back
CTIZAN AD

मैले सोचेको र भोगेको अफ्रिका (तस्बिर सहित)

वि.सं.२०७५ फागुन ११ शनिवार

807 

shares

‘बहिनी तपाइलाई अफ्रिकी क्षेत्रिय बैठकमा युगाण्डा बोलाउने जस्तो कुरा छ ।’ एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा दाइले फेसबुकमा म्यासेज छोड्नु भएको थियो ।

दाइको यो म्यासेजले मलाइ खिसिक्क बनाएको थियो । धन भन्दा मान्छेको मूल्य कम रहेको तथा जिउदै मान्छेको मासु अनि रगत पिउने इतिहास बोकेको तानाशाही इदी अमिनको देश युगाण्डा, इबोला रोगको सुरुवात भएको अफ्रिका, भोकमरीको देश अफ्रिका तथा जातिय युद्धमा लाखौं जनता मारिएको इतिहास बोकेको रुवान्डा (धेरै नेपालीहरुको मुखमा झुण्डिएको शब्द हो रुवाण्डा, नकरात्मक रुपले भनिन्छ (नेताहरुले देश रुवाण्डा जस्तो बनाउने भए ।)

मलाई पनि त्यस्तै लाग्यो । अहिलेसम्म अफ्रिकाको युगाण्डामा कार्यरत राजमणि भण्डारी, रमेश कंडेल, पाल्पाली दाइ ईश्वरी बस्याल लगायतको नाम बाहेक उहाँहरुले त्यहाँ के काम गर्नुहुन्छ ? नेपालीका लागि त्यहाँ अबसर के–के छन् भन्ने कमै थाहा थियो । राजमणि भाइको लियोन्ज रेष्टुरेण्ट एण्ड बार नामको रेष्टुरेण्ट जिन्जामा छ भन्ने मात्र थाहा थियो ।

दाइले अक्टोबरको १६ तिर त्यति भन्नु भयो र फेरि त्यो विषयमा कुरा गर्नु भएन् । म पनि खासै चासो दिइन । किन भने युरोपको चरम विकास देखेर फर्केकी र अमेरिका, अष्ट्रेलिया तथा क्यानडा घुम्ने रहर बोकेको मनमा ‘जाबो अफ्रिका’ अरुलाइ जस्तो मलाइ पनि लागेको थियो । त्यसैले त्यति वास्ता पनि गरिन ।

फेरि दोश्रोपटक डिसेम्बरको ११ तिर फेरि म्यासेज पठाउनु भयो, ‘बहिनी डिसेम्बर २९ र ३० को सम्मेलनका लागि युगाण्डा आउने तयारी गर्नुहोला । अनि टेकुमा पुगेर ‘एलो फिभरको भ्याक्सिन पनि लिनुहोला, यता आउनुभन्दा दुई हप्ता अगाडि लिनुपर्छ ।’

दाइले यति भनेपछि अब युगाण्डा जाने जाने पक्का भयो भन्ने लाग्यो । अफिसमा साथीहरुसँग सल्लाह पनि गरें । पछि कस्तो रहेछ त युगाण्डा भनेर मनमा कौतुहलता लागेपछि युट्युवमा सर्च गरे । युट्युवमा कोही विदेशीले ‘वन डे इन कम्पला’ भनेर राखेको रहेछ । त्यहि हेरें । त्यहाँ हाम्रै रत्नपार्कको फुटपाथमा जस्तो कपडा बेच्न राखेको, बाटोमै कागती, खुर्सानी बेच्न राखेको, माइक्रोको जाम लगायतका थुप्रै कुराहरु काठमाडौंसँग मिलेको देखें । त्यसले झनै मन मर्यो सोँचे ‘हिक्मत दाइले किन बोलाउनु लाग्नु भएको होला युगाण्डा, हेर्नेजस्तो केही नि छैन् ।’ जे त होला, गएपछि थाहा होला भन्ने लाग्यो ।

