१९ पुस, लहान : अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित भएको भन्दै बिहीवार र शुक्रबार दुई दिन सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
दुईपछि पनि मौसममा सुधार नआए पुनः बैठक बसेर बिदा दिने वा नदिने निर्णय लिइने जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो ।
यस्तै, चिसो बढेपछि सिरहाको धनगढीमाई नगरपालिका–९ का दलित विपन्न परिवारलाई कम्बल र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वैदेशिक रोजगारीमा रहेका धनगढीमाई नगरापालिका–९ का युवाले संकलन गरी पठाएको रकमबाट कम्बल र शैक्षिक सामग्री खरिद गरेर वितरण गरिएको हो ।
धनगढीमाई नगरपालिकाका उपप्रमुख फुलकुमारी श्रेष्ठले दलित विपन्न ३२ परिवारलाई जाडो छल्न कम्बल र उक्त बस्तीका ७२ बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गर्नुभयो ।
यहाँ शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । लहानस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दैनिक चिसोका कारण बिरामी परेका करिब २० देखि २५ जना उपचारका लागि आउने गरेको जिल्ला अस्पालका मेसु डा चुमनलाल दासले जानकारी दिनुभयो ।
पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ ।
वि.सं.२०७४ पुस १९ बुधवार १४:५८ मा प्रकाशित





























