठित हुन नचाहने प्रवृत्ति बढीरहेको छ । महिलाहरु किन संगठित हुन चाहिरहेका छैनन्, संगठनले कस्तो नीति लिन सकियो भने संगठनमा महिला दिदीबहिनीहरुको सक्रियता बढाउन सकिन्छ भन्ने विषयलाई महत्वपूर्ण चासोको रुपमा सम्मेलनले उठाउन जरुरी छ ।
कसरी महिलालाई संगठनमा अझ बढी आकर्षित गर्ने, कसरी पितृसत्तात्मक सोचलाई राजनीतिक, सामाजिक र साँस्कृतिक संरचनाबाटै चुनौती दिने ? संविधान र कानुनमा भएका महिला अधिकारको कार्यान्वयनका लागि महिला संगठनले कस्तो नीति बनाउने ? कसरी महिलाको आर्थिक सशक्तीकरणलाई कसरी मूर्तरूप दिने ? कसरी अन्तर्राष्ट्रिय श्रमिक महिलाको अधिकार सुनिश्चित गर्ने ? कसरी युवा पुस्तालाई महिला आन्दोलनमा जोड्ने ? जस्ता मुद्धाहरुमा सम्मेलनले छलफल गर्न बढि जरुरी छ ।
पार्टी वा संसदीय मोर्चा वा अन्य मोर्चाहरुमा बढी जिम्मेवारी बोकेका पात्रहरुको ठूलो संख्या यो मोर्चामा बसिरहन आवश्यक छैन । कसैलाई भ्याई नभ्याई, कसैले कामै नपाई स्थिति हुन नदिउँ । वैचारिक पक्ष, जनसंख्या र भूगोल, संलग्नता, योगदान, ईतिहास र क्रियाशिलता ख्याल गर्दै जनमैत्री सभ्यता भएका संगठकहरुलाई उत्साहि हुने अवस्था पैदा गरौ ।
कार्यभारका बिषयहरु
सम्मेलनले महिला आन्दोलनलाई समावेशी र व्यापक बनाउने बिषयमा ध्यान दिन जरुरी छ । महिला आन्दोलन केवल शहरी शिक्षित वर्गको मुद्दामा सीमित हुनु हुँदैन । यसले ग्रामीण भेगमा रहेका किसान, मजदुर, सीमान्तकृत र उत्पीडित वर्गका महिलालाई पनि संगठित गर्नुपर्छ । महिलाको प्रश्नलाई वर्गीय, जातीय र क्षेत्रीय दृष्टिले हेरेर त्यसअनुसार रणनीति बनाउनुपर्छ । यसैगरी आर्थिक सशक्तीकरणमा जोड दिन पनि जरुरी छ । आर्थिक स्वतन्त्रता बिना महिला स्वतन्त्रता सम्भव हुँदैन मात्र होइन महिला सहभागिता बढाउन पनि सकिँदैन । त्यसैले सीपमूलक तालिम, कृषि र घरेलु उद्योगमा महिलाको सहभागिता, साना उद्यम व्यवसायमा लगानी, सहकारी प्रणालीको सुदृढीकरण, डिजिटल अर्थतन्त्र (आईटी, अनलाइन व्यवसाय, मोनिटाइजेशनमा पहुँच जस्ता विषयलाई कार्ययोजनामा प्राथमिकताका साथ समावेश गर्नुपर्छ । यस्ता विषयमा अनेमसंघ नगरसमितिले पालिकास्तरबाटै प्रशिक्षण दिन जरुरी हुन्छ । यसैगरी अर्को महत्वको बिषय शिक्षा र चेतना विस्तार हो । हुनत हिजोका दिनभन्दा आज महिलाहरुको शिक्षामा पहुँच बढेको छ । तर पनि अझै हाम्रा कतिपय गाउँहरुमा शिक्षा दिने कुरामा छोराछोरीमा विभेद गर्ने परम्पराकै रुपमा रहेको छ । अनेमसंघले निरक्षरता हटाउन बिशेष महिला कक्षा संचालन गर्न सकेको खण्डमा महिलाहरुको निरक्षर दर घटाउन सकिन्छ । सबै महिलालाई आधारभूत शिक्षा मात्र होइन, उच्च शिक्षा र प्रविधिमैत्री शिक्षामा पनि पहुँच दिलाउनुपर्छ । बालिका शिक्षा, छात्रवृत्ति कार्यक्रम, डिजिटल साक्षरता अभियानलाई प्राथमिकतामा राख्नुपर्छ ।
