back
CTIZAN AD

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

वि.सं.२०८२ कात्तिक ९ आइतवार

546 

shares

म्याग्दी। अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ। समुद्री सतहदेखि ४,१५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा परेको हो।

पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवद्र्धनात्मक कार्यक्रमपछि चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भने। “अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँ पुग्ने पदमार्ग तयार भएपछि यो याममा अपेक्षाभन्दा धेरै पर्यटक आएका छन्,” उनले भने, “युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ।”

दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका छन् भनेर अध्यक्ष पुनले बताए। आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्रै पुग्थे। अहिले पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूले सुनाए।

नारच्याङदेखि हुमखोला २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ। दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रदर्शक लाक्पा आङवु शेर्पाले भने।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य र पदमार्गको पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन गरी ‘मौरिस हर्जोग पदमार्ग’ नाम दिएको थियो।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई ‘जेठो हिमाल’ भनिन्छ।

विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचारमा सहयोग पुगेको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएका काठमाडौँका सुदीप भट्टले भने, “हिमाल र ताल हेर्न आउनेहरूको आकर्षण अहिले निकै बढेको छ।”

पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ मा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीले पदमार्गको खोज अनुसन्धान थालेका थिए। कास्की र म्याग्दीका दुई स्थानीय तहको नाम अन्नपूर्ण हिमालबाट राखिएको छ। पर्यटन विभागका अनुसार हालसम्म ५३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन्।

नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ। आधार शिविरमुनि ४,०५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ। आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ। पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो बनाउने गर्छन्।

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बनेको प्राकृतिक हिमताल हो। अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक हेर्न पाइनु आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले भनिन्, “वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो। यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै दुःखकष्ट र तनाव भुलिन्छ।”

आधार शिविरमा पहिलो आरोहण टोलीका फ्रान्सेली मौरिस हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरिएको छ। त्यहाँ हालसम्म अन्नपूर्ण आरोहण गरेका ५३६ जनाको नाम ताम्रपत्रमा लेखिएको खुला सङ्ग्रहालय पनि रहेको छ।

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया–खाजा पसलका लागि आश्रयस्थल भवन, शौचालय र खानेपानी व्यवस्था गरेको थियो। हुमखोलामा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ।

गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय बनाइएको छ। हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुंगाबिछ्याउने र अप्ठ्यारो ठाउँमा रेलिङ राखिएको छ। नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते, साधीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी संरचना बनाउन सरकारले अनुमति दिनुपर्छ। एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको छ, तर चार–पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाइएको छ भनी भुसकेतका होटल व्यवसायी माइकल पुनले भने।

सञ्चार र विद्युत् अभावका कारण पर्यटक उद्धारमा कठिनाइ छ। बढ्दो पर्यटक आगमनसँगै फोहर व्यवस्थापन पनि चुनौती बनेको छ। पदमार्गलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ।

गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माण र प्रवद्र्धनमा स्थानीय तह, एक्याप, प्रदेश र संघीय सरकारबीच समन्वय गर्ने बताए। उनले भने, “छोटो दूरीमा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड तालमा पर्यटनको प्रशस्त सम्भावना छ। सञ्चार र विद्युत् विस्तार, पदमार्ग स्तरोन्नति, फोहर व्यवस्थापन र झोलुङ्गे पुल सुधारमा सरकारको ध्यानाकर्षण गराउनेछु।”

 

वि.सं.२०८२ कात्तिक ९ आइतवार १०:३७ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...