काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान र सम्बोधन नगर्नु तथा सम्भावित वैकल्पिक मार्गको तयारी नगर्नु ठूलो गल्ती भएको बताएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आज बिहान गएको पहिरोबारे धारणा सार्वजनिक गर्दै डा. भट्टराईले गत वर्षदेखि नै जोखिमका रूपमा रहेको पहिरोलाई समयमै व्यवस्थापन गर्न नसक्दा अहिलेको भोटेकोशी महाविपत्तिको समयमा राजधानी जोड्ने रणनीतिक यातायात प्रणालीमा थप संकट उत्पन्न भएको बताएका हुन्।
उनले पूर्वतर्फको आवागमनका लागि पहिलेदेखि नै संकटग्रस्त तथा अधुरो रहेको बीपी राजमार्ग, कान्तिपथ वा हेटौंडा–कुलेखानी–काठमाडौं मार्गको तत्काल मर्मत गरी प्रयोगमा ल्याउनुपर्ने सुझाव दिएका छन्।
त्यस्तै पश्चिमतर्फको आवागमनका लागि बेनीघाटबाट गोरखातर्फ गई गोरखा सदरमुकाम हुँदै आँबुखैरेनी झर्ने वा मध्यपहाडीरपुष्पलाल लोकमार्ग हुँदै पोखरा जाने मार्गलाई विकल्पका रूपमा प्रयोग गर्न सकिने उनले बताएका छन्।
डा भट्टराईले बेनीघाटबाट गोरखातर्फ नदी पार गरेर उपयुक्त स्थानमा बेलीब्रिज निर्माण गर्न सकिने विकल्पसमेत अघि सारेका छन्।
दीर्घकालीन रूपमा राजधानी जोड्ने वैकल्पिक सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले मध्यपहाडीरपुष्पलाल लोकमार्गका बाँकी काम युद्धस्तरमा सम्पन्न गर्नुपर्ने र त्रिशूली नदीमा बगेका पुलहरू शीघ्र पुनःस्थापना गर्नुपर्ने बताएका छन्।
उनका अनुसार तत्कालका लागि आवश्यक स्थानमा बेलीब्रिज राखेर यातायात सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिँदै सम्बन्धित निकायको यसतर्फ तत्काल ध्यान जानुपर्ने बताएका छन्।
वि.सं.२०८३ भदौ १४ आइतवार २१:०४ मा प्रकाशित






























