back

‘जेन–जी आन्दोलन कू–देता’ वा ‘डिजिटल एलिट विद्रोह’

वि.सं.२०८२ असोज २७ सोमवार

1.9K 

shares

नेपालमा युवा पुस्ता (खासगरी ‘जेन जी’ वा नयाँ पुस्ता) को नाममा भएको भनिएको अति तीव्र गति, नाटकीयता र हिंसाको संयोजन भएको राजनीतिक उथलपुथललाई राजनीति विज्ञान (Political Science) को भाषामा विश्लेषण गर्न धेरै सैद्धान्तिक फ्रेमवर्क (Theoretical Frameworks) हरू आवश्यक पर्दछ। यो सामान्य सत्ता परिवर्तन नभई, पुरानो व्यवस्थाको आधारशिलामै प्रश्न उठाउने ‘रेजिम चेन्ज’ (Regime Change)को रूपमा देखिन्छ।

यस प्रकृतिको राजनीतिक परिवर्तनलाई व्याख्या गर्ने मुख्य तीन आयामहरू र तिनीहरूको चर्चा जरुरि पर्दछ। जसमा पहिलो हो क्रान्तिकारी परिवर्तन(Revolutionary Change) । ‘क्रान्तिकारी परिवर्तन” परिवर्तनको सबैभन्दा गम्भीर स्वरूप हो। यो तब हुन्छ जब समाजका महत्त्वपूर्ण वर्गहरू, जस्तै:’जेन जी’ समूहले विद्यमान राजनीतिक प्रणालीको वैधता (Legitimacy) माथि नै प्रश्न उठाउँछन् । त्यसलाई आधारभूत रूपमा बदल्ने प्रयास गर्छन्।

नेपालमा विद्यमान राजनीतिक प्रणालीको वैधतामाथि प्रश्न गरिएको थिएन। मात्र मुलुकमा व्याप्त भ्रष्टाचार र त्यसलाई संस्थागत गर्न पालैपालो मुलुकको लुटमा मस्त नेताबाट मुलुकले मुक्ति खोजेको थियो। आफ्ना लुटको धनबाट पालित आसेपासेबाट पार्टी आफ्नो नियन्त्रणमा लिने र आजीवन लुट र अत्याचारमा रमाउने तीन ठूला पार्टीका नेताका दुर्व्यवहार र अहंले जन्माएको वितृष्णाको आगोले यो अवस्थालाई मलजल गरेको थियो। तर नेपालमा त्यसको विरुद्ध लाग्न कुनै पनि समूह वा वर्ग खासै संगठित रूपमा तयारीमा थिएन।

“क्रान्तिकारी परिवर्तन” जस्ता क्रान्तिको प्रकृति र मुख्य विशेषता भनेको तीव्र गतिमा प्राप्त हुने परिवर्तनको नतिजा हो। जसले सामाजिक, आर्थिक र राजनीतिक संरचनाहरूमा गहिरो र दीर्घकालीन असर पार्छ। यदि युवाहरूको आन्दोलनले राजनीतिक दल, संसद् र राज्यका सबै संरचनालाई अस्वीकार गरेर नयाँ व्यवस्था स्थापित गर्छ भने, यसलाई क्रान्तिकारी परिवर्तन भन्न सकिन्थ्यो। तर नेपालको जेन जी आन्दोलनले नयाँ नेपालको परिकल्पना गरेन। मात्र दुई अमुक भ्रष्ट नेता ओली – आरजु तथा तिनका तलुवा चाट्ने चाटुकारहरु जस्तै रमेश लेखक आदि मात्र लाई सत्ताच्युत भए पछि सन्तुष्ट बन्ने बिकल्प रोज्यो।

