सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ । पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले पर्वतीय पर्यटनको सम्भावना अझ फराकिलो रहेको पाइएको छ ।
सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा यसको प्रभाव अझ स्पष्ट देखिन्छ । हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकसँगै गाइड, उच्च हिमाली कामदार, भरिया, कुक, होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन सामग्री बिक्रेता तथा अन्य सेवा प्रदायकसम्मको आम्दानी जोडिएको हुन्छ । यसरी हिमालमा सुरु हुने आर्थिक गतिविधि गाउँ हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने गरेको छ ।
पर्वतीय पर्यटनमा पुनरुत्थान
नेपालको पहिचानका रूपमा रहेको पर्वतीय पर्यटन (ट्रेकिङ तथा पर्वतारोहण) महामारीको कडा असरलाई चिर्दै पुनः पुरानै उच्च लयमा फर्किएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विगत पाँच वर्षको तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा ट्रेकिङ र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ४७७.१ प्रतिशत अर्थात् ५.८ गुणाले बढेको छ ।
सन् २०२१ मा कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्ध र ‘लकडाउन’का कारण जम्मा २८ हजार ६०० जना पर्यटक मात्र पर्वतीय गतिविधिमा सहभागी भएका थिए । सन् २०२२ मा अन्तरराष्ट्रिय सीमा र हवाई सेवा खुला भएसँगै पदयात्रामा आउनेको सङ्ख्या ११५.६ प्रतिशतले बढेर ६१ हजार ६६९ पुग्यो । यो वृद्धिदर त्यसपछिका वर्षमा पनि निरन्तर कायम रह्यो ।
सन् २०२३ मा ६५ प्रतिशतको वृद्धिदरसहित एक लाख एक हजार ७९२ जना र सन् २०२४ मा थप ५२।२ प्रतिशतले बढेर एक लाख ५४ हजार ९०० पुगेको पर्वतीय पर्यटकको सङ्ख्या सन् २०२५ मा एक लाख ६५ हजार ५६ जना पुगेको छ । यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ६।५ प्रतिशतको क्रमिक वृद्धि हो ।
पर्वतीय पर्यटनको यो पुनरागमनले कुल पर्यटक आगमनमा पनि आफ्नो बलियो उपस्थिति देखाएको छ । सन् २०२१ पछि नेपाल आउने कुल पर्यटकमध्ये पर्वतीय क्षेत्रमा जानेहरूको हिस्सा घटेर १० प्रतिशतसम्म झरेको थियो । तर, पछिल्ला तीन वर्षको निरन्तर सुधारपछि सन् २०२५ मा यो हिस्सा बढेर १४।२ प्रतिशत पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०२५ को तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक आएका थिए । तीमध्ये एक लाख ६५ हजार ५६ जना अर्थात् १४।२ प्रतिशत पर्यटकको मुख्य उद्देश्य ट्रेकिङ तथा पर्वतारोहण थियो । यसले नेपालमा आउने प्रत्येक सात जना पर्यटकमध्ये करिब एक जना पर्वतीय गतिविधिसँग प्रत्यक्ष जोडिएको देखाउँछ ।
पर्यटनको यो हिस्सा केबल पर्यटक आगमनको सङ्ख्यामा मात्रै सीमित छैन । पर्वतीय पर्यटकले आवास, खानपान, यातायात, गाइड, भरिया, आरोहण सामग्री, बिमा, अनुमति, उद्धारलगायतका विभिन्न क्षेत्रमा गर्ने खर्चले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने विश्वविख्यात पर्वतारोही स्पीडकाजी शेर्पा बताउँछन् । “एक जना विदेशी पर्यटक नेपाल प्रवेश गरेदेखि स्वदेश नफर्किएसम्म प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक दर्जनभन्दा बढी नेपालीले रोजगारी पाउँछन् । विमानस्थलबाट ओसारपसार गर्ने ट्याक्सी चालकदेखि ट्रेकिङ कम्पनी, गाइड, पोर्टर, आरोहण सहयोगी, होटल तथा अन्य सेवा प्रदायकसम्ममा यसको लाभ पुग्छ”, शेर्पाले भने, “त्यसैले पर्वतीय पर्यटनलाई पर्यटकको सङ्ख्या र रोयल्टीबाट मात्र मूल्याङ्कन गर्न हुँदैन, यसले सिर्जना गर्ने रोजगारी, आय र आर्थिक गतिविधिको समग्र प्रभावलाई हेर्नुपर्छ ।”
हिमालबाट राज्यलाई राजस्व