टेकुमा गएर  ‘एलो फिबरको भ्याक्सिन पनि लिएँ ।’ त्यहाँ किन जानुहुँदैछ अफ्रिका भनेर सोधियो, मैले ‘एनआरएनए सम्मेलनमा भाग लिन जाने हो भनेर जवाफ दिए । अनि मनमा जिज्ञासा लागेको थियो सोधि पनि हाँले, ‘यो एलो फिबर भ्याक्सिन किन लिइन्छ, अफ्रिका जान भन्दा पहिले ?’ उनले, त्यहाँ पुगेर कुनैपनि रोगले आक्रमण नगरोस् भन्ने हुनाले यसलाई आवश्यक बनाइएको छ भनेर जवाफ दिइन् । त्यसपछि त झन म डरायो । अ हो, गएर नफर्कदा सम्म केही नहोस् । अफ्रिका जाने भनेपछि विएस्सी माइक्रोबायोलोजी पढिरहेको छोराले पनि भन्यो ‘ममि ख्याल गर्नुहोस् है अफ्रिका त सबै रोगको खानी भन्छन् नि !’ त्यसपछि त झन डराएको थियो मन ।

त्यसपछि अफ्रिका संयोजक सुनिल कार्की भाइसँगको दरबारमार्गको भेट, युगाण्डाबारे केही जानकारी र युगाण्डा जाने टिमबीच भेटघाट समेत भए । अन्तत ः डिसेम्बर २७ को फ्लाइ दुवइको १० :३० बजेको फ्लाइटबाट दुवई ट्रान्जिट हुँदै युगाण्डा उड्ने तय भयो ।

२७ का दिन एनआरएनए कार्यालय कार्यकारी प्रमुख डा. हेमन्त दवाडी, नेपाल पत्रिकाका सन्तोष आचार्य, स्पेस खबरका रामजी दाहाल, दिस इज द लेवनान संस्थाकी नेपाल संयोजक उर्मिला उप्रेती र म एयरपोर्टमा भेटेर फ्लाइ दुवइबाट दुवई र दुवईबाट युगाण्डा जान डिर्पार्चर लियौं ।

२२० डलर मात्र रहेछ
हिड्ने बेलामा पैसाका बारेमा सोध्दा हिक्मत दाइले खासै पैसा त चाहिदैन्, तपाइको बस्ने र खाने व्यवस्था एनआरएनएको हुन्छ । तर, बाहिर घुम्दा वा अन्य कुरामा तपाइलाई केही खर्च गर्नुपरेमा तपाइको आफ्नो हुन्छ केही पैसा बोक्नुहोला । तर, पहिलेजस्तो घुम्न जानेले ५ सय डलरको छाप लगाउनु पर्दैन होला ! भन्नु भएको थियो । त्यसैले मैले २५ हजार रुपैयाँको २ सय डलरको छाप पासर्पोटमा लगाएकी थिए । अध्यागमनमा सोधियो
कहाँ जाने बहिनी ?
एनआरएनएको अफ्रिकी बैठकमा भाग लिन युगाण्डा जान लागेको ।
भिसा खोइ त ?
अनअराइभल हो नि, त्यहि गएर लगाउने
यहाँ त अनलाइनबाट अप्लाइ गर्नुपर्छ भनेको छ नि !
होइन सर, पर्दैन्, उहि गएर लगाउने हो, हेर्नुहोस् त भन्दै उर्मिलाले इन्टरनेटमा देखाइन् ।
पैसा पनि धेरै रहेनछ जम्मा २२० डलर !
किन धेरै चाहियो र सर १ हप्ताको लागि हो उहाँहरुले सबै ब्यबस्था गर्नुहुन्छ नि ! म पत्रिकाबाट जान लागेको हो ।
कुन पत्रिका खोइ कार्ड छ ?
मैले सूचना विभागको कार्ड निकालेर देखाए । अन्य साथीहरुलाई पनि त्यस्तै सोधे क्यारे । त्यसपछि हामी त्यहाँबाट पास भयौं ।

