दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी ह भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् ।
यसैगरी, दैलेख क्षेत्र नं. २ मा पनि मतगणना जारी रहेको छ । निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) का लक्ष्मी प्रसाद पोखरेलले अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले पछ्याइरहेका छन् ।
वि.सं.२०८२ फागुन २३ शनिवार ०६:१० मा प्रकाशित






























