काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान मानिने ११ औँ आइसिटी अवार्ड २०२६ का लागि आजदेखि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ। आयोजक संस्था लिभिङ विथ आइसिटी ले यस वर्ष १६ वटा विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्ति, संस्था, स्टार्टअप र प्रविधि नवप्रवर्तनलाई समेट्दै आवेदन आह्वान गरेको हो।
लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ।
सन् २०१६ देखि सञ्चालन हुँदै आएको आइसिटी अवार्डले नेपालमा सूचना प्रविधि, नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा उद्यमशीलताको विकासमा योगदान पुर्याउँदै आएको छ। आयोजकका अनुसार आगामी भदौ १५ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ भने विजेताको घोषणा पुसको पहिलो सातामा हुने ग्रान्ड फिनाले कार्यक्रममा गरिने आयोजक संस्थाले जनाएको छ।
यस वर्षको अवार्डमा स्टार्टअप, डिजिटल प्रडक्ट, सामाजिक नवप्रवर्तन, डिजिटल गभर्नेन्स, डिजिटल शिक्षा, डिजिटल सेवा, एआई इन्नोभेसन लगायतका विधा समावेश गरिएको छ। साथै सूचना प्रविधि क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वलाई पायोनियर, प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड मार्फत सम्मान गरिनेछ।
अन्तर्राष्ट्रिय स्तरमा पनि यस वर्ष साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र साउथ एसिया एआई इन्नोभेसन आइसिटी अवार्ड सञ्चालन गरिनेछ, जसमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्।
आयोजकका अनुसार अवार्ड प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा बहुचरणीय मूल्याङ्कन, टेलिभिजन शो, स्टार्टअप फेस्ट र अन्य प्रि–इभेन्टहरू आयोजना गरिनेछन्। यसले नेपालमा डिजिटल नवप्रवर्तन र प्रविधि उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
अवार्डका विधामध्ये क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड तथा सोसल इन्नोभेसन आइसिटी अवार्ड रहेका छन्। यी विधाहरूमा प्रतिस्पर्धीहरूले स्वयं आवेदन दर्ता गर्नुपर्नेछ।
क्याटेगोरी ‘बी’ अन्तर्गत प्रविधिमार्फत समाज र राष्ट्रका लागि पुर्याएको योगदानका आधारमा अवार्डका लागि छनोट गरिनेछ। यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन), आन्टरप्रेनर्स आइसिटी अवार्ड तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन्। यी विधाहरूमा स्वयं व्यक्ति वा अन्य कसैले पनि व्यक्तिगत विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन्।
यसैगरी, क्याटेगोरी ‘सी’ अन्तर्गत सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरण, नवीनतम प्रविधिको प्रयोग तथा त्यसका लागि गरिएका प्रयासका आधारमा नोमिनेसन लिइनेछ। यसअन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इमर्जिङ सेक्टर) रहेका छन्।
यस्तै, क्याटेगोरी ‘डी’ अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तथा अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्नेछन्।
आइसिटी अवार्ड २०२६ का लागि इच्छुक व्यक्ति, संस्था तथा स्टार्टअपहरूले आधिकारिक वेबसाइट www.ictaward.org मार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन्। पहिलो चरणअन्तर्गत नोमिनेसन अवधि भदौ १५ गतेसम्म खुला रहनेछ।
यस बाहेक प्रोभिन्स स्टार्टअप आइसिटी रिकोग्निसन २०२६ मार्फत सातै प्रदेशका १-१ उत्कृस्ट प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअपहरुलाइ सम्मान पनि गरिन्छ । यी सबै अवार्ड र सम्मानको लागि नोमिनेसन खुल्ला भएको अवधिभित्र जो कोहिले आवेदन दिन सकिनेछ ।
वि.सं.२०८३ साउन १ शुक्रवार १५:४० मा प्रकाशित






