राजनीतिशास्त्रीय विश्लेषणमा, “क्रान्तिकारी परिवर्तन” मानिने परिवर्तन प्रायः जेनेरेसनल ग्याप (Generational Gap) र सामाजिक आन्दोलनको सिद्धान्त(Social Movement Theory) सँग जोडिएको हुन्छ। जहाँ सामाजिक सञ्जालको शक्ति (Digital Mobliization) ले असन्तुष्टि वा मागलाई अचानक विस्फोटक रूपमा(Explosive Mobliization) प्रकट गराउँछ। यसको उदाहरण इरानको सन् १९७९ को इस्लामिक क्रान्ति हो, जसले तीव्र गतिमा शाहको शासनलाई पतन गराएर, पुरानो संरचनालाई पूर्ण रूपमा फाली हालको धार्मिक प्रकृतिको इस्लामिक शासन प्रणालीमा रूपान्तरण गर्‍यो।

नेपालमा जेन जी (GEn- Z) नाममा देखिएको बिचित्रको गतिविधिले निकै छोटो समयमा भयानक राजनैतिक उथलपुथल गरायो। ुइन्सटेन्ट नुडल बने जस्तो गरी “एक पछि आर्को मुभ खटाखट सम्पन्न हुन थाले। जेन जी नेतृत्वविहीन देखिए पनि संयम र नियोजित योजना अनुरूप विरोध कार्यक्रम अघि बढेको प्रतीत हुन्थ्यो। त्यसैबीच, स्कुले विद्यार्थीमाथि धडाधड गोली चल्यो, अकल्पनीय हत्या भयो। राता रात आन्दोलनमा तिब्र तुइष्ट देखियो। भोलिपल्ट अचानक जताततै आगलागीका घटनाहरू देखिए। अभिमानी क्रूर ओली विकल्पविहीन अवस्थामा सत्ता छोडेर भागे। भागेका राष्ट्रपतिलाई सेनाले फिर्ता ल्याएर राजकाजमा व्यक्ति परिवर्तन गर्ने औपचारिकता पूरा गर्यो। त्यसैबीच, अचानक प्रधानमन्त्री बन्ने पात्र पहिलै देखि तम्तयार भएर बसेको भेटियो। देखिए।

नाटकीय रूपमा संसद् विघटन, प्रधानमन्त्री बन्ने काम सबै नाटकीय रूपमा पूरा भए। ‘रेजिम चेन्ज” भए पनि प्रणाली भने परिवर्तन भएन। “रेजिम चेन्ज” को लागि कुन प्रधानमन्त्री आउने भन्ने बारे छनौट गर्ने अघोषित टिममा बाबुराम भट्टराई तथा पुष्पकमल दाहाल समेत मुख्य निर्णायक भूमिकामा देखिए। फ्री तिब्बत मोमेन्टमा लागेका व्यक्तिहरुको समेत त्यसमा ठुलो प्रभाव देखियो। केपी ओली त्यसमा लिखित सहमत जनाउन र रामचन्द्र पौडेल त्यो निर्णय कुनै प्रश्न समेत नगरी शिरोपर गर्न लाचार बनेको अवस्था देखियो। यो राजनैतिक घटनाक्रमको विकासबारे आन्दोलनरत जेन-जी समूहको कोही कसैलाई पनि सुइँको समेत दिन जरुरी भएको देखिएन।

भएको निर्णयलाई अब के गर्ने भनी जेन-जीसम्म बालेनको ट्वीट मार्फत आदेशात्मक रूपमा पुर्याइयो। पहिलै देखि तम्तयार भएर बसेको उच्च तहले स्वीकारेको पात्रलाई पछि जेन-जीहरुले डिसकोर्डमा भोटिङ्ग भएको नाममा जेनजीले चुनेको प्रधानमन्त्रिको नाममा औपचारिकता दिइयो। राष्ट्रपतिको सामाजिक प्रतिष्ठा को पुनर्स्थापना गर्न गर्ने कसैले गरेको ड्राफ्ट ट्वीट बालेनको केसमा जस्तै वरिष्ठ पत्रकार किशोर नेपालको ट्वीट ह्यान्डलबाट बाहिर सम्प्रेषण गरियो। ति पत्रकारले उक्त ट्वीटको आधिकारिता समेत पुष्टि नगरी, राष्ट्रपतिसंग सोधपुछ समेत नगरी भनिएको ट्वीट गरिदने आदेश मौन रुपमा स्वीकार गरे। मुलुकका संचार माध्यमले त्यसैलाई मुलुकभर फैलाए।

