काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।
एनएसजेएफको खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच/पाँच जनाको नाम सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन् ।
यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, करातेकी एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषाकुमारी बोहरा तथा बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन् । वर्ष प्रशिक्षकतर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री समावेश भएका छन् ।
२३ औँ संस्करणको अवार्ड समारोह भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियनमा आयोजना हुनेछ। वर्ष उत्कृष्ट पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीका अनुसार २०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शन र हासिल गरेको नतिजालाई छनोटको मुख्य आधार बनाइएको छ। छनोट समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी सदस्य छन्।
देश विनाशकारी बाढी तथा प्राकृतिक विपद्को पीडामा रहेका बेला यसपटकको अवार्डलाई ठूलो उत्सवका रूपमा नमनाउने आयोजकले जनाएको छ।
घोषणा कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य निरञ्जन राजवंशीले मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै २३औँ संस्करणलाई विपद्बाट प्रभावित नागरिकप्रति समर्पित गरिएको बताए।
उनले देश पीडामा रहेका बेला उत्सव मनाउनुको सट्टा खेलकुद क्षेत्र र खेलाडीका तर्फबाट विपद्मा परेकालाई साथ दिनु नै अवार्डको वास्तविक सन्देश भएको बताए।
नौ विधामा सम्मान गरिने
नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा यसपटक कुल नौ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिँदैछ।
पिपल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आर्ट्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल मनोनयनमा छन्।
लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाका विजेताको घोषणा भने भदौ १८ गते हुने आयोजकले जनाएको छ। यी विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।
अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ भने नासा सेक्युरिटिज सहप्रायोजकका रूपमा रहेको छ। सूर्य नेपाल प्रालि, आइएमई बाई खल्ती, रोयल सिंगी होटल, केल्मी, इमेजिङ, प्लाजा होटल ग्रुप र इम्बार्क कलेज सहप्रायोजक छन्। राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् सहयोगी संस्थाका रूपमा रहेका छन्।
वि.सं.२०८३ भदौ १४ आइतवार २०:३३ मा प्रकाशित






























