काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको जावालाखेलमा जारी छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राखिरहेका छन्। पार्टी प्रचार–प्रसार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा करिब ५० केन्द्रीय सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए।
प्रत्येक सदस्यलाई बोल्न तीन मिनेट समय दिइएको छ र बोल्ने पालो वर्णानुक्रम अनुसार उल्टोतिरबाट (ज्ञ बाट) तोकिएको छ।
अध्यक्ष ओलीले आगामी मङ्सिर २७–२९ गते पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा पेश गरेका थिए। बैठकमा सदस्यहरूको सुझाव सुनेपछि पदाधिकारीहरूले पनि धारणा राख्ने कार्यक्रम तय गरिएको छ। अन्तमा अध्यक्ष ओलीले सबै सुझाव र जिज्ञासाको एकैपटक जवाफ दिने तयारीमा छन्।
वि.सं.२०८२ असोज ३० बिहीवार १०:४४ मा प्रकाशित



























