back
CTIZAN AD

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

वि.सं.२०७४ चैत १७ शनिवार

789 

shares

samman2विक्रम गिरी र शेरबहादुर सिंह, १७ चैत, भीमदत्तनगर । गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका छन् ।

भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो ।

यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए । उनीहरुलाई निराश हुन नदिन महेन्द्रनगरका युवा व्यवसायीले रु ४० लाखभन्दा बढी लगानी जुटाएर ‘महेन्द्रनगर युनाइटेड’ टिम बनाएका छन् ।

“लगानी जुटाउन सहज छैन,” महेन्द्रनगर युनाइटेडका सञ्चालकमध्येका एक दिनेश मल्लले भने, “आफ्नो ठाउँको शाख जोगाउन मात्र लाखौँको लगानीमा टिम जुटाएका हौँ ।” धनगढी प्रिमियर लिग (डिपिएल) जस्तो महँगो प्रतियोगितामा प्रतिस्पर्धा गर्न टिम बनाउन निकै चुनौतीपूर्ण काम भएको सञ्चालक मल्लको ठम्याइ छ ।

“व्यावसायिक प्रतियोगिताका लागि सानोतिनो लगानीले टिम बनाउन सकिन्न,” मल्लले भने । क्रिकेटका लागि महेन्द्रनगर मुलुककै उर्वरभूमीका रुपमा चिनिन्छ । आजदेखि धनगढीमा शुरु भएको प्रतियोगितामा महेन्द्रनगरका मात्रै १५ जनाभन्दा बढी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दैछन् ।

सो प्रतियोगितामा भाग लिएका सिवाइसी अत्तरिया, विराटनगर किंग्स, टिम चौराहा, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड टिममा महेन्द्रनगरका खेलाडी समावेश छन् ।

“छिमेकी जिल्ला कैलालीमा यतिठूलो प्रतियोगिता हुँदा हामी टुलुटुलु हेर्न सक्दैनौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक अशोक पाण्डेयले भने, “यतिधेरै क्रिकेटको क्रेज भएको ठाउँको टिम नहुँदा खल्लो हुने भएकै कारण लगानी गरेका हौँ ।”

महेन्द्रनगरको क्रिकेट क्रेजलाई जीवित राख्नकै लागि यहाँका युवा व्यवसायी सुशील श्रेष्ठ, दिनेश मल्ल, अशोक पाण्डेय, सुशील चटौत, निरज चन्द, नवीन बोहरा र ब्रिजकिशोर चन्दले हातेमालो गरी लगानी जुटाएका छन् । उनीहरु सबै यहाँका चल्तीका व्यवसायी हुनुका साथै क्रिकेटसँग लामो समयदेखि जोडिएका छन् । महेन्द्रनगर युनाइटेडलाई विजया सिमेन्ट, सगरमाथा स्टिल, कोबेल्को, नेको इन्स्योरेन्स, पाइनियर, केवाइवी, सिजिको मेजु, होटेल ओपेरालगायतले साथ दिएको छ ।

आफ्नो टिमलाई प्रतियोगिताकै उत्कृष्ट बनाउन महेन्द्रनगर युनाइटेडले यही चैत १० गतेदेखि नै महेन्द्रनगरमा प्रशिक्षणको व्यवस्था गरेको थियो । सो टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास रहेका छन् । टिमका कप्तान विनोद भण्डारी महेन्द्रनगरकै उत्पादन हुन् भने अर्का खेलाडी अरुण ऐरी पनि स्थानीय नै हुन् ।
यस्तै सिवाइसी अत्तरिया टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, प्रेम तामाङ, कमलसिंह ऐरी र रोमन वम, विराटनगर किंग्सका दिलीप नाथ, टिम चौराहाका ललितसिंह भण्डारी र सुनिल धमला, काठमाडौँ गोल्डेन्सका नरेश बुढाऐर, सन्तोष भट्ट तथा रुपन्देही च्यालेन्जर्सका प्रदीप ऐरी महेन्द्रनगरका उत्पादन हुन् ।

“डिपिएलमा मात्र होइन अन्य प्रतियोगितामा समेत यहाँको टिमलाई सहभागी गराउँछौँ,” महेन्द्रनगर युनाइटेडका अर्का सञ्चालक व्रिजकिशोर चन्दले भने, “हामीले नाफा घाटा हेरेर टिममा लगानी गरेका छैनौँ, यहाँका खेलाडीको इच्छालाई मात्रै ध्यान दिएका छौँ ।”

विसं २०६१ मा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ५ नेपालगन्जबाट अलग्गिएर क्षेत्र नं ६ बैतडी बनेको हो । त्यसपछि मात्र प्रदेश नं ७ को क्रिकेटले चर्चा पाएको हो । बैतडी नयाँ क्षेत्र बन्नुअघि सुदूरपश्चिमबाट धीरेन्द्र चन्द र प्रेम चौधरीले मात्र राष्ट्रिय टिममा स्थान बनाएका थिए । अहिले सिनियर तथा उमेर समूहबाट प्रदेश नं ७ का पुरुष तथा महिला गरी ४० भन्दा बढी खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

“व्यावसायिक प्रतियोगिता भन्दा क्लब, विद्यालय र जिल्लास्तरीय प्रतियोगिताको खाँचो छ,” कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले भने, “केही वर्षदेखि प्रतियोगिताको अभाव खड्किएको छ ।” संघले जिल्लाका व्यवसायीलाई लगानीका लागि गुहार्दै आएको चन्द बताउछन् । प्रदेश नं ७ का नौ जिल्लामध्ये बाजुरा नेपाल क्रिकेट संघमा आवद्ध छैन । अरु आठ जिल्लामा क्रिकेटको गतिविधि भइरहेकै छ ।

“स्थानीयस्तरमा खेलाडी उत्पादन नभएसम्म क्रिकेट अगाडि बढ्न सक्दैन,” कञ्चनपुर क्रिकेट संघका पूर्वअध्यक्ष दीपकराज चालिसे भन्छन्, “सरकारी तथा निजी क्षेत्र खेलाडी उत्पादनमा उत्तिकै सक्रिय हुनु जरुरी छ ।”

वि.सं.२०७४ चैत १७ शनिवार १७:१५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...