फ्लाइ दुवइको ५ डलरको चिया


डिर्पाचर १०ः ३० को भनेपनि हामी झण्डै ११ बजेतिर यहाँबाट उड्यौं । आकास धुम्म थियो । बाहिर अध्यारो थियो । प्लेनमा चढेको केही समयपछि थोरै बिन्स (सिमीको दाना) र अण्डा हालेर बनाइएको खाना दियो । खाना खाँदा पानी पनि दिएइन । हामीले त्यति वास्ता पनि गरेनौं । पछि देला नि भनेर बसिरह्यौ तर पानी आएन । पछि चिया खान मन लागेर कालो चिया माग्दा एयर होस्टेजले दिरहाममा हिसाब गरेर चियाको ५ डलर तिर्नुपर्छ भनिन् । अचम्म लाग्यो । साथीहरुले भन्थे एयर अरेवियामा पानी पनि दिदैँन, सायद यो पनि त्यस्तै रहेछ कि क्याहो, पानी पनि दिएन भन्ने लाग्यो अनि चुप बसे ।

सुनको विस्तारामा हिराको हार लगाएर सुतेको युएइ
५ घण्टाको यात्रा पछि दुवई ओर्लने बेला भयो । वरिपरी समुद्रले घेरिएको दुवई आकासबाट हेर्दा लाग्दथ्यो, सुनै सुनले बनेको विस्तारामा झलमल टल्किने हिरा लगाएर मस्त सँग सुतेको छ । रातीको ८ बजेपछि सुनसान अनि धिपधिपे उज्यालोमा हिड्ने बानी परेका हामी नेपाली । लाग्यो अ, हो बिजुली मात्रै भएपनि अन्धेरी रातमा पनि देशै उज्यालो बनाउँदो रहेछ । रातिको २ बजे पनि झिलमिलि बत्तिले साँच्चै सुन्दर देखिएको थियो आकासबाट युएइ । लाग्यो, कहिले होला मेरो देशमा यस्तो ।

तस्बिर : ऐजेन्सी

दुवईको एयरपोर्टमा झण्डै ५ घण्टा बढी बिताएर हामी बिहान ८ बजेतिर फ्लाइ दुवईबाटै युगाण्डाको इन्टवे सहरमा रहेको इन्टवे एयरपोर्टका लागि उड्यौ । प्लेनमा ४–५ जना अन्य देशका नागरिक र हामी ६ जना नेपाली थियौं । इन्टवे एयरपोर्ट सफा राम्रो, तर सानो थियो । हामीले त्यहाँ जानुको उद्धेश्य एउटा फर्ममा भर्यौ र एलो फिवरको कार्ड देखाउँदै भित्र पस्यौं । एयरपोर्टभित्र पनि हामीलाई सहज वातावरण लाग्यो केही दुःख दिइएन । त्यहाँ सुनिल भाइ र जीवनाथ पंगेनी जी आइसक्नुभएको थियो । उहाँहरुसँगै बाहिर निस्किएर गन्तव्य तिर लाग्यौं ।

एयरपोर्टबाट निस्कदा साथ देखियो नेपाली पौरख


एयरपोर्टबाट बाहिर निस्कदा नै मलाई नेपालजस्तै लागेको थियो । त्यतिधेरै विकास नभएको देखिए पनि त्यहाँको सफा सुग्घर बातावरणले भने मन तानिसकेको थियो । त्यहाँका वातावरणले युगाण्डाप्रतिको मेरो सोँच परिवर्तन भइसकेको थियो । सडकमा हाम्रा जस्तै स–सना र पुराना घर देखिए पनि त्यति अस्तव्यस्त भने थिएनन् । एयरपोर्टको बाटो छोडेर त्यहाँको हाइवे रोडमा आइपुग्दा नेपाली पौरख झल्किएको थियो । इन्टवे –कम्पला जोड्ने चिल्लो अनि राम्रो बाटो हाम्रै नेपाली पौरखी सीपले बनेको रहेछ । दाङका इन्जिनियर कृति बहादुर थापाको नेतृत्वमा उक्त बाटो बनाइएको रहेछ । युगाण्डा टेकेपछिको पहिले प्रभाव नै त्यहि बाटोले पार्यो । हाम्रो एयरपोर्टबाट निस्कदासाथ एकसय मिटरदेखि नै धुलो र धुँवा सुरु हुने हाम्रो बाटो भन्दा त्यहाँको बाटो अत्यन्तै सफा र राम्रो लागेको थियो ।

