back
CTIZAN AD

आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर दसैँ खर्चको जोहो

वि.सं.२०८२ असोज ९ बिहीवार

777 

shares

महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् ।

दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् । किसानको खेतपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् ।

दसैँमा कमेरे (सेतो), चिम्टाइलो (पहेँलो) र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलठूला पोखरीका डिल, नदी किनारको भिर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताइन् ।

“पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ”, उनले भनिन्, “हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खर्च बनाउँदैछौँ ।” दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खर्चको जोहो गर्नुपर्ने उनको भनाइ छ । अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गरिएको उनले बताइन् ।

ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताइन् ।
नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले ५ हजार रुपैयाँको माटो बेचिसकेकी छन् । अझै दुई–तीन दिन मेहनत गर्दा थप पाँच–सात हजार रुपैयाँ आम्दानी हुने जनाउँदै उनले यसले पर्व खर्चको व्यवस्थापन हुने बताइन् । “दशहरा पर्व सुरु भएसँगै गरिब बस्तीका महिलाले घर पोत्ने, रङग्याउने काम पनि पाएका छन् । अरु बेलाको भन्दा अलि बढी पारिश्रमिक पाइने हुँदा श्रमिकहरूलाई यो पनि अवसर बन्ने गरेको छ”, उनले भनिन् ।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् । घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् ।

अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताइन् । उनका अनुसार अहिले जम्मा गरेको माटो दसैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।

मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाइ छ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खर्च जोहो गर्ने अवसर बन्ने उनले बताइन् । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् ।

वि.सं.२०८२ असोज ९ बिहीवार १३:४९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...