१० चैत, काठमाडौँ । ललितपुरको सातदोबाटोदेखि खुमलटारसम्मको झण्डै एक किलोमिटर सडकखण्ड आगामी वैशाख १५ गतेभित्र कालोपत्र हुने भएको छ ।
ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएपछि शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य सचिव लोकदर्शन रेग्मी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायतसँग छलफल गरी तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष दाहालले काठमाडौँको लाजिम्पाटबाट ललितपुरको खुमलटारमा बसाइँ सरेपछि स्थानीयवासीको भावना बुझ्दै सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
निर्माण व्यवसायीले आलटाल गरेपछि शुक्रबार अध्यक्ष दाहालले तत्काल सडक कालोपत्र गर्न मुख्यसचिव लगायतसँग छलफल गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौताअनुरुप अघि नबढ्दा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्यासमेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न आग्रह गरेका हुन् ।
सोही छलफलका आधारमा ठेकेदारले कालोपत्र गर्ने कार्य अघि बढाएको थियो । कालोपत्र अघि बढाए पनि ढिलासुस्ती भएपछि अध्यक्ष दाहालको पहलमा स्थानीय प्रशासन, स्थानीयवासी र ठेकेदारबीच चैत १५ गतेभित्र शुरुको खण्डको ५०० मिटर कालोपत्र गर्ने र बाँकी सडकखण्ड वैशाख १५ सम्म कालोपत्र सम्पन्न गर्ने सहमति भएको छ ।
वि.सं.२०७४ चैत १० शनिवार ०९:५३ मा प्रकाशित




