पर्वतारोहणबाट मुलुकले प्रत्यक्ष रूपमा प्राप्त गर्ने प्रमुख आर्थिक लाभमध्ये रोयल्टी महत्वपूर्ण हो । सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, धौलागिरि, कञ्चनजङ्घालगायतका हिमालबाट सरकारले पर्वतारोहण रोयल्टी प्राप्त गर्दै आएको छ । त्यससँगै तुलनात्मक रूपमा कम उचाइका आरोहणयोग्य हिमालले पनि आर्थिक गतिविधिमा योगदान गरिरहेका छन् ।
सरकारी तथ्याङ्कअनुसार नेपाल पर्वतारोहण सङ्घमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए । तीमध्ये छ हजार ९०३ विदेशी र १५१ नेपाली आरोही थिए । यी हिमालबाट मात्रै १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।
पर्वतीय पर्यटनका जानकार तथा नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पर्वतारोहणबाट सिर्जना हुने आर्थिक योगदानलाई रोयल्टीमा मात्र सीमित गरेर हेर्न मिल्दैन । आरोहीले नेपालमा गर्ने अन्य खर्च जोड्दा यसको वास्तविक आर्थिक प्रभाव निकै ठूलो हुन्छ । एक जना आरोही नेपाल आउँदा अनुमति शुल्कबाहेक आरोहणका लागि आवश्यक उपकरण, लजिस्टिक, गाइड, उच्च हिमाली कामदार, खाद्यान्न, आवास, यातायात, सञ्चार तथा उद्धारमा खर्च हुन्छ । तीमध्ये ठूलो हिस्सा निजी क्षेत्र र स्थानीय सेवा प्रदायकसम्म पुग्ने शेर्पाको भनाइ छ ।
सोलुखुम्बुको अर्थतन्त्रमा हिमालको प्रभाव
नेपालको पर्वतीय पर्यटनको आर्थिक प्रभाव बुझ्न सोलुखुम्बु एउटा महत्वपूर्ण उदाहरण हो । सगरमाथा आरोहणका लागि विश्वभरबाट आउने आरोही तथा अन्य पर्यटकका कारण खुम्बु क्षेत्रमा पर्यटनसँग सम्बन्धित व्यवसायको ठूलो सञ्जाल विकास भएको छ । लुक्लाबाट सुरु हुने पर्यटन गतिविधि फाक्दिङ, नाम्चे, थामे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै आधार शिविरसम्म फैलिन्छ । होटल, लज, रेस्टुरेन्ट, पसल, गाइड, भरिया, यातायात, सञ्चार तथा पर्यटन सामग्रीको कारोबार यसैसँग जोडिन्छ तर सोलुखुम्बुको पर्वतीय पर्यटन सगरमाथामा मात्र सीमित छैन । मेरा पिक, आइल्यान्ड पिक र लोबुजे इस्टजस्ता हिमालले पनि ठूलो सङ्ख्यामा आरोही आकर्षित गरिरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल पर्यटन तथ्याङ्क–२०२५’ अनुसार नेपाल पर्वतारोहण सङ्घमार्फत व्यवस्थापन हुने हिमालमध्ये सोलुखुम्बु क्षेत्रका मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुजेमा एक हजार ७७५ जनाले आरोहण अनुमति लिएका थिए । यी तीन हिमालमा मात्रै छ हजार ४८६ आरोहीले अनुमति लिएका थिए । यसले सगरमाथाबाहेकका हिमालमा पनि पर्यटनको ठूलो आर्थिक सम्भावना रहेको देखाउँछ ।
नयाँ हिमाल, नयाँ आर्थिक अवसर
नेपालमा पर्वत पर्यटन विस्तारका लागि अबको मुख्य अवसर भनेकै नयाँ आरोहण गन्तव्यको विकास र प्रवद्र्धन हो । केही सीमित हिमालमा पर्यटक तथा आरोहीको चाप केन्द्रित हुँदा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ पनि सीमित क्षेत्रमा केन्द्रित हुने गरेको छ । कम चर्चित हिमाललाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनसके नयाँ क्षेत्रमा पर्यटन पूर्वाधार विकास, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ ।
सोलुखुम्बुकै उदाहरण हेर्दा मेरा पिक, आइल्यान्ड पिक तथा लोबुजेमा भइरहेको आरोहण गतिविधिले सगरमाथा आरोहण नगर्ने पर्यटकलाई जिल्ला भित्र्याउन सहयोग गरेको छ । यसबाट पर्यटकको बसाई लम्ब्याउने र स्थानीय खर्च बढाउने अवसर सिर्जना हुन्छ ।
नेपालले पर्वतीय पर्यटनलाई सगरमाथाको ब्रान्डमा मात्र निर्भर नराखी हिमालको विविधता प्रस्तुत गर्नसके विश्वबजारमा नेपालको पर्वतीय पर्यटन उत्पादन अझ प्रतिस्पर्धी बन्नसक्ने कीर्तिमानी आरोही तेम्बाछिरि शेर्पाले बताए।
