
“आमा” शब्द आफैंमा स्नेह, करुणा, ममता र सहनशीलताको पर्यायवाची हो। आफ्ना सन्तानहरु आमाका लागि वर्तमान र भविष्य हुन्। उनीहरू जीवनको सार्थकता र जिउने आधारशिला हुन्। क्रूर अपराधीहरुले आमाका अबोध सन्तानहरूको हत्या गर्छन् भने पृथ्वी काप्दछ। आमाको वेदना आँसुमा अटाउँदैन। आमाको हृदय फुटेर भकानिन्छ। आमाको पीडा शब्दमा बाँध्न सकिंदैन।
आमाका लागि सन्तान केवल रक्तसम्बन्ध मात्र होइन; त्यो उनको हरेक सासको आधार हो। आफ्नो सन्तानले सानो चोट मात्र पनि मुटु काँप्ने गरी पीडा हुन्छ। तर जब आमाको सन्तानको रगत सडकमा पोखियो, ती आमाहरूको संसार धुजा–धुजा भयो। मातृत्वको स्नेह र ममता मिसाएर पकाएको खाना पस्केर कुरेर बसेकी आमाको सन्तान अब फर्केर आउँदैन। ती आमाहरूका आँसुले जमिन थर्थराउँछ पनि माटो रुन्छ, आकाश कराउँछ, र संसार नै मौन हुन्छ। सन्तानको तोतेबोलीको सम्झनासँगै आमाको बोली अवरुद्ध भइसकेको छ।
आमा टोलाइरहेकी छिन्, उसले खाएको अन्तिम भात, लगाएको अन्तिम कपडा, बोलाएको अन्तिम “आमा” शब्द… यी सबै आमाको कानमा अनन्त स्वर बनेर बजिरहेका छन्।
आफ्नो काख रित्तिएकी आमाले आफ्नो सन्तानको खाली ओछ्यान, उसको किताब, उसको मोबाइल, उसका अधुरा नोट्स—यी सबैले आमालाई बोलाइरहेका हुन्छन्। आमा ती सबैसँग कुरा गर्न खोज्दछिन्, तर आवाज फर्किंदैन। आमा टोलाइरहेकी छिन्, उसले खाएको अन्तिम भात, लगाएको अन्तिम कपडा, बोलाएको अन्तिम “आमा” शब्द… यी सबै आमाको कानमा अनन्त स्वर बनेर बजिरहेका छन्।
आमाले कहिल्यै ठूलो स्वरले नबोलाएको सन्तानलाई, हठ र अहंकारी शक्तिले क्रूरतापूर्वक हत्या गर्यो। आमाका संन्तानहरुले त केवल न्यायको आवाज उठाइरहेका थिए। भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका थिए। आफ्ना सन्तानका आँखामा सपनाहरू बाँकी थिए, ओठमा अधुरा शब्द बाँकी थिए, तर आज “आमा” भन्ने त्यो स्वर सधैंका लागि बन्द भएको छ। तपाईं ती आमाको स्थानमा आफूलाई राखेर कल्पना गर्नुस्- कति करुणिक र भयावह लाग्छ? आमाको पीडा शब्दमा बाँध्न खोज्नु आफैंमा अन्याय जस्तो लाग्छ।
अब आमाका सन्तानलाई फर्काउन सकिँदैन। आमाका ती अमर सन्तानको रगत व्यर्थ नजाओस्। सन्तानका बलिदानले यो देश बदलियोस्। आँसुमा डुबेको सपना फेरि नयाँ पुस्ताका आँखामा टल्कियोस्। अब देशको न्याय चाहिन्छ; किनकि आमाका छोरा–छोरी यही न्याय खोज्दै सहिद भएका छन्। सहिद जन्माउने महान आमाहरूमा कृतज्ञता व्यक्त गर्दै वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली।
मानव इतिहासलाई फर्केर हेर्दा स्पष्ट देखिन्छ—जहाँ अन्याय हुन्छ त्यहाँ प्रतिरोध हुन्छ; जहाँ प्रतिरोध हुन्छ त्यहाँ दमन हुन्छ; जहाँ दमन हुन्छ त्यहाँ विद्रोह अनिवार्य रूपमा जन्मिन्छ। यो सत्य केवल दार्शनिक भनाइ मात्र होइन, समाजशास्त्र, राजनीतिक विज्ञान र इतिहासकै गहिरो निष्कर्ष हो। नेपालको हालैको जेनजी आन्दोलन यसै ऐतिहासिक सूत्रको सजीव उदाहरण बनेको छ। जेनजी आन्दोलन कुनै अचानक उठेको आँधी होइन; बरु लामो समयदेखि थिचिएका पीडाहरूको विस्फोट हो। बेरोजगारीले घर छोड्न बाध्य भएका युवाहरू, शिक्षा पाए पनि अवसर नपाउने विद्यार्थीहरू, आँफैलाई बिक्रीगर्ने आफ्नै सरकारबाट पीडित युवाहरु, आफ्नै देशमा अपमानित महसुस गर्ने हजारौं नवयुवाहरू, यी सबैको पीडा प्रतिरोधको बीउ बनेर अंकुरियो।