नेपाली नेताले एकपटक रुवान्डा हेर्न जानु नि !
हामी यताबाट गएका ५ जना र तान्जानियाबाट बैठकमा भाग लिन आउनु भएका पासाङ शेर्पा भाइ पनि सँगै थियौं । उहाँपनि पहिलोपटक युगाण्डा आउनु भएको रहेछ । तान्जानियाको विकाससँगै परिचिति हुनुभएका उहाँले भन्नु भयो, ‘ हाम्रा नेताहरुले रुवान्डा बन्ने भयो देश भनेर भनिरहन्छन, रुवान्डा विकासमा हामी भन्दा अघि बढि सक्यो । हाम्रो देशमा अझै सु–सासनको महसुस पनि जनताले गर्न सकेका छैनन् । एकपटक हाम्रा नेताले रुवान्डाको विकास हेर्न जानु नि ।’

नेपालका नेता र पत्रकार जस्तै त्यहाँ पनि


एनआरएनएको पहिलो दिनको उद्घाटनमा युगाण्डा सरकारका तर्फबाट डिस्टिक कमिस्नार श्रीमती हावा नामुजेनीको विशेष आत्थ्यिता रहेको थियो । नेपालमा जस्तै उनलाई पनि अन्तिम पटकमा बोल्न दिइयो । उनले धैर्य गरेर झण्डै ३–४ घण्टा बैठकमा बिताइन् र अन्तिममा बेलुकाको खाना खाएरै फर्किन् । पत्रकारहरु पनि त्यस्तै लाग्यो । उद्घाटनका लागि भनेर आएका पत्रकारहरु अन्तिम सम्म बसे । अर्कोदिन पनि बिहाँन १० बजे आएका पत्रकारहरुले बैठकलाई अत्यन्तै महत्व दिदैं लाइभ प्रसारणनै गरे । बेलुका कार्यक्रमको अन्तिमम सम्म बसेर युगाण्डालीबीच नेपाल र नेपाली चिनाउने महत्वपूर्ण भूमिका खेलेका थिए त्यहाँका पत्रकारहरुले भन्दा फरक पर्दैन् ।

नेपालको झल्को मेटाउने युगाण्डा
बढीमा २८ र घटीमा १६ डिग्री रहने युगाण्डाको मौसममा डिसेम्बरमा हामी त्यहाँ पुग्दा गाउँघरमा फल्ने जस्तै रुख कटहर पाकेका थिए । गाडि रोकिएको बेलामा मलेखुको सडकमा हात–हातमा पानी, माछा र मकै बेचेजस्तो गरी स्थानीयहरु मकै र माछा बेच्न हिडेको देखिन्थ्यो बाटोमा । बारीमा भुँइ कटहर (पाइनापल) पाकेका थिए । त्यस्तै हामीले यहाँ भन्ने गरेको सिमल तरुलको बोट पनि घर–घरमा लगाइएको देखिन्थ्यो । त्यहाँको मुख्य फल प्यासन फुड रहेछ (सायद हाम्रोमा त्यसलाई लहरे आँप भनिन्छ ।) घर–घरमा आँपको बोट र आँप पाकिरहेको देखिन्थ्यो । खुर्सानी पनि नेपालको जस्तै स्वाद थियो । आँप पनि काठमाडौंमा होइन कि नेपालका गाउँघरमा पाकेको जस्तो मिठो स्वाद थियो । नेपालमा पनि युगाण्डाबाट आँप आएको समाचार पढेको थिए, तर स्वाद लिने मौका मिलेको थिएन । साँच्चै मिठो थियो युगाण्डाको आँपको स्वाद । पानी परेको ५ मिनेटमै बस्ने र माटो सरर भिजाएर सितलता दिएको महसुस हुन्थ्यो । कम्पलाबाट जिन्जा जाने बाटोको छेउँमा चियाबारी, भारतीय उद्योगपतिका उँखुबारी टन्नै देखिन्थ्यो । साथीहरु औलाले बताउँदै भन्दै थिए, ‘जुही चावलाको श्रीमानको हो, यो उखुखेती ।’

