back
CTIZAN AD

शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीय–अध्यक्ष प्रचण्ड, अरु कसले के भने ?

वि.सं.२०७५ कात्तिक १८ आइतवार

651 

shares

१८ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताएका छन् ।

आज अपराह्न दिवङ्गत भएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।”

नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उनले गरेको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए ।

यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उनले राष्ट्रिय सम्मानका साथ उनको अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उनले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।

यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरेका थिए । नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक तथा मानवाधिकार संरक्षणका क्षेत्रमा उनले गरेको योगदान अविस्मरणीय रहेको बताए ।

नेत्री हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भने, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।” उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।

मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक पक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रुपमा स्मरण गर्दै मानवाधिकार अनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियानकर्मीका रुपमा सम्झिएका थिए ।

अधिकारकर्मी दमननाथ ढुङ्गानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा सम्झनुभयो । उनले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्ने बताए ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलिका लागि अस्पतालमा तुलाधरका शुभेच्छुक तथा शुभचिन्तकको भीड लागेको थियो ।

नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरको पार्थिव शरीरलाई घरमा लगेर आज रातभरि पूजा तथा परित्राण पाठ गरिने जानकारी दिए । मस्तिष्काघात भएर उनलाई अघिल्लो शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबार छाती र मूत्रनलीमा सङ्क्रमण भएपछि नर्भिकमा ल्याइएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए । गए राति ३ बजेदेखि भने उनको अवस्था जटिल हुँदै गएको उनले बताए ।

छातीको गम्भीर सङ्क्रमणबाट आज दिउँसो १२ः४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार २१:५० मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...