काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका सदस्यका लागि समय थप गरेको छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले भदौ १५ गतेदेखि १९ गतेसम्म सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने गरी समयावधि थप गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले पार्टीको वृहत्तर हित, एकता र सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै समय थप गर्ने निर्णय गरेको जनाएको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा नवीकरण तथा अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यले २०८३ भदौ १५ देखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्ने उल्लेख छ ।
तर, कांग्रेसको इतर समूहले भने पार्टीभित्रको विवादमा ठोस सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ ।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले क्रियाशील सदस्यताको अद्यावधिक गर्ने समय थप्नु मात्रै समाधान नभएको बताए । उनका अनुसार अहिले पार्टी एकताका लागि प्रक्रियागत सुधारसँगै दुई पक्षबीच ठोस सहमति आवश्यक छ ।
‘सहमति नभइकन थपेको समयको कुनै अर्थ छैन,’ विश्वकर्माले भने, ‘एकतर्फी रूपमा समय थप्ने, घटाउने वा कार्यतालिका हेरफेर गर्ने विषयले कुनै अर्थ राख्दैन ।’
दुई पक्षबीच ठोस सहमति नभएसम्म इतर समूहका नेता–कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने उनको भनाइ छ ।
गत पुसमा तत्कालीन केन्द्रीय समितिको सहमतिबिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएको विषयलाई लिएर कांग्रेसभित्र विवाद सुरु भएको थियो । उक्त विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको र त्यसलाई निर्वाचन आयोगबाट समेत अद्यावधिक गरिएपछि पार्टीभित्रको विवाद थप चर्किएको हो ।
यही विवादका कारण क्रियाशील सदस्यता अद्यावधिकलगायत पार्टीका संगठनात्मक गतिविधिमा दुई समूहबीच मतभेद कायम रहँदै आएको छ ।
वि.सं.२०८३ भदौ १५ सोमवार ११:२६ मा प्रकाशित






