युगाण्डाको प्रमुख पर्यटकीय क्षेत्र


सगरमाथाको देश, बुद्धको देश र पशुपतिको देश भनेर नेपाललाई चिनेजस्तै युगाण्डालाई नाइल नदीको मुहान भएको देश भनेर पनि चिनिदो रहेछ । युगाण्डाको जिन्जा सहरमा रहेको नाइल नदीको मुहान हेर्नका लागि दिनहुँ सयौंको संख्यामा पर्यटकहरु पुग्दा रहेछन्, हाम्रो फेवातालमा जस्तै मोटर बोट चढेर मुहानसम्म पुगेर त्यहाँ फोटो खिचेर फर्कने मिल्ने व्यवस्था गरिएको रहेछ । त्यहाँ एनआरएनए युगाण्डाका अध्यक्ष तथा स्याङजाका युवा राजमणि भण्डारीले रेष्टुरेण्ट खोलेका रहेछन् । नाइल नदीको मुहान घुमेपछि उनकोमा खाना खाएर फेरि अन्य ठाउँका लागि हिडेका थियौं ।

युगाण्डाको राष्ट्रिय खाना ‘उगाली’

युगाण्डाको अर्को पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात भएको लेक भिक्टोरिया पनि रहेछ । इन्टवेमा रहेको लेक भिक्टोरियामा दैनिक ६ सय भन्दा बढी पर्यटक टिकट काटेर समुद्र हेर्न जाँदा रहेछन् । त्यहि छेउको केकोटेल्स होटेलमा जनरल म्यानेजरको रुपमा कार्यरत छन् स्याङजाका जीवनाथ पंगेनी ।


त्यस्तै पर्यटनको अर्को मुख्य आधार इक्वेटर (पृथ्वीको भुमध्ये रेखा) त्यहाँ पनि हाम्रो बसन्तपुर र भक्तपुरमा जस्तै पर्यटकहरुको ओइरो लाग्ने रहेछ । त्यस्तै ःMurchison falls national park, Kidepo valley national park Queen Elizabeth national park  लगायत पनि युगाण्डाका प्रख्यात पर्यटकीय क्षेत्र हुन् । यहाँ वाइल्ड टुरका लागि प्रख्यात मानिन्छ ।
पर्यटनलाई नै देशको मुख्य आर्थिक आधार मानेको युगाण्डामा २०१३ मा १.४ बिलियन अमेरिकी डलर पर्यटन क्षेत्रको योगदान रहेको बताइन्छ ।  अर्को कुरा गरिवीसँग लड्नका लागि पर्यटनलाई मुख्य क्षेत्र बनाएको छ युगाण्डा सरकारले । २०१७ मा १४ लाख ५९ हजार पर्यटक भित्राउने योजना सार्वजनिक गरेको युगाण्डाले २०२७ सम्ममा २४ लाख ८६ हजार पर्यटक आफ्नो देश भित्राउने लक्ष्य राखेको बताइन्छ । युगाण्डालाई अफ्रिकाको मोती (pearl of Africa) पनि भनिन्छ ।

