१७ असोज,बर्दिवास । महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दामा आँखामा मोतियाबिन्दुको रोगको निकै बढेको छ ।
ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सामाजिक सङ्घ संस्था एवम् अस्पतालले आयोजना गरेका निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामी ठुलै सङ्ख्यामा भेटिएका छन् ।
आइतबार जिल्लाको सीतापुर बजारमा जानकी आँखा अस्पताल जनकपुरले आयोजना गरेको एक दिने शिविरमा आँखा जाँच गराएका ३५० मध्ये ११५ जनामा मोतियाबिन्दु फेला परेको अस्पतालले जनाएको छ । उपचार लिन आएमध्ये मोतियाबिन्दु भएका धेरैजसो ५० वर्ष कटेका भेटिएको आँखा जाँचमा संलग्न चिकित्सक टोलीका प्रमुख डा रुदल साहले जानकारी दिनुभयो । मोतियाबिन्दु भएका सबैलाई आज अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गरिने डा साहले बताउनुभयो ।
यसअघि गत असारमा जिल्लाका मटिहानी, धीरापुर, बलबा, रघुनाथपुर र गौशालामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले एक साता लगाएर आयोजना गरेको शिविरमा ५६५ जनामा मोतियाबिन्दु पाइएको थियो । ती सबैलाई साउनको पहिलो सातामा लहान पु¥याएर निःशुल्क शल्यक्रिया गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताउनु भयो ।
ग्रामीण क्षेत्रमा आँखाको ज्योति कमजोर भएका, रतन्धो भएका र आँखा ओरीपरी गिर्खागिर्खी हुने निकै भेटिएका महोत्तरी जिल्लामा सञ्चालित कैयौँ शिविरमा संलग्न हुनुभएका जानकी आँखा अस्पताल जनकपुरका चिकित्सक डा साहले बताउनुभयो ।
शिविर अभिलेख हेर्दा जिल्लाका ग्रामीण क्षेत्रका गरिब र दलित बस्तीमा आँखासम्बन्धी समस्या बढी पाइएको रेडक्रस महोत्तरी शाखाले जनाएको छ । रासस
वि.सं.२०७३ असोज १७ सोमवार ०३:२२ मा प्रकाशित