आज पनि महिलामाथि घरेलु हिंसा, बलात्कार, बेचबिखन, बालविवाह, दाइजो प्रथा, बहुविवाहजस्ता अपराधका घटनाहरु घटि नै रहेका छन् । दाइजो नदिएको निहुमा मारिनु पर्ने अवस्था अझै पनि विद्यमान छ । सम्मेलनले लैंगिक हिंसा विरुद्ध निर्णायक संघर्ष सञ्चालन गर्ने निर्णय गर्नुपर्छ । त्यसका लागि संगठनले कानूनी सुधारका लागि दबाब दिने, पीडितलाई सहज न्याय र क्षतिपूर्ति दिलाउन सहयोग गर्ने, महिलाहरुलाई आँटिलो र निडर बनाउन मनोवैज्ञानिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । यसैगरी नीतिगत हस्तक्षेप र राजनीतिक सहभागिताका बिषयमा ध्यान दिनु पर्दछ । राजनीतिमा महिलाको उपस्थिति त्यसै पनि घटिरहेको सन्र्दमा राजनीतिक दलहरुले महिलाहरुको अधिकार सुरक्षित गर्ने कुरामा ध्यान दिएका छैनन् । संविधानमा उल्लेख भएकै कुरा कार्यान्वयन गर्ने कुरामा पनि यो वा त्यो बाहनामा महिलाको सहभागिता कटौति भैरहेका छन् । स्थानीय तहदेखि संसद् र राजनीतिक दलका नेतृत्व तहसम्म महिला सहभागिता सुनिश्चित गर्न आन्दोलन आवश्यक छ । सम्मेलनले ५० प्रतिशत राजनीतिक सहभागिता सुनिश्चित गर्ने मागलाई बिशेष एजेण्डा बनाउनुपर्छ ।
अहिले हामी अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग सहकार्यको प्रश्नमा कमजोर छौं । वैश्वीकरण र अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली महिलाको ठूलो संलग्नता छ । परिवार पाल्नका लागि बाध्यतामा खाडी मुलुक, मलेसिया लगायत देश जाने र त्यहाँ श्रम शोषणमा पर्ने महिलाको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । महिला संगठनले ती देशहरुमा रहेका नेपाली संगठनहरुका साथै अन्तर्राष्ट्रिय महिला संगठनसँग सम्बन्ध विस्तार गरेर नेपाली महिलाको पक्षमा आवाज उठाउनुपर्छ । र विश्व सञ्जालमा आवद्ध हुनुपर्दछ ।
यसैगरी सांस्कृतिक चेतना र मौलिकता संरक्षणमा पनि आजका महिला सहभागी हुनुपर्दछ । हाम्रो संगठनमा आबद्ध महिला सांस्कृतिक र वैचारिक दृष्टिले पनि प्रगतिवादी हुन्छन् । तर कताकता आज हामी सामाजिक प्रचलनका नाममा हामी स्वयम् यस्ता संस्कृतिहरु प्रति रमाउँदै गएका छौँ । विदेशी संस्कृतिको प्रभावले हाम्रो समाजमा विकृति बढाइरहेको छ । महिलालाई मौलिक संस्कृतिको संरक्षण गर्दै परम्परा र सकारात्मक सभ्यतामा आधारित आधुनिकताको बाटो देखाउनुपर्छ । यहाँ उल्लेख भएजस्तै काम गर्न हामीले संगठन विस्तारमा ध्यान दिन जरुरी छ । हाम्रो निर्वाचन प्रणाली अनुसार नै हामीले हाम्रा संगठनको संचरना विस्तार गर्नुपर्दछ । टोल इकाई हुँदै विभिन्न समुदायस्तरमै र्सगठनलाई विस्तार गर्ने कार्ययोजना बनाउनु पर्दछ ।
