back
CTIZAN AD

नीति तथा कार्यक्रम : भूमि बैंकमार्फत बाँझो जमिन उपयोग गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार

63 

shares

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् ।

भूमि बैंक प्रणालीमार्फत बाँझो जमिनलाई उत्पादनमूलक कार्यमा उपयोग गर्दै युवा, महिला, भूमिहीन तथा साना एवं सीमान्तकृत किसानको पहुँच सुनिश्चित गरिने उनलेउल्लेख गरे । सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले किसान सूचीकरण, परिचयपत्र तथा क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिने जानकारी दिए । साथै, करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिने जनाइएको छ ।

ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेसाका रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवद्र्धन गरिने नीति सरकारले लिएको छ । उत्पादन वृद्धि, लागत न्यूनीकरण, आयात प्रतिस्थापन तथा खाद्यान्न आत्मनिर्भरताका लागि नीतिगत सुधार, प्याकेजमा आधारित उत्पादन प्रणाली, यान्त्रिकीकरण, डिजिटल प्रविधि तथा एग्रिटेकमार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइने राष्ट्रपति पौडेलले बताए ।

विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग जोडिने तथा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी कार्यान्वयन गर्ने जनाएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाइने र रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था गरिने जनाइएको छ । न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने नीति लिइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइने तथा सार्वजनिक–निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी उत्पादनपछिको क्षति न्यूनीकरण र आपूर्ति शृङ्खला सुदृढ गरिने जनाइएको छ । गुणस्तर मापदण्ड र प्रमाणीकरणसहित विशिष्ट पहिचान गरिएका उत्पादनलाई भण्डारण, ब्रान्डिङ तथा बजारीकरणमार्फत निर्यात प्रवद्र्धन गरिने सरकारको योजना छ ।

विषादीको आयात तथा प्रयोगको नियमन सुदृढ गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरिने तथा प्रमुख कृषि उपज बजार र भन्सार बिन्दुमा विषादी परीक्षणका लागि अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरू विकास, विस्तार र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नापी र मालपोत सेवालाई एकीकृत गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने तथा आधुनिक प्रविधिबाट भूमिको नाप–नक्सा र अभिलेख अद्यावधिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ । भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम गर्दै भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सुरक्षित र उचित बसोबास व्यवस्थापन गरिने नीति सरकारले अघि सारेको छ ।

माटोको स्वास्थ्य सुधार गर्न जैविक तथा प्राङ्गारिक मलमा अनुदान व्यवस्था गरिने तथा जैविक विविधता संरक्षण र रैथाने बाली प्रवद्र्धन गरिने राष्ट्रपति पौडेलले बताउनुभयो । उत्पादनदेखि उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई उत्थानशील बनाइने तथा बिमा, पशु स्वास्थ्य सेवा र व्यावसायिकीकरणमार्फत पशुपालन क्षेत्र सुदृढ गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यसैगरी, जलाधार संरक्षण, पर्यावरणीय कृषि प्रणाली र प्रविधिमार्फत कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोडिने तथा खोरेतलगायत पशुपन्छीमा लाग्ने रोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गर्दै बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी तथा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२२ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...