काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक हुन नसकेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि कार्यान्वयन नगरेको स्वीकार गरेका छन् । ।
उनले अब आयोग गठन भएको करिब एक दशक पुग्न लागेको भन्दै अझै प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताएका छन्। २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भएको थापाको भनाइ छ।
थापाले विगतका सरकारबाट पनि प्रतिवेदन सार्वजनिक गर्ने काम हुन नसकेको स्वीकार गर्दै विगतको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन्। उनले यसपटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय राजनीतिक प्रतिबद्धतामा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्।
“अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्,” थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेका छन्।
उनले सत्यतथ्य जान्न पाउनु नागरिकको अधिकार र न्याय पाउनु पीडितको अधिकार भएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
वि.सं.२०८३ भदौ ८ सोमवार १०:४९ मा प्रकाशित






























