९ बैशाख, काठमाडौं । इजरायलबाट फर्केका नेपाली महिलाले खोलेको नेपाली नारी आवाज नेपाल नामक संस्थाले कौशी खेती सम्बन्धी तालिाम दिएको छ ।
नारी आवाज नेपाल र नेपाल थोपा सिँचाइ प्रा.लिको संयुक्त आयोजनामा शनिबार कलंकीमा दुई चरणमा सम्पन्न एकदिने कौशि खेती तालिममा २५ जनाले तालिम लिएका थिए ।

एनआरएनए इजरायलका पूर्वअध्यक्ष, अष्ट ज अभियान नेपालका उपाध्यक्ष वरिष्ठ कृषि विज्ञ डा.विष्णु चापागाईँले दिएको उक्त कौशिखेती सम्बन्धी तालिममा कौशी खेतीका लागि माटो तयार पार्ने तरिका, घरमै मल बनाउने तरिका, बोकासी मल बनाउने तरिका, कौशी खेतीमा ध्यान दिनुपर्ने कुरा, बेर्ना सार्ने तथा बालीको हेरचाह, धाँक्रो दिने तरिका, गोडमेल र झारपात हटाउने तरिका, बालीमा लाग्ने रोगको विषयमा, वाली टिपाइको बारेमा, तरकारी बाली संरक्षण गर्ने तरिकाका बारेमा जानकारी तालिम दिइएको थियो ।

त्यस्तै दोश्रो चरणको कार्यक्रममा प्रमुख अतिथिका रुपमा इजरायलका लागि पूर्वराजदूत प्रल्हाद प्रसाइले नारी आवाजले इजरायलमा गरेका कामहरुको मनन गर्दै नेपालमा आएर पनि सक्रिय रहेकोमा संस्थाको अझ उन्नती र प्रगतिको कामना गरेका थिए । उनले नारी आवाज इजरायलले विशेष गरेर कामदारका रुपमा इजरायल पुगेका दिदी बहिनीको समस्यामा सक्रिय रहेर काम गरेको स्मरण गरेका थिए ।

त्यस्तै प्रशिक्षक डा चापागाईँले कृषिलाई नेपाली सभ्यताकै रुपमा विकास गर्दै जानुपर्ने बताउँदै नारी आवाजका दिदी बहिनीले नेपाल फर्केर पनि नेपाली समाजका लागि सक्रिय भएर यस्ता कामहरु गर्दै आएको बताउँदै अझ सक्रिय भएर लाग्न शुभकामना दिएका थिए ।

सोहि क्रममा नेपाल थोपा सिचाइ प्रा.लिका अध्यक्ष खोजराज कटुवालले आफूले इजरायलमा सिकेर आएको सीप र प्रविधि नेपालको कृषि विकासमा लगानी गरेको बताए । उनले ४० देखि ४२ जिल्लामा पुगेको र अत्यन्तै विकट जिल्ला हुम्ला, जुम्ला तथा कालिकोटमा पुगेर कृषि सम्बन्धी प्रविधि, सीप तथा ज्ञान दिएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा ऐक्यबद्धता मासिककी सम्पादक मीना शर्माले १०–१५ हजार रुपैयाँ कमाउनका लागि हाम्रा बलिया पाखुरा खाडीको मरभूमिमा जान नपर्ने व्यवस्था सरकार तथा सरोकारवाला निकायले गर्नुपर्ने बताइन् । उनले विदेशबाट देश फर्किएर कृषि पेशामा लागेकाहरुलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

सोहि अवसरमा नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली नारी आवाजसँगै सहकार्य गर्दै जान आफू तयार रहेको भन्दै नारी आवाजका संस्थागत सफलताको कामना गरेकी थिइन् ।

प्रमुख अतिथिद्धारा कौशीखेती सम्बन्धी तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । अन्त्यमा नारी आवाजकी अध्यक्ष गोमा खनालले कार्यक्रमको अन्त्य गर्दै नेपाली समाज तथा नेपाली महिलाको हितमा आफूहरु जस्तोसुकै कामगर्न पनि तयार रहेको बताएकी थिइन् ।

वि.सं.२०७५ वैशाख ९ आइतवार १४:४७ मा प्रकाशित





























