काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी भदौ १९ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुने पुरुष फ्रेन्चाइज भलिबल लिगको खेल तालिका सार्वजनिक गरिएको हो ।
लिगको उद्घाटन खेलमा मधेश वारियर्स र सगरमाथा स्म्यासर्सबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच अर्को खेल हुनेछ ।
प्रतियोगितामा मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स र काठमाडौं रेड्स गरी ६ पुरुष फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् ।
सहभागी टोलीले पहिलो चरणमा सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन चरणपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।
प्लेअफ र फाइनलसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन् । प्रतियोगिताको फाइनल भदौ २७ गते आयोजना हुनेछ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएल नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग हो ।
प्रतियोगितालाई लिएर आयोजकले तयारी तीव्र गतिमा अघि बढिरहेको जनाएको छ । लिगले नेपाली भलिबलमा व्यावसायिक फ्रेन्चाइज प्रतियोगिताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०८३ भदौ १५ सोमवार १०:१३ मा प्रकाशित






























