१३ कात्तिक,चितवन । चितवन जिल्लाको सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको छ । संस्थागत विद्यालयतर्फ भने विद्यार्थीको सङ्ख्यामा केहि बृद्धि भएको छ ।
जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयतर्फ ७६ हजार ८१ विद्यार्थी अध्ययनरत छन् । गत शैक्षिक सत्रमा सामुदायिकतर्फ ८० हजार ७४ विद्यार्थी अध्ययनरत थिए ।
त्यस्तै संस्थागततर्फ गत शैक्षिक सत्रमा ५९ हजार ७६४ विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा ६३ हजार २७४ विद्यार्थी अध्ययनरत छन् ।
गत शैक्षिक सत्रको तुलनामा यो शैक्षिक सत्रमा सामुदायिकतर्फ तीन हजार ९९३ विद्यार्थी घटेका छन् भने संस्थागततर्फ तीन हजार ५१० विद्यार्थी बढेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।
सामुदायिकतर्फ तल्लो तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या घटेको छ । प्राथमिक तहमा अघिल्लो शैक्षिक सत्रमा ३७ हजार ५९४ विद्यार्थी रहेकोमा यस शैक्षिक सत्रमा ३४ हजार ९५१ मा विद्यार्थीम मात्र अध्ययनरत रहेका छन् ।
संस्थागततर्फ तीन वटै तहमा विद्यार्थी सङ्ख्या बढेको छ । प्राथमिक तहमा गत शैक्षिक सत्रमा ३३ हजार १६७ विद्यार्थी रहेकोमा यस शैक्षिक सत्रमा ३४ हजार ६३१ पुगेको छ । निम्न माध्यामिक तहमा १७ हजार ४७६ बाट बढेर यो शैक्षिक सत्रमा १८ हजार ४१७ र माध्यामिक तहमा ९ हजार १२१ बाट बढेर १० हजार २२७ विद्यार्थी अध्ययनरत रहेको छन् ।
जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार जिल्लामा सामुदायिक विद्यालयको सङ्ख्या ३११ र संस्थागत विद्यालयको सङ्ख्या १४८ वटा रहेका छन् ।
जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले सहरी क्षेत्रमा संस्थागत बाट सामुदायिकमा आउने क्रम बढ्दो भए पनि ग्रामीण क्षेत्रमा भने सामुदायिकबाट संस्थागतमा जानेको सङ्ख्या बढी रहेकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको हो भन्नुभयो ।
सामुदायिक विद्यालयमा व्यवस्थापन कमजोर रहनु, दरबन्दी अनुसार शिक्षक नहुनु, स्रोत साधनको कमी हुनु जस्ता कारणले पनि विद्यार्थी सङ्ख्यामा कमी आएको विश्लेषकहरु बताउँछन् ।
सामुदायिकतर्फ विद्यार्थी सङ्ख्या बढाउने काममा जिल्ला शिक्षा कार्यालय लागिपर्ने जिल्ला शिक्षा अधिकारी अर्यालले बताउनुभयो । रासस
वि.सं.२०७३ कात्तिक १३ शनिवार ०७:२७ मा प्रकाशित