
१० चैत, काठमाडौँ । विश्व पर्वतारोहण महासङ्घ (युनियन अफ इन्टरनेश्नल अल्पाइन एसोसिएसन) को व्यवस्थापन समितिको बैठक शुक्रबार काठमाडौँमा शुरु भएको छ ।
नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित दुईदिने बैठकमा महासंघ आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिसहित करिब ३७ देशीय प्रतिनिधिको सहभागिता रहेको छ । बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर, वातावरणीय प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेबारे छलफल केन्द्रित हुनेछ ।
अहिलेको बैठकमा खासगरी हिमाल आरोहणलाई सुरक्षित बनाउने र जलवायु परिवर्तनको जोखिम न्यूनीकरण उपायबारे छलफल हुने महासङ्घका महासचिव कुलबहादुर गुरुङले बताए । उनले विश्व पर्वतारोहण महासंघका ३७ देशका सचिवालय सदस्यको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण भएकोले यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल छन् भनेर घोषणा गर्न पनि यो बैठकलाई महत्वपूर्ण थलोको रुपमा लिइएको छ । महासचिव गुरुङले भने, “अहिले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल नेपालमा छन् भनिएको छ, तर हामीले त्यस्ता हिमाल १४ वटा छन् भनेर पहल गरिरहेका छौँ, महासंघको मापदण्डअनुरुप केही प्राविधिक कुरामात्र नमिलेकाले यो बैठकमा छलफल भएर घोषणा हुन पाए उपलब्धिमूलक हुने थियो ।”
नेपाल सरकारले घोषणा गरेपनि यस्ता हिमाल कतिवटा छन् भनेर विश्व पर्वतारोहण महासंघले अनुमोदन गर्नुपर्छ । लामो समयको पहलपछि यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना हुनुले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश जाने आयोजकको दाबी छ ।
यसअघि इरानमा भएको महासंघको वार्षिक साधारणसभामा नेपालले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र सगरमाथालगायत अन्य हिमालमा वातावरण प्रदूषण बढेको एजेण्डा राखेको थियो । हिमाल संरक्षणका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश पु¥याई साझेदारी गर्न पहल गरिएको संस्थाले जनाएको छ ।
वि.सं.२०७४ चैत १० शनिवार १०:१३ मा प्रकाशित





