जेनजी आन्दोलनको योजना आयोजन हुँदै गर्दा अदालतको निर्णयको दबावमा मुलुकभर अमेरिकी लगानीका प्रायस् सबै सामाजिक सञ्जालमा रोक लगाउने वातावरण बन्यो। त्यसको विरोधमा जेन जी समूह मुलुकमा ‘भ्रष्टाचारको अन्त्य”को नारा दिएर बाहिर निस्कियो। सामाजिक सञ्जालको शक्तिमार्फत असन्तुष्टि र मागलाई अचानक विस्फोटक रूपमा प्रकट गराइयो। अदृश्य शक्तिले अबोध बालबालिकामाथि गोली चलायो। गोलीका कारण भएको अकल्पनीय हत्याले विद्रोहको भूमिका खेल्यो। आगजनी, लुटपाट र रिजिम चेन्ज भयो। तर, न त लुट न त हत्यामा कोही कतै जिम्मेवार हुनुपर्ने अवस्था सिर्जना हुन समेत पाएन।

उल्लेखित परिदृश्य अनुरुप “क्रान्तिकारी परिवर्तन” को ठीक विपरीत दिशाको नतिजा दिएको नेपालको जेन-जीको पूरक घटना, कुनै क्रान्तिकारी राजनैतिक परिवर्तन नभई, धमिलो पानीमा माछा मार्ने प्रकृतिको ‘कू देटा’ (Coup d’état) कोटीमा पर्ने सुनियोजित, अवसरबादी ‘एलिट’ विद्रोह (lEite Insurrection) हो भनी बर्गिकरण गर्न सकिन्छ।
‘कू’ भनेको गैर(संवैधानिक र बलपूर्वक सत्ता कब्जा गर्नु हो। जुन प्रायः राज्यभित्रकै शक्तिशाली समूहहरू, जस्तैस् सैन्य वा सदैव रिमोटमा रहेर आफू अनुकूल व्यक्तिलाई सत्तामा पुर्याउन परम्परागत रूपमा सक्रिय रहेका स्थापित उच्च राजनीतिक एलिट वर्गबाट निर्देशित हुन्छ। जसमा युवाहरूको विद्रोहलाई अत्यन्त छोटो समयमा राज्यमा अकल्पनीय हिंसा मार्फत गम्भीर भयावह अवस्था पैदा गरी लुटपाट, आगजनीको सहाराबाट रेजिम चेन्ज गरिन्छ। यसैबीच, आफ्नो अपराध आदि प्रमाणित गर्न सहयोग गर्ने दसी-प्रमाण भएका निकायमा सबुत प्रमाणहरू जलाउँदै आफूलाई आर्थिक र राजनैतिक लाभ हुने परिस्थितिको सुनिश्चितता गर्दै टाउकोविहीन मुर्कुट्टा सरकारको निर्माण गरिन्छ।

