काठमाडौँ, ११ कात्तिक । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
सूर्य आराधनाको यो पर्व कार्तिक शुक्ल पक्ष चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । बिहानै नदी वा पोखरीको किनारमा गाईको दूध, फूल र जलले अघ्र्य दिई सूर्यदेवको पूजा आराधना गरिन्छ । यसरी बिहान गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ ।
धार्मिक परम्परा अनुसार पृथ्वीका जीवको सञ्चालन जल र सूर्यबाट हुने भएकाले सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी पूजा गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको आराधना गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने विश्वास रहँदै आएको छ ।
यस अवसरमा विवाहित महिला–पुरुषले दीर्घायुको कामना गर्छन् भने अविवाहिताले सुयोग्य जोडी र सन्तान प्राप्तिको कामनासहित व्रत बस्ने गर्छन् । छठलाई कठोर व्रत मानिन्छ र यस अवधिभर माछा, मासु, लसुन, कोदो, फापरजस्ता परिकार नखाने धार्मिक चलन छ ।
छठ पर्व तराईका मिथिला क्षेत्रमा सुरु भएको मानिन्छ । सन् २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि यस पर्वको रौनक बढ्दै गएको छ । विसं २०६३ पछि थापाथली, गौरीघाट र रानीपोखरीमा छठ मनाइने परम्परा बसेको हो । पछिल्ला वर्षमा कमलपोखरीमा विशेष रौनकका साथ छठ मनाउने गरिएको छ ।
यस वर्ष पनि गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा छठघाटहरूलाई बेहुलीझैँ सिँगारिएको थियो । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर शुरु भएको पूजा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको गुह्येश्वरी छठ समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।
धार्मिक ग्रन्थअनुसार छठी माताले सूर्यदेवलाई प्रसन्न पार्न यो व्रत प्रारम्भ गरेकी थिइन् । महाभारतकालमा द्रोपदीले पाण्डवहरूको सफल अज्ञातवासको कामनामा गरेको सूर्य आराधनाबाट पनि यो पर्व सुरु भएको जनविश्वास छ । सूर्य पुराणमा भने सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य प्राप्त गरेको उल्लेख पाइन्छ ।
वि.सं.२०८२ कात्तिक ११ मंगलवार ०८:३९ मा प्रकाशित






























