१५ असोज, काठमाडौँ । श्रमजीवी टे«ड युनियन महासङ्घ नेपालले यथाशीघ्र अधिकार सम्पन्न श्रमजीवी मजदुर आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रामबहादुर तामाङले जतिसक्दो चाँडो सरकारले अधिकार सम्पन्न श्रमजीवी मजदुर आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।
महासङ्घले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक समयसापेक्ष वृद्धि गर्नुपर्ने, मजदुरलाई रासन कार्डको व्यवस्था गर्नुपर्ने, निःशुल्क जीवन बिमा, साना व्यवसायीलाई बिना धितो कर्जा व्यवस्था गर्नुपर्ने, श्रमजीवी मजदुर सङ्गठन र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौता तत्काल लागू हुनुपर्नेलगायत माग गरेको छ ।
कार्यक्रमका पूर्व क्षेत्रीय प्रशासक ललितबहादुर थापाले मजदुरको हकहितका लागि महासङ्घले उठाएका माग जायज रहेकाले सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उक्त महासङ्घका महासचिव नेत्रबहादुर लिम्बूले श्रमजीवी मजदुरको हक, हित तथा अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा विभिन्न क्षेत्रमा आबद्ध मजदुर तथा कलाकार महासङ्घमा प्रवेश गरेका थिए । रासस