कसैकी आमाले छोरो विदेश नजाओस् भन्ने आशामा आँसु झारिन्; कसैका बाबुले न्यायको लागि ढोका ढक्ढक्याइरहे; अनि कतिपयका सपनाले अपमानको बोझले च्यातिएको महसुस गर्यो। यी पीडाहरू कसरी थिच्न सकिन्थ्यो र? यही करुणाले युवालाई सडकमा पुर्यायो।
नयाँ पुस्ता, विशेष गरेर सामाजिक सञ्जाल र विश्वव्यापी चेतनासँग जोडिएको युवापुस्ता, लामो समयदेखि चलिरहेको असमानता, भ्रष्टाचार, बेथिति र सत्ताको दुरूपयोगविरुद्ध सडकमा उत्रियो। न्यायको बोझले उनीहरूको चेतनामा प्रतिरोधको बीउ रोप्यो। उनीहरूले देखे—विश्वका युवाहरूले जहाँ समान अवसर पाउँछन्, त्यहीँ नेपाली युवालाई बेवास्ता, बेरोजगारी र पलायन मात्र पाइँछ। यही अनूभुतिले उनीहरूमा असन्तोष पलायो।
जब असमानता र दमन निरन्तर जारी रहन्छ, मानिसहरू मौन बस्दैनन्। नेपालमा नयाँ पुस्ताले शान्तिपूर्ण तरिकाले प्रतिरोध सुरु गर्यो । सामाजिक सञ्जालमा सचेतना फैलाउने, नारा, पोस्टर र डिजिटल तथा सडकमा प्रदर्शन गरेर असन्तुष्टिका स्वर प्रस्तुत गर्यो। प्रतिरोधलाई दबाउन कुनै शक्तिशाली साधन छैन; किनभने यो चेतनाबाट जन्मिएको हो, र चेतनालाई दमनले अझ प्रज्वलित बनाउँछ। यो चेतनाको बोली थियो।
जब शान्तिपूर्ण मागलाई पनि राज्यसत्ताले बन्दुक र लाठीले जवाफ दिन्छ, त्यहाँ न्याय होइन, भय मात्र फैलिएजस्तो हुन्छ। तर भय सधैं टिक्दैन। के आँसु ग्यासले सपना जलाउन सक्छ? के गोलीले आवाजलाई चुप गराउन सक्छ? प्रत्येक प्रहारले युवाको आँसुमा आक्रोश थप्यो, र पीडाले हिम्मत जगायो। फ्रान्सेली क्रान्ति होस् वा भारतको स्वतन्त्रता संघर्ष, वा नेपालकै २०६२/०६३ को जनआन्दोलन, यी सबै बेथिति, पीडा, दमन र करुणाबाट जन्मिएका विद्रोह थिए। इतिहास सधैं पीडाको गोरेटो हुँदै न्यायको राजमार्गतर्फ अघि बढ्छ।
यदि सत्ताधारीहरूले अझै पनि नागरिकको आवाजलाई नसुने भने, विद्रोह अझ गहिरो र अटल हुनेछ। तर यदि यो आन्दोलनलाई सकारात्मक रूपमा आत्मसात् गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाइयो भने, यसले नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक अवसर दिएको छ।
जेनजीहरूले अदम्य साहस र बलिदानले नेपालको इतिहास बदल्ने मौका दिएका छन्। जेनजीले उठाएका मुद्दाहरू केवल सत्ता परिवर्तनका लागि थिएनन्। पुरानै संरचनाबाट जन्मिएकाहरू र आफ्नो स्वार्थको रोटी सेक्नेहरुबाट यो अवसर गुम्ने डर महसुस हुन थालेको छ। जेनजी आन्दोलनका मुद्दाहरू ओझेलमा पारीदैछन। संसद बिघटन आन्दोलनको मूल माग थिएन; भलै त्यो मृत संसद जिउँदो भए पनि केही लछारपाटो लगाउने थिएन। त्यो विगतमा देख्दै र भोग्दै आएको हो। हत्याराहरू र भष्ट्राचारीहरु हालसम्म पनि जनताको रगत–पसीनाबाट पालित–पोषित भैरहेका छन्।
दम्भ, अहंकार र क्रूरताले फेरि टाउको उठाउन थालेका छन्। आफूलाई कुकुरसँग तुलना गर्ने भष्ट्राचारीहरुले प्रजातन्त्रका उपदेश दिन थालेका छन्। अबोध बालबालिकालाई टाउको र छातीमा गोली ठोक्नेहरू सलामी खाँदैछन्। सहिदकी आमा घर फर्कने बाटो खोज्दा खर्च नभएर भौतारिरहेकी छिन्। जेनजीलाई अपमान गर्दै केही राजनीतिक समूहका लफङ्गाहरुले बिष वमन गरिरहेका छन्।
अहिले जेनजी र आम नागरिकले खोजेका तत्काल व्यबहारिक परिणाम हो -प्रक्रिया मात्र होइन। नेपालको इतिहासमा कैयौं आयोग बनाइए, तर के भयो ? सत्ता जवाफदेही बनाउने आन्दोलनको माग यदि सम्झौतामा बदलियो भने फेरि त्यही हुँडरी फर्किनेछ। त्यो हुँडरीलाई दलाई लामाहरुका शुभकामना र शुभेच्क्षाहरुले रोक्न सक्ने छैन।
वि.सं.२०८२ असोज ६ सोमवार ०८:०६ मा प्रकाशित