back
CTIZAN AD

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

वि.सं.२०८३ भदौ १५ सोमवार

12 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले देश गम्भीर प्राकृतिक विपद्को सामना गरिरहेको अवस्थामा सरकार वा सम्बन्धित निकायको आलोचना र आरोप–प्रत्यारोपभन्दा उद्धार, राहत तथा सहयोगमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।

सापकोटाले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति अत्यन्त पीडादायी रहेको भन्दै यस्तो संवेदनशील समयमा सबैको अभिव्यक्ति र व्यवहारले पीडित नागरिकलाई हौसला र सहयोग पुर्‍याउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

उनले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायले उद्धार, राहत, खोज तथा व्यवस्थापनका काम अघि बढाइरहेको उल्लेख गर्दै विपद्को समयमा कमजोरी र चुनौती देखिन सक्ने भए पनि त्यसको समीक्षा तथा मूल्याङ्कन गर्ने समय अहिले नभएको बताए।

‘अहिले दोष खोज्ने वा आरोप–प्रत्यारोप गर्ने समय होइन, प्रभावित नागरिकसम्म राहत पुर्‍याउने, उद्धारलाई प्रभावकारी बनाउने र आवश्यक सहयोग उपलब्ध गराउने समय हो,’ सापकोटाले भने।

केही राजनीतिक नेता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट आएका अभिव्यक्ति र गतिविधि अहिलेको संवेदनशील परिस्थितिमा असान्दर्भिक देखिएको उनको भनाइ छ। सरकारका काममा कमजोरी भए तथ्य, प्रमाण र समाधानका स्पष्ट सुझावसहित उचित समयमा रचनात्मक आलोचना गर्न सकिने उनले बताए।

मृतकको खोजी, पहिचान तथा व्यवस्थापन अत्यन्त संवेदनशील विषय भएको भन्दै सापकोटाले यसबारे अनावश्यक अनुमान वा सार्वजनिक टिप्पणी नगर्न आग्रह गरे। मृतकको उचित पहिचान, सम्मानजनक व्यवस्थापन र शोकाकुल परिवारलाई आवश्यक सूचना तथा सहजीकरण उपलब्ध गराउनु सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि उनले जिम्मेवार बन्न आग्रह गरेका छन्। अपुष्ट समाचार, पुराना भिडियो, अनुमानमा आधारित सूचना वा सनसनीपूर्ण सामग्रीले पीडित परिवार तथा आम नागरिकमा थप त्रास र भ्रम सिर्जना गर्न सक्ने भन्दै समाचार वा भिडियो सार्वजनिक गर्नुअघि स्रोत, समय, स्थान र सत्यता पुष्टि गर्न उनले आग्रह गरे।

विपद्को समयमा सरकार तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशनलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संस्था र अन्य संयन्त्रलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे।

सापकोटाले आर्थिक सहयोग गर्न सक्नेले आर्थिक सहयोग, राहत सामग्री जुटाउन सक्नेले सामग्री तथा स्वयंसेवा गर्न सक्नेले स्वयंसेवा गरेर आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने बताए।

‘अरूले के गरेनन् भनेर प्रश्न गर्नुभन्दा पहिले हामी आफैँलाई सोधौँ—मैले के गर्न सक्छु र हामीले के गर्न सक्छौँ ?’ उनले भने।

विदेशमा रहेका नेपालीले समेत आफ्नो मातृभूमिका लागि जहाँबाट जे सकिन्छ, त्यहीँबाट योगदान गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रिय विपद्को यो घडीमा प्रभावित परिवारसँग उभिनु, उद्धार तथा राहतमा खटिएकालाई सहयोग गर्नु, सही सूचना प्रवाह गर्नु र उपलब्ध स्रोत तथा क्षमताको सदुपयोग गर्नु सबैको साझा जिम्मेवारी भएको सापकोटाले बताए।

‘अहिलेको आवश्यकता अनावश्यक आलोचना होइन, सहयोग र सहकार्य हो। आरोपभन्दा समाधान खोजौँ, भ्रमभन्दा सत्य सूचना फैलाऔँ र विभाजनभन्दा एकता रोजौँ,’ उनले भने।

उनले सबैलाई आग्रह गर्दै भने, ‘कम बोलौँ, बढी गरौँ। आलोचनाभन्दा सहयोग गरौँ। आफ्नो देशका लागि आफ्नो ठाउँबाट जे सकिन्छ, त्यो गरौँ। यो हाम्रो देश हो, र देशप्रतिको जिम्मेवारी हाम्रो पनि हो।’

वि.सं.२०८३ भदौ १५ सोमवार ०९:२७ मा प्रकाशित

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...