काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै जलवायु परिवर्तनका कारण नेपालमा बढ्दो विपद् जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सरकारसँग आग्रह गरेको छ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा विपद्पछि भइरहेको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरिएको छ।
संगठनले सयौंको संख्यामा भएको मानवीय क्षति, अर्बौं रुपैयाँ बराबरको भौतिक पूर्वाधारको क्षति तथा विपद्बाट उत्पन्न मनोवैज्ञानिक असरलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने जनाएको छ।
“जलवायु परिवर्तनमा नेपालको ‘अनुकूलन’ अवस्थालाई मूल्यांकन गरी उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापना प्रक्रियामा विश्व समुदायको ध्यान आकृष्ट गराउन सम्बन्धित सबैमा विशेष अपिल गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संगठनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। बाढीमा फसेका, हराइरहेका तथा अवस्था अज्ञात रहेका नागरिकप्रति पनि संगठनले संवेदना व्यक्त गरेको छ।
विपद्को समयमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था तथा मित्रराष्ट्रबाट आएका विज्ञ उद्धारकर्ताहरूलाई संगठनले धन्यवाद दिएको छ।
संगठनले विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग पुर्याउन आफ्ना सदस्यलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
विशेषगरी रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा संगठनमा आबद्ध बुद्धिजीवीहरूलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय हुन निर्देशन दिइएको छ।
संगठनले पछिल्लो विपद्लाई तत्कालीन प्राकृतिक घटनाका रूपमा मात्र नहेरी जलवायु परिवर्तन, हिमताल तथा हिमनदीमा भइरहेको परिवर्तन, अत्यधिक वर्षा र पहिरोको बढ्दो जोखिमसँग जोडेर दीर्घकालीन नीति बनाउनुपर्ने जनाएको छ।
नेपालको कमजोर अनुकूलन क्षमतालाई सुधार गर्न अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्राविधिक, आर्थिक तथा मानवीय सहयोग जुटाउन सरकारले कूटनीतिक पहल बढाउनुपर्ने संगठनको माग छ।
उद्धार तथा तत्कालीन राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, विस्थापित नागरिकको पुनःस्थापना र भविष्यमा हुने विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने संगठनले जनाएको छ।
संकटको यस घडीमा राष्ट्रिय एकता, सद्भाव, विश्वास र आपसी सहयोगमार्फत विपद्को सामना गर्न सकिने विश्वाससमेत संगठनले व्यक्त गरेको छ।
प्रेस विज्ञप्तिमा संगठनका सह–संयोजक भगिरथ न्यौपाने, सह–संयोजक सीताराम घले परिवार र संयोजक कृष्ण केसीको नाम उल्लेख छ।
वि.सं.२०८३ भदौ १४ आइतवार २१:२४ मा प्रकाशित






