नियोजित रूपमा जेन-जीलाई स्कुले ड्रेसमा सडकमा उतार्नु, विरोध सामान्य रहेकै अवस्थामा प्रतिकूल मुठभेड जन्माउन धडाधड हत्या गरिनु, नसोचिएको मात्रामा पेट्रोल र मट्टीतेल बोकेर छापामार र सैनिक तालिम पाएका हजारभन्दा अधिक व्यक्ति तोकिएको स्थानमा नाटकीय रूपमा आगो लगाउन पुग्नु, एकैचोटि ७३ हजारभन्दा अधिक नक्कली सोसल मिडिया मार्फत मुलुकभर कुनै सत्य त धेरै फेक घर, पुलिस चौकी, सरकारी निकाय, सिंहदरबार, अदालत आदि जलाएको खबर भाइरल गराउनु र हरेक प्रदेशमा त्यसको लागि छापामार र सैनिक तालिम पाएका व्यक्तिहरु खटाएर भिड उत्तेजित गरी आगजनी र लुटपाटमा लगाएर मुलुकले रेजिम चेन्ज मागेको वातावरण पैदा गर्नु कुनै संयोग हुन सक्थेन। र थिएन पनि। उल्लेखित घटनाहरू प्रायः ‘कू” को समयमा हुने ‘फोकल पोइन्ट हिंसा’ (Focal Point Violence) को उदाहरण हुन्। जसको मुख्य उद्देश्य जनमानसमा त्रास पैदा गरी छिट्टै नियन्त्रण स्थापित गर्नु हुन्छ।

जेन-जी आन्दोलनको नाममा भएको नेपालको हालको परिवर्तन सैन्यको समेत अघोषित साथ रहेको “एलिट” विद्रोह हो। जुन ‘संरचनात्मक परिवर्तन” भन्दा पनि ‘नेतृत्व परिवर्तन” को गहिरो चासोले सम्पन्न भएको छ। शासनको प्रकृति (Regime Type)नबदली केवल तत्कालीन भ्रष्ट ओली-आरजु लुटेरा क्लवमा रूपान्तरण भएको विगतको मन्त्रिपरिषद्लाई ‘एलिट” विद्रोहका नाइकेहरूको कठपुतलीले भरिएको मन्त्रिपरिषद्ले विस्थापित गर्ने उद्देश्य पूरा गर्न जेन-जी आन्दोलनको नाममा भएको आन्दोलनलाई हाइज्याक गर्ने वर्गको नियत केन्द्रित छ।

उदाहरणका लागि, सन् १९८० मा टर्कीमा सेनाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई अचानक बलपूर्वक हटाएर सैन्य शासन स्थापना गर्यो। यो कार्यलाई पूर्ण रूपमा ‘कू देटा’ भनिन्छ। त्यो समयको टर्कीको ‘कू” ले सरकारको नेतृत्व परिवर्तन गर्यो र केही वर्षका लागि लोकतान्त्रिक अभ्यासलाई निलम्बन गर्यो। तर, त्यहाँ राज्य सञ्चालन गर्ने आधारभूत संरचनाहरू जस्तै: अदालत, प्रहरी प्रशासन, शिक्षा प्रणाली, कर्मचारीतन्त्रमा खासै ठूलो क्रान्तिकारी परिवर्तन हुन् दिईएन। सेनाले सत्ताको बागडोर समाल्यो, तर शासनको प्रकृति(Regime Type)जस्तै : पूँजीवादी अर्थतन्त्र, धर्मनिरपेक्ष राज्यको जगलाई तत्कालै र पूर्ण रूपमा उल्ट्याएन। यो ‘कू’ केवल नेतृत्व अर्थात्को शासक हुने भन्ने मुद्धामा मात्र केन्द्रित थियो। कसरी शासन गर्ने भन्ने जस्ता प्रणाली परिवर्तनको उदेश्यले सेनाले परिवर्तन लादेको थिएन।

