ऐतिहासिक ठाउँ पैञ्यू, कहिले एैतिहासक राज्यको महत्वपूर्ण भूमिकाबाट परिचित भयो भने कहिले विकास र समृद्दिको अभुतपूर्ण उत्साह थलो पनि बन्यो । संस्कार र सभ्यताको हातेमालो गर्दै जाँदा हातेमालो चोक जन्माएको त्यहि पैञ्यूले केहि दिन यता भने अस्वभाविक दृश्यहरु सहन गरिरहेको छ ।
पैञ्यू गाउँपालिकाको केन्द्र अर्थात् भवन निर्माण कहाँ गर्ने भन्ने विषयलाई लिएर बजार– यातायात–शिक्षण र वित्तिय सेवा बन्द मात्र होइन पैञ्यू गाउँपालिकाको कार्यालयमा ताला समेत लागेको स्थिति छ । यद्यपी सोमबारदेखि भने यातायात खुलाइएको छ र द्धन्दरत पक्षहरुमा बार्ताबाटै निकास खोज्ने मनोबिज्ञान बढेको छ ।

पर्वत जिल्लको दक्षिणी क्षेत्रको मुख्य केन्द्र ठानिने साविक हुवास हातेमालो चोकमा घर भाडा लिएर गुजारा गरिरहेको गाउँपालकिाले आफ्नो भवनका लागि जग्गा खोजिरहेको थियो । उपर्युक्त ठाउँ, कम खर्च र सबैलाई पायक पर्ने थलो गाउँपालिकाका लागि जरुरी थियो । यस क्रममा पालिकाद्धारा भएको प्रारम्भिक प्रयास अन्तर्गत खोलापारीको वगर वरपरबाट जग्गा धनीहरुले जग्गा प्रदान गर्ने घोषणा सार्वजनिक समेत गरिएको थियो । तर, पालिकाले कार्यविधि अनुसार ७ दिनको सूचना जारी गर्यो । यो ७ दिनको चौथो दिनमै हातेमालो चोक नजिकैका ६ जना जग्गा धनीहरुले १० रोपनी बढि जग्गा दिन तयार भएको अनुरोध सहित बजार व्यवस्थापन समितिले गाउँपालिकामा निबेदन पु¥यायो । तर यसबारे सुनुवाइ नै नगरी पालिका सभाको अत्यधिक बहुमतले यसलाइ पासै गयो ।

‘गाउँपालिकाका अध्यक्ष तथा दलीय सं्यन्त्रको सहमति अनुसार बैकल्पिक जग्गा खोज्ने कुरो भएको र म्यादभित्रै खोजेर जग्गा फेहरिस्त पेश भएको स्थितिमा पनि विकल्पका बारेमा प्रक्रियागत छलफल हुनै नदिइएकोले गाउँपालिकाको निर्णय शैली घोर अलोकतान्त्रिक भन्दै हामीले विरोध सुरु गरेका हौं,’ आन्दोलनको अगुवाइ गरिरहेका बजार समितिका अध्यक्ष कृष्ण श्रेष्ठले संसारन्युजसँग भने । लोकतान्त्रिक प्रणालीमा त हामी पनि विस्वास गर्छौ तर विधि अन्तर्गत पेश भएको विकल्पका बारेमा छलफल हुनै नदिइ छलछाम, बेइमानी र षड्यन्त्रपूर्ण ढंगले दुई तिहाइको हौवा पिटाइयो । जग्गा छनौटको आधार र विकल्पका बारे ध्यानै नदिइ कुत्सीत मनसायका साथ गरिएको जर्वजस्त निर्णय सच्याइनुपर्छ भन्ने हाम्रो प्रारम्भिक माग हो ।’ उनले भने ।

नेकपा मौन, कांग्रेसको ह्विप
‘जग्गा छनौटका आधार, प्राबिधिक पक्ष र विकल्पका बारेमा समिति मार्फत् प्रतिवेदन बनाएर निर्णय गरेको भए उपर्युक्त हुने थियो,’ बुद्धिजीवी शोभाकान्त रिजालकोे प्रतिक्रिया थियोे । स्थानको निर्णयका सन्र्दभमा नेपाली कांग्रेसले आफ्ना निर्वाचित प्रतिनिधिहरुलाई हिृवप जारी मात्र गरेन, नेकपाका निर्वाचित जनप्रतिनिधि समेतलाई पायक र प्रभावका कारण तान्न सफल भयो । कतिसम्म भने वडा नं ५ बाट निर्वाचित कांग्रेस सम्बद्य एक जनप्रतिनिधिले पार्टी ह्विपका कारण मतदाताहरुको विपक्षीमा उभिन बाध्य भएको सार्वजनिक गरे । जनप्रतिनिधि संख्यामा निकै कमजोर रहेको नेकपाले बेउलीबास, त्रिवेणी र टकलाकलाई नचिढ्याउन यसबारे मत सार्वजनिक गर्न चाहेन । यसबारेमा नेकपा नेता रेशमलाल सापकोटा भन्छन्, ‘ कहाँ राख्ने भनेर छिनाझपटी गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी छैन, तर गाउँपालिकाले बिधि अनुसार विकल्पहरुको छलफल नगराएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
खोलाको बगर असुरक्षित भएको, पूलमा ठूलो धनराशी खर्च हुने र तटबन्द तथा अन्य समस्याका कारण गाउँपालिकाले गरेको छनौट राम्रो नभएको, एक दुई व्यक्तिहरुको ग्राण्ड डिजाइनमा पैञ्युलाई दीर्घकालिन असर पार्ने काम गरिएको, नापी भएर पनि पुर्जा नआएको जग्गाको आशंका गरिएको लगायतका विषय बजारवासी आन्दोलनकारीहरुले उठाइरहेका छन् । तर त्रिबेणी र अर्थुन लगायतका बजारबासीले भने अलिकति भनेपनि पायक पर्ने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन ।
के होला अबको निकास ?
दुई तिहाइ बहुमतले निर्णय गरेको विषय फेरबदल नहुने अडान राख्न सकिए पनि मर्दिखोला बजारबासीको पहुँच र प्रभाव त्यति हलुको छैन । सम्बन्धित पक्षहरुले ‘इगो’ को विषय नबनाएर समाधानको बाटो रोज्ने हो भने समाधान एक घण्टामै छ । गाउँपालिका स्थानीय सरकार भएकोले उसले पत्र लेखेर वार्तामा बोलाउन सक्छ । संवाद भन्दा ठूलो माध्यम संसारमा केही छैन । वार्ताको आव्हान औपचारिक रुपमा गरी समाधानका उपायहरुको टिपोट गर्न सकिन्छ । विषय धेरै हुन सक्छन र जटिल होलान् भनेर पन्छिने होइन कि गाउँपालिकाले दोश्रो विकल्पका बारेमा छलफल नगराएको कमजोरी स्विकार्ने र वजारवासीले हड्ताल स्थगन गरेर अगाडि बढ्ने हो भने शान्त र स्थीर मनस्थितिबाट समाधान आफै आउनेछ ।
वि.सं.२०७५ फागुन ६ सोमवार १३:४१ मा प्रकाशित





























