१४ साउन,भक्तपुर । “मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लाशमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।”
रचनात्मक साहित्यिक समूह र ‘त्रिपुरा न्यूज साप्ताहिक’ भक्तपुरले काभ्रेपलाञ्चोक देउपुर घर भई भक्तपुर कार्यक्षेत्र भएका पत्रकार एवं साहित्यकार स्व गुरुप्रसाद ढकालको परिवारको सहयोगार्थ ठिमीमा आयोजना गरेको एकल गजल साँझमा युवा गजलगो विकास प्रहरका गजलले गजलका पारखीलाई नतमस्तक बनायो ।
पत्रकार, साहित्यकार एवं अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, भक्तपुर क्याम्पस स्ववियुका पूर्व उपसभापतिसमेत रहनुभएका ढकालको कलेजो, हेपाटाइटिस र कमलपित्त रोगको उपचारार्थ आयोजना गर्ने भनिएको गजल साँझ उहाँको यही साउन ४ गते मृत्यु भएका कारण परिवारको सहयोगार्थ शुक्रबार आयोजना गरिएको थियो ।
ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शुरु भएको कार्यक्रम नेपाली गजलगो रोशनकुमार राजभण्डारीको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा गजलगो प्रहरले करुण एवं शृंगारिकधारलगायतबाट सामाजिक विकृति विसंगतिलाई चिरफार गर्नुभएको थियो । उहाँले देश प्रेमले ओतप्रोत, मानवतावादी तथा समसामयिक धारका गजल वाचन गर्नुभएको थियो ।
प्रहरका गजल संगीतबद्ध रुपले राज सागरले गाउँदा कार्यक्रम निकै आकर्षक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगण्य रुपमा हुने भक्तपुरमा प्रहरको कार्यक्रममा भक्तपुर, काठमाडौँ, ललितपुरलगायत जिल्लाका स्रष्टा एवं गजल पारखीको सहभागिता थियो ।
प्रहरले नेपालको शैक्षिक प्रणाली र राजनीतिक अवस्थाले बेरोजगारी बढेको र युवा विदेशिएकामा चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्शाए –
“उब्जाएर बस्न पनि एक धुर्को पाखो छैन
खाऊँ भने जागिर साथी फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।”
राजनीतिक विकृतिप्रति पनि प्रहरले यसरी व्यंग्य गरे –
“गोली लागी छेडेको यो, आज आफ्नै छाती देख्छु
एकोहोरो शंख बज्दै, मलामीको ताँती देख्छु
गण्यमान्य व्यक्तिद्वारा, लाशमाथि चढाएको
पहिलो पल्ट, धेरैभन्दा धेरै फूलपाती देख्छु
पीताम्बर र कात्रोद्वारा, सजाएर मेरो शरीर
चन्दन हैन उत्तिसको, स्वयं चितामाथि देख्छु
प्रभातको जस्तै गरी, गाढा गाढा लाली छरी
सूर्य पनि उदाएको, सधैँभरि राति देख्छु ।”
गजल गायक राज सागरले गजल गायनमार्फत वातावरण जमाउँदै लगे, “रक्तलाली पोतिएको अधर जाली तिम्रो,
मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो ।” सांगीतिक गजलको प्रस्तुतिले साँझ ढल्दै जाँदा वातावरण पनि निकै लोलाएको थियो ।
कार्यक्रममा संकलित रु ६० हजार ढकालको परिवारसम्म पु¥याउने गरी ढकालका मित्र चूडामणि पौडेललाई हस्तान्तरण गरियो । कार्यक्रममा विभिन्न वक्ताले ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यस प्रकारका अन्य साहित्यिक कार्यक्रम भक्तपुरमा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
वि.सं.२०७४ साउन १४ शनिवार ०४:२० मा प्रकाशित