कालिमाटीको जस्तै तरकारी बजार


युगाण्डाको जिन्जामा हाम्रै कालिमाटीको जस्तै तरकारी तथा फलफूल बजार रहेको छ । त्यसको नाम जिन्जा सेन्ट्रल सुपरमार्केट हो । त्यहाँ स्थानीय किसानले आफ्ना उत्पादन आफै बजारमा लगेर बेचिएको देखियो ।

नेपालको जस्तै केरा

बजारमा हामीले तरकारी तथा पसल गरिरहेकाहरुसँग फोटो खिच्न अनुमति माग्यौ । तर, उनीहरुले दिएनन् ।

 

हाम्रो बसन्तपुरमा जस्तै फोटो खिच्दा पैसा माग्ने केटाकेटी जस्तै त्यहाँ पनि फोटो खिचेको ५ डलर र १० डलर रुपैयाँ मागियो । झुक्याएर फोटो खिच्दा क्यामेरा खोस्न आउने र गाली गर्नेहरु धेरै थिए ।

 

भरीयाको भूमिकामा जीवा सर
एनआरएनएका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने पनि एनआरएनए अफ्रिका बैठकमा उपस्थित हुनुहन्थ्यो । इन्टवेको लेक भिक्टोरिया घुमेर जीवनाथ पंगेनीजीको होटलमा खाना खाएपछि हामी हतार–हतार एयरपोर्टतिर लाग्यो । हामी दिनभरी घुमेको बसमै जीवा सर कम्पला फर्कने हुनुभएकोले त्यहि बसमै एयरपोर्ट पुग्नु भयो । उहाँ पनि हामीलाई छो्डन एयरपोर्ट भित्र जानु भयो । युगाण्डा ओर्लदा सहजरुपमा एयरपोर्टभित्र पसेका हामी फर्कने बेलामा भ¥याङ चढेर माथिल्लो तलामा पुगेपछि मात्र सुटकेस गुडाएर लैजान मिल्दो रहेछ । अब हामीले सुटकेश बोक्न भरिया खोज्नुपर्ने भयो । तर,सरल र सहज जीनशैलीका धनी व्यक्तित्व जीवा सरले बडेमाको सुटकेश बोकेर भ¥याङ चढ्न थालेपछि हामी पनि सुटकेश उचाल्दै उहाँको पछि लाग्यौं । स एयरपोर्ट भित्र चेकिङका क्रममा हेमन्त दवाडी सरले मनि पर्स नै छाडेर हिड्नु भएछ । तत्कालै त्यहाँका कर्मचारीले मनि पर्स ल्याएर दवाडी सरको हातमा राखिदिएर ‘इमान्दार युगाण्डीयन’ भन्ने परिचय  अन्तिम यात्रामा दिएका थिए ।

प्लेनभित्र आत्मग्लानी
कोही पनि मान्छेले उसको अनुहार हेरेर धारणा बनाउँदा पछुतो लाग्दो रहेछ भन्ने युगाण्डाबाट फर्कने क्रममा महसुस भयो । मेरो सिटको छेउमा एक युगाण्डाली नागरिक थिए । उनी काला न काला अग्ला थिए । उनको छेउँमा बस्न असहज लाग्यो । कस्तो हो कस्तो भन्ने लागेर उनको सिट र उर्मीलाको सिट साटेर हामी दुईजना सँगै बस्यौ । उर्मिला मेरो छेउँमा आएपछि म ढुक्क भए । तर पछि कुरा गर्दै गयौं । उनले युगाण्डा र युगाण्डाली नागरिकको राम्रो परिचय दिए । उनी दुवईमा काम गर्दा रहेछन् । विदामा घर गएर आएका उनले हामीलाई युगाण्डाको कुन–कुन ठाउँ घुम्यौ भनेर सोधे, हामीले भिक्टोरिया लेक, नाइल नदीको मुहान, इक्वेडर भनेर जवाफ दियौं । उनले मुख्य ठाउँ त घुम्नै भुलेछौं भनेर त्यहाँका नेशनल पार्कका बारेमा बताए । अनि हामी कहाँ बसेको भनेर सोधे, हामीले, होटल स्पेक भन्दा उनले भने, ‘त्यति महँगो होटलमा बस्यौ, तिमीहरुलाई मैले चिनेको भए त मेरै घरमा लगेर राख्थे घुमाउथे भनेर आफ्नो उदारमनाको परिचय दिए । मलाई लाग्यो मैले सिटमा सँगै बस्न समेत अप्ठ्यारो मानेको व्यक्तिले आतिथ्य सत्कार यसरी गर्नुपर्छ भनेर मैलाई सिकायो भन्दै केही क्षण आत्मग्लनि समेत भयो । त्यो घटनाले वास्तवमा मुहार र जिउडाल भन्दा पनि मनभावसँगै संगत गर्नुपर्छ भन्ने सिकाएको थियो ।

