गण्डकी, पोखरा । धारिलो हतियार देखाई एक विदेशी नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
आइतबार पोखरा–२२ अनदु जंगलस्थित सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टिनमाथि खुकुरी देखाई हातपात गरिएको घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिलाई एक थान खुकुरीसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहुँ, व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
वि.सं.२०८२ कात्तिक ३ सोमवार ०६:५९ मा प्रकाशित




























