काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम घोषणा तत्काल नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
उम्मेदवारी खारेज गर्ने निर्णयसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म मत परिणाम सार्वजनिक नगर्न आयोगले सम्बन्धित निकायलाई पत्रमार्फत निर्देशन दिएको हो ।
आयोगको बैठकबाट मिति २०८२ फागुन १६ मा भएको निर्णयका आधारमा उक्त निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ ।
आयोगले निर्देशन दिँदै यसबारे प्रदेश निर्वाचन कार्यालयलाई समेत जानकारी गराएको जनाएको छ ।
निर्वाचन आयोगको यस निर्णयसँगै धनुषा–१ को मत परिणाम घोषणा केही समयका लागि रोकिएको छ भने अब सर्वोच्च अदालतको निर्णयपछि मात्रै परिणाम सार्वजनिक हुने सम्भावना देखिएको छ ।
यस अघि निर्वाचनको पूर्व सन्ध्यामा कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका रासोपाका उम्मेदवारी किशोरी कमल शाहको उम्मेदवारी आयोगले खारेज गरेको थियो ।

वि.सं.२०८२ फागुन २४ आइतवार १६:२४ मा प्रकाशित




