अन्तमा :

मैले जानुपूर्व अफ्रिकाका बारेमा जे सोचेको थिए, त्यसको ठिक विपरीत रहेछ अफ्रिकाको युगाण्डा । सायद त्यहाँका बारेमा अन्तराष्ट्रिय मेडियामा नकारात्मक समाचार मात्र आउने भएर हाम्रो मानसिकता पनि त्यस्तै बनेको होला भन्ने महसुस मैले गरें । हामी जस्तै गरिव नै अथवा हामी भन्दा गरिव मानिएको देश अफ्रिकाको युगाण्डा विकासको चरणमा अघि बढिरहेको छ । सभ्य मानिसहरु, चिटक्क परेका घरहरु, ७ दिन युगाण्डा बस्दा त्यहाँको बाटोमा कतै फोहोर फालिएको देखिएन । घरभित्रको फोहोर सफा गर्दै बाहिर ल्याएर फ्याक्ने, बाटोमा जथाभावि थुक्ने, करोडौंको गाडी चढेर चुरोटको ठूटा सडकमा फ्याक्दै हिड्ने, मानिसहरुसँग ठोक्किदै हिड्दा पनि माफ गर्नुहोला या ‘सरी’ नभन्ने, जेव्राक्रस छाडेर जथाभावि बाटो काट्ने, ट्राफिक नियमको पालना नगर्ने हामी धेरै नेपालीहरुको बानी छ । तर, त्यहाँ त्यस्तो केही पनि देखिएन ।त्यहाँको सरकार कृषि र पर्यटनलाई विशेष आधार बनाएर देशको आर्थिक समृद्धिको लागि लागिपरेको छ । यहाँका किसानले जस्तो त्यहाँका किसानका उत्पादनले बजार नपाएर फ्याक्ने अवस्था छैन । सकेसम्म आफ्नो देशलाई पु¥याएर निर्यात समेत गरेको छ । युगाण्डाको आप हामीले नेपाली बजारमा पनि किनेर खायौं ।

फिनल्याण्डमा रहनु भएका जगन्नाथ काफ्लेजीले युगाण्डाबाट आएको खुर्सानी भन्दै कार्टुन सहित राखेर हामीले पनि केही निर्यात गरौं भन्ने सन्देश दिनु भएको थियो । त्यहाँका किसान संघका नेताहरुले कृषिमा लगानी गर्नुहोस र हाम्रा युवालाई रोजगार दिनुहोस् भनेर एनआरएनएको बैठकमै आएर भनेका थिए । त्यस्तै पर्यटन क्षेत्रमा लगानी गर्न मात्र होइन, उद्योग धन्दा खोल्न समेत सहयोग गर्ने त्यहाँका मन्त्रीहरुको पनि प्रतिवद्धता रहेको थियो ।

युगाण्डाको ‘बोडा–बोडा’

यस्तो भयो एनआरएनए अफ्रिका बैंठक, के भन्छन् त सहभागीहरु ?

वि.सं.२०७५ फागुन ११ शनिवार ११:३८ मा प्रकाशित