back
CTIZAN AD

पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै यान्त्रिक पुल

वि.सं.२०७५ असोज २९ सोमवार

528 

shares

राजु पौडेल, २९ असोज, कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ ।
नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् ।

व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ ।

व्यापारी–व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य सङ्घको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ । यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ विसं २०६९ मा निर्माण गरिएको हो । छ वर्ष अघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ ।

सदरमुकाम कुश्माको वडा नं ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थप अब्बल सावित हुँदै गएको छ ।
कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवद्र्धन गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो ।
उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ ।

करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । “बलेवा क्षेत्रमा ठूलो जनसङ्ख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं,” कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने, – “बलेवा विमानस्थल, कालीगण्डकी कोरिडोर, प्रसिद्ध भैरवस्थान मन्दिर र बलेवा क्षेत्रको घना वस्तीलाई ध्यानमा राखेर सेवामुखी सोचका साथ यो परियोजना ल्याएका हौं ।”

उनले थपे – “हामीले मुनाफा मात्र हेरेका छैनौं, समाज विकासका लागि समेत हाम्रो लगानी अर्थपूर्ण होस् भन्ने अपेक्षा हो ।”

अहिले बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदल मार्ग भएर आउने पर्यटकहरु समेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ । प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्न जाने–आउने तीर्थालुहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

पुल निर्माणपछि बिरामीहरुलाई तुरुन्त कुश्मासम्म ल्याउन र अत्यावश्यक वस्तुहरु तुरुन्तातुरुन्तै ओसारपसार गर्न समेत पुल सहयोगी बनेको छ ।

द्रुत गतिमा स्तरोन्नति हुँदै गइरहेको कालीगण्डकी कोरिडोर बाह्रैमास सञ्चालनमा आउन थालेपछि यान्त्रिक पुलमा आवतजावत गर्नेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

सम्भवतः मुलुकमै सबैभन्दा धेरै ४६३ जना शेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको यो पुलको कुल लम्बाइ ५५० मिटर रहेको छ भने क्यारिज क्षमता ८ जना ९६०० केजी० रहेको छ ।

महिनामा करीव ५०० को हाराहारीमा त पर्यटकहरु मात्र यो पुल चढ्ने गर्दछन् । यान्त्रिक पुलका कार्यालय प्रमुख चिरन्जीवी रेग्मी भन्छन्ु– “दैनिक ४०० जना भन्दा बढीले यान्त्रिक पुलबाट सेवा लिइरहेका छन् ।” उनका अनुसार प्रत्यक्ष रुपमा १३ जना स्थानीयवासीले रोजगारी पाएका छन् ।

कालीवारि र पारिको दूरीलाई छोट्याउने मात्र नभई कुश्मा आउजाउ गर्न पुल निर्माणपछि निकै सहज बनेको स्थानीयवासीको धारणा छ । बलेवा नेपानेका यामबहादुर केसी भन्नुहुन्छ – “पुल निर्माण भएपछि बलेवामा आवातजावत गर्ने र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।” पुलबाट यात्रा गरिसकेपछि बलेवा क्षेत्रमा पुग्ने पर्यटकहरुले सुविधासम्पन्न होटल, पार्क लगायत केही समय भुल्ने ठाउँको अभाव भएको तथ्यलाई औँल्याउँछन् । कालीगण्डकी नदीमाथि बञ्जी, स्काई साइक्लिङ र स्वीङको निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ ।

वि.सं.२०७५ असोज २९ सोमवार १५:३५ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...