नेपालको घटनाक्रममा, बाहिर देखिएको ‘जेन-जी आन्दोलन’ को क्रान्तिकारी र जनपक्षीय नारा तथा हिंसात्मक क्रियाकलापको आडमा टर्कीको ‘कू’ जस्तै ‘एलिट विद्रोह’ का तत्त्वहरू प्रयोग भएको छ। यसलाई क्रान्तिकारी आन्दोलनको आड (A Façade of Revolutionary Movement) को रूपमा हेर्दा, जेन-जीको नाममा भएको आन्दोलनले ‘भ्रष्टाचारको अन्त्य’ र ‘मुक्ति’ को कुरा गरेर आम मानिसको क्रान्तिकारी चाहनालाई उकास्यो। यो आन्दोलन क्रान्ति जस्तो देखिन्थ्यो किनभने यसमा आम मानिसको, विशेषगरी युवाहरूको, भावनात्मक संलग्नता थियो। तर, भित्रभित्रै ‘कू’ का तत्त्वहरूको प्रयोग गरिए, जहाँ ‘धडाधड हत्या”, “आगजनी”, “दसी/प्रमाण जलाउनेु जस्ता सुनियोजित र हिंसात्मक गतिविधिहरू प्रयोग गरिएका थिए। यसको उद्देश्य मुलुकको प्रणाली परिवर्तन गर्नुभन्दा पनि तत्कालीन भ्रष्ट ‘ओली-आरजु लुटेरा क्लव’ लाई हटाएर ‘एलिट’ विद्रोहका नाइकेहरूको कठपुतलीले भरिएको मन्त्रिपरिषद् बनाउनु थियो। यसको परिणाम : प्रणालीको यथास्थिति मा नै रह्यो।

टर्कीमा जस्तै, नेपालको यो उथलपुथलको परिणाम पनि ‘रेजिम चेन्ज’ (शासकको परिवर्तन) मात्र भयो, तर प्रणाली (प्रजातान्त्रिक अभ्यास, कर्मचारीतन्त्र) मा खासै परिवर्तन आएन। यसले स्पष्ट पार्छ कि बाहिर क्रान्तिकारी आवरण देखिए पनि, भित्री उद्देश्य केवल शक्तिमा रहेको ‘एलिट’ वर्ग लाई फेरबदल गर्नु मात्र थियो, न कि मुलुकको मूलभूत राजनीतिक, आर्थिक र सामाजिक संरचनालाई आमूल परिवर्तन गर्नु। अतः, नेपालको घटनालाइ राजनैतिक रुपमा क्रान्तिकारी आन्दोलनको भावना र ‘कू देटा’ को कार्यशैली दुबैको जटिल मिश्रण हो।

जहाँ अचानक विकास गरिएको ठूलो युवा बिष्फोटको ऊर्जालाई केही शक्तिशाली ‘एलिट’ समूहहरूले आफ्नो स्वार्थ पूर्ति गर्न प्रयोग गरे। तत्कालीन भ्रष्ट ओली-आरजु लुटेरा क्लवमा रूपान्तरण भएको विगतको मन्त्रिपरिषद्लाई फालेर, आफ्नै नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका र क्यानडा पठाउने र त्यहाँबाट आएको कमिसन अमेरिका र क्यानडामा नै लगानी गरिरहेको आफ्नो पत्नी र परिवारका सदस्यलाई अपराध गर्नबाट नरोक्ने देउवालाई ओलीको राजीनामापछि संविधानतः ठूलो दलको नाताले प्रधानमन्त्री हुने तिमी नै हौ भनी घरमा भुलाएर राखी स-पत्नी भौतिक कारबाही गर्दै उनको परिवारले लुटेको धन भिडियो मार्फत सार्वजनिक गरेर आन्दोलनको औचित्य पुष्टि गर्ने उपाय अवलम्बन गरियो।

नेपालमा भएको हालसालैको राजनैतिक घटनाक्रमको चर्चा गर्न राजनीति शास्त्रमा कुनै पनि शब्दावली (Term) नरहेकाले एक नयाँ टर्मिनोलोजीको जरुरत हुन गएको छ। जसलाई जेन-जी कू-देता(Gen-Z Coup d’état)वा ‘डिजिटल एलिट विद्रोह’ (Digital lEite Insurrection) को रूपमा उल्लेख गर्न सकिन्छ। यहाँ जेन-जी कू-देता (Gen-Z Coup d’état) एक यस्तो सुनियोजित गैर-संवैधानिक सत्ता परिवर्तन (Regime Change)को रूप हो, जहाँ सत्तामा रहेका वा सत्ता बाहिरका प्रभावशाली राजनीतिकरसैन्य एलिट वर्ग (Elite Class) ले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि समाजको युवा, आक्रोशित र डिजिटल रूपमा सक्रिय पुस्ता (Gen-Z) को सत्य वा प्रायोजित आन्दोलनलाई हतियारका रूपमा प्रयोग गर्छन्।

