
२५ कात्तिक, घोराही । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थालेकी छन् । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित भएकी हुन् ।
पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गरेका छन् । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गरिएको छ ।‘ च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,’ उनले भने ।
बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ । ‘च्याउको अचार र सुकुटी मागअनुसार पु¥याउन सकेका छैनौँ,’ बुढाले भने । बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका छन् ।
घोराही– १४ का कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा लाग्नुभएको छ । बजार राम्रो देखेपछि उहाँ च्याउ खेतीतर्फ आकर्षित हुनु भएका हुन् । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री वितरण गरिरहेका छन् “गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ,” उनले भने, “च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ ।” अचार र सुकुटी खरीद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उनले सामुहिक रुपमा रु सात लाखको लगानीमा सो व्यवसाय थालेका हुन् ।
यहाँ उत्पादन भएको च्याउ दाङबाहेक रुकुम, रोल्पा, प्युठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोखरेल जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको बताउछन् । “बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौँ,” उनले भने, कार्यालयले यस वर्ष कृषकलाई च्याउको बीउ वितरण गरेको छ भने उत्पादन र प्रशोधन सम्बन्धि तालीम समेत प्रदान गरेको छ । जिल्लामा अधिकांश कृषकले दुधे च्याउ, गोब्रे र सिताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दैआएका छन् ।
वि.सं.२०७५ कात्तिक २५ आइतवार १६:०५ मा प्रकाशित






