दक्ष जनशक्ति र रोजगारी
पर्वत पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ । गाइड, भरिया, कुक, होटल कर्मचारी, आरोहण सहयोगी, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा विभिन्न सेवा प्रदायक यस क्षेत्रसँग जोडिएका छन् । तर अन्तरराष्ट्रिय पर्वतारोहण बजारमा प्रतिस्पर्धा गर्न दक्ष र प्रमाणित जनशक्ति आवश्यक हुन्छ । सुरक्षित पर्वतारोहणका लागि व्यावसायिक गाइड, उद्धारकर्मी र उच्च हिमाली कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । नेपाल पर्वतारोहण सङ्घ र पर्यटन क्षेत्रका अन्य निकायले तालिम तथा दक्षता अभिवृद्धिका कार्यक्रम अघि बढाइरहेका छन् ।
सन् २०२५ मा व्यावसायिक माउन्टेन गाइड तालिमअन्तर्गत सिटिइभिटीबाट स्वीकृत पाठ्यक्रममा तालिमसमेत सञ्चालन भएको थियो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा सुरक्षित, व्यावसायिक र दिगो पर्वतीय पर्यटन विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउँदै आएको छ । उनले पर्वत पर्यटनको प्रवद्र्धनसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने र अन्तरराष्ट्रियस्तरको दक्षता विकास गर्नुपर्नेमा जोड दिएको छ ।
हिमाल संरक्षणसँग जोडिएको अर्थतन्त्र
पर्वतीय पर्यटनको विस्तारसँगै वातावरण संरक्षण अर्को महत्वपूर्ण विषय हो । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमतालको आकार परिवर्तन हुने, हिमपहिरोको जोखिम बढ्ने तथा आरोहण मार्गमा परिवर्तन आउनेक्रमले पर्वतीय पर्यटनको भविष्यमा चुनौती थपेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले बताए । खुम्बु क्षेत्रमा देखिएका हिमनदी तथा हिमतालका परिवर्तनले पर्वतारोहण र पर्यटन पूर्वाधारको सुरक्षाबारे प्रश्न उठाएको छ ।
सङ्घले पनि वातावरणीय जिम्मेवारी, पर्वतारोहण सुरक्षा तथा उच्च हिमाली उद्धार क्षमतामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घको आयोजनामा गत मङ्गलबारदेखि काठमाडौँमा प्रोफेसनल माउन्टेन गाइड (पिएमजी) प्रशिक्षण ‘स्किल कोर्स’ सुरु भएको छ । चालिस दिने उक्त प्रशिक्षण काठमाडौँ र ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो प्रशिक्षण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट स्वीकृत एक हजार ६९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शकसम्बन्धी पाठ्यक्रमको महत्वपूर्ण हिस्सा भएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
स्थानीयस्तरमा ठूलो आर्थिक लाभ
पर्वतारोहणबाट राज्यले पाउने रोयल्टीलाई मात्र यसको आर्थिक योगदानको मापन मान्दा पर्वतीय पर्यटनको वास्तविक योगदान ओझेलमा पर्न सक्छ । एउटा आरोहण दलले अनुमति लिएपछि त्यसको खर्च आरोहण शुल्कमा मात्र सीमित हुँदैन । काठमाडौँमा तयारीदेखि सोलुखुम्बुको लुक्लासम्मको हवाई यात्रा, खुम्बुका होटल तथा लज, गाइड तथा भरियाको पारिश्रमिक, खाद्यान्न, आरोहण सामग्री, सञ्चार, बिमा र उद्धारसम्म विभिन्न चरणमा खर्च हुने गर्दछ ।
यसरी एउटै आरोहीले गरेको खर्च धेरै व्यवसाय तथा श्रमिकलाई आर्थिक लाभ मिल्ने भएकाले यसको प्रभाव स्थानीय अर्थतन्त्रमा पर्ने पर्यटक व्यवसायी बलबहादुर दर्नालको भनाइ छ । उनका अनुसार स्थानीय तह र पर्यटन व्यवसायीलाई पर्वत पर्यटनको लाभसँग थप जोड्न आवश्यक छ । हिमाल भएको ठाउँका बासिन्दाले पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ पाउने वातावरण बनाउनसके पर्वत पर्यटन स्थानीय विकासको माध्यम बन्नसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।
वि.सं.२०८३ भदौ ५ शुक्रवार १२:०४ मा प्रकाशित





