त्यसका मुख्य विशेषताहरू यस प्रकार छन् :
१) छोटो, तीव्र र नाटकीय गति: परिवर्तन “इन्सटेन्ट नूडल बने जस्तो गरी: अर्थात् अत्यन्त तीव्र र नाटकीय रूपमा हुन्छ, जसले पुरानो शासनको पतनलाई अपरिहार्य देखाउँछ।

२) क्रान्तिकारी आड: वास्तविक क्रान्तिकारी वा जनपक्षीय एजेन्डाको सट्टा, युवाहरूको सामाजिक सञ्जालमा आधारित शक्ति (Digital Mobliization) लाई “भ्रष्टाचारको अन्त्य” जस्ता भावनात्मक नाराको आडमा प्रयोग गरिन्छ।

३) सैन्यरसंगठित हिंसाको मिश्रण : प्रदर्शनकारीको भीडमाथि ‘धडाधड हत्या’ वा ‘अकल्पनीय हिंसा’ (जसलाई ‘फोकल पोइन्ट हिंसा’ भनिन्छ) सिर्जना गरेर तत्काल त्रास र विद्रोहको अवस्था पैदा गरिन्छ, जसको व्यवस्थापन छापामार तालिमप्राप्त समूहले गर्छन्।

४) सबुत नष्ट गर्ने कार्य : हिंसा र अराजकताको आवरणमा, आगो लगाउने र लुटपाट मार्फत न्यायिक तथा प्रशासनिक निकायमा रहेका अपराधका दसी/प्रमाणहरू जलाउने कार्य गरिन्छ, जसले परिवर्तनपछि मुलुकमा कसैलाई पनि जवाफदेही बनाउन नसकियोस्।

५) परिणामः यथास्थितिमा “एलिट” फेरबदल : यसको अन्तिम उद्देश्य राजनीतिक प्रणाली (Regime Type)लाई परिवर्तन गर्नु नभई, केवल भ्रष्ट शासक वर्गलाई हटाएर नयाँ कठपुतली सरकार वा ‘टाउकोविहीन मुर्कुट्टा सरकार” स्थापित गर्नु हो, जसले एलिट नाइकेहरूको आर्थिक र राजनीतिक लाभको सुनिश्चितता गर्छ।

वि.सं.२०८२ असोज २७ सोमवार १२:१९ मा प्रकाशित

Himalayan Life AD
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

काठमाडौँ । नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो...

नेपालको सन्दर्भमा विकास अर्थशास्त्रको अर्थराजनीतिक आयाम

नेपालको सन्दर्भमा विकास अर्थशास्त्रको अर्थराजनीतिक आयाम

विकास अर्थशास्त्र कम आय भएका (विकासशील) देशहरूमा आर्थिक वृद्धि र...

के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

के ओली, देउवा र प्रचण्ड एउटै ड्याङ्गका मुला हुन् ?

एकै किसिमको स्वाद, गन्ध र स्वरूप भएका मुलामा तात्विक भिन्नता...

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

नेपालमा खाद्य तथा पोषण सुरक्षाका चुनौतीहरु

खाद्य तथा पोषण मानव जीवनको लागि अति महत्वपूर्ण वस्तु हो...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...

बिहारको निर्वाचन र नेपालमा प्रभाव

बिहारको निर्वाचन र नेपालमा प्रभाव

भारतको बिहार राज्य अहिले पुनः एउटा निर्णायक राजनीतिक मोडमा प्रवेश...