अनेमसंघ (क्राान्तिकारी) को यो सम्मेलन केवल संगठनको कार्यक्रम होइन, समग्र नेपाली महिला आन्दोलनको भविष्य तय गर्ने अवसर हो भन्ने कुराको मनन गर्न सक्नु पर्दछ । यस सम्मेलनले यदि स्पष्ट कार्यदिशा र ठोस कार्ययोजना निर्माण गर्न सक्यो भने, महिला मुक्तिको संघर्षलाई नयाँ उचाइमा पु¥याउन सक्नेछ ।
महिलाले आफूलाई केवल पीडित वा कमजोरको रूपमा नभई परिवर्तनका अग्रदूतका रूपमा प्रस्तुत गर्ने आत्मविश्वास विकास गर्नुपर्छ । यसका लागि संगठनभित्र वैचारिक स्पष्टता, आन्तरिक एकता र अनुशासनलाई मजबुत बनाउनै पर्छ । सम्मेलनले भावी नेतृत्वलाई पारदर्शी, उत्तरदायी र जनउत्तरदायी बनाउन विशेष जोड दिनुपर्छ । यो सम्मेलनले तय गर्ने कार्यदिशा केवल कागजमा सीमित नभई व्यवहारमा उतार्न सक्ने गरी प्रभावकारी संयन्त्र निर्माण गर्नु अपरिहार्य छ ।
तर यी सबै कामको लागि बैज्ञानिक समाजवादी बिचारमा आधारीत प्रष्ट रणनीति र आम महिला आकर्षण गर्ने कार्यनीति बनाउनु पर्दछ । हिजो टुटफुट हुँदाका पुराना तुष नराखेर, पार्टी र आन्दोलनभित्र बहकिएका प्रवृतिहरुको रुपान्तरण गर्ने आँट लिएर संगठनको लक्ष्य प्राप्ति गर्ने ध्येयसहित मुख्य नेतृत्व निर्माण हुनुपर्दछ । पार्टी वा संसदीय मोर्चा वा अन्य मोर्चाहरुमा बढी जिम्मेवारी बोकेका पात्रहरुको ठूलो संख्या यो मोर्चामा बसिरहन आवश्यक छैन । कसैलाई भ्याई नभ्याई, कसैले कामै नपाई स्थिति हुन नदिउँ । वैचारिक पक्ष, जनसंख्या र भूगोल, संलग्नता, योगदान, ईतिहास र क्रियाशिलता ख्याल गर्दै जनमैत्री सभ्यता भएका संगठकहरुलाई उत्साहि हुने अवस्था पैदा गरौ ।
समाजवाद हाम्रो विचारको गन्तब्य मात्र होइन यो मानव समुदायकै रोजाई हो । त्यस अनुकुलको प्रष्ट मार्ग र नेतृत्व निर्माण यो सम्मेलनको सबैभन्दा अहम् कार्यभार हो । यहि प्रतिबद्धता र संकल्पका साथ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं सम्मेलनले महिला अधिकार र समानताको आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ दिशानिर्देश र नयाँ नेतृत्व प्रदान गर्ने बाटोमा आफ्नो ऐतिहासिक भूमिकालाई अझ सशक्त बनाउने आशा गरौं । आफ्नो गौरवपूर्ण इतिहासको मनन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं सम्मेलन भव्यताका साथ सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछु ।
वि.सं.२०८२ भदौ १८ बुधवार ०९:४८ मा प्रकाशित































