काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज बुधबार हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।
बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् ।
निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार लगायत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी, जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय छलफलको कार्यसूची रहेको सचिवालयको भनाइ छ ।
राजनीतिक दलका तर्फबाट कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एमाले)का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्ताैला, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिने छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता रहने छन् ।
वि.सं.२०८२ कात्तिक १२ बुधवार १३:५९ मा प्रकाशित




























