३० फागुन, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री र गृह मन्त्री राम बहादुर थापाप्रति आक्रोशसहित ‘केपी बादल कम्पनी’ले आफ्नो पार्टी माथि दमन गरेको आरोप लगाउँदै त्यसको मुखतोड जवाफ दिने बताएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपाले देशभरी ध्वंशात्मक गतिबिधि गरेको भन्दै उसका सबै गतिबिधि प्रतिवन्ध गर्ने निर्णय गरेसँग विहिबार विज्ञप्ति जारी गरेर विप्लवले प्रतिबन्धको यस्तो जवाफ दिएका हुन् ।
‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइनेछ ।’ महासचिव विप्लवद्धारा विहिबा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
उनले भनेका छन््–‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ ।’
विज्ञप्तिमा भनिएको छ
‘सबै नेपाली नागरिकलाई थाहा छ–एमाले, कांग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता,कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ । हामीले दलाल पुँजीवादी सत्तलाई अस्वीकार गर्दै महान् जनयुद्धको आदर्शमा हिँड्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउने प्रतिज्ञा गरेका थियौँ । सोही विचारअनुरूप हामीले २०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो ।
हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ । हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेट (पहिले जङ्गलमा भन्ने आएको थियो) मा लगेर गोली हानिएको छ । सयौँजना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको छ । झूट्टा मुद्दा व्यापक लगाइएको छ । रोल्पा, कपिलवस्तुलगायत जिल्लाहरूमा प्रहरी अप्रेसन चलाइएको छ । यस्तो परिस्थितिमा बाहिर प्रतिबन्धको घोषणा गर्नु भनेको हाम्रा लागि कुनै नयाँ र ठूलो कुरा होइन । क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फासिवादी दमन, हत्याहिंसा लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो । केपी—बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ ।
जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ शहीद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।
दलालहरूले जहिले पनि आफ्नो तुच्छ स्वार्थका लागि राज्यका अङ्गहरूलाई जथाभाबी जनताका विरुद्ध प्रयोग गर्दै आएका छन् तर उनीहरू कहिल्यै पनि सफल भएका छ्रैनन् । केपी—बादल कम्पनीले पनि यही आपराधिक षड्यन्त्र गरिरहेको छ । यसप्रति सबै देशभक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकारसहित प्रहरी र सेनाको पनि उचित ध्यान जाओस् भन्नेमा हामी विशेष आग्रह गर्दछौँ ।
जहाँ सम्म अरुण ३, ऐनसेल, म्यानपावर सप्लाई कम्पनीमाथिको कारबाही हो, ती हामिले गरेको हो र त्यसलाई राज्यले अपराधि भन्छ भने जनताले बुझ्नुपर्छ अरुण ३ जस्तो राष्ट्रघाति सम्झौता गरेर अर्बौ कमिसन खाने अपराधि केपी बादल कम्पनी रहेछ । हाम्रा हजारौं दिदी बहिनीहरुलाई विदेशी बजारमा आलुसरी बेचेर हुर्मत लिने अपराधि यिनीहरु नै खुलेआम अर्बौ रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरु नै रहेछन यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधिमाथि हुनुपर्छ । यो कारबाहीलाई केपीले लगातार चन्द्यामा लगेर जोड्नु भनेको भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदांगो खेल मात्र हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो । यसप्रति कोही पनि भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ ।’
वि.सं.२०७५ फागुन ३० बिहीवार ०८:५२ मा प्रकाशित





























