back
CTIZAN AD

नयाँवर्षको स्वागत गर्दै साइप्रसमा भव्य कार्यक्रम सम्पन्न

वि.सं.२०७६ वैशाख ४ बुधवार

876 

shares

गैरआवासीय नेपाली संघ एनआरएनए साइप्रसको संयोजनमा राजधानी निकोसियामा भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्ष २०७६ सालको स्वागतमा अप्रिल १४ मा आयोजित कार्यक्रममा नेपालबाट सहभागी गायकद्वय सबिन लिम्बु र सुरेश लामाका साथमा साइप्रसमा रहेका स्थानीय नेपाली प्रतिभाहरूले पनि आफ्नो रमाइलो प्रस्तुति दिएका थिए ।

निकोसियास्थित टिक्रिस प्यालेसमा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा सयौं नेपालीहरूको उपस्थिति रहेको थियो ।


साइप्रसमा आई विभिन्न कारणले रोजगारदाताहरूको घर छोड्नुपर्ने वाध्यतामा रहेका हाउसमेड नेपाली कामदारका लागि अल्पकालीन रूपमा आश्रय दिन सेफ हाउस सञ्चालन गर्न कोष जुटाउने उद्देश्यले आयोजना भएको कार्यक्रममा गायकद्वय लिम्बु र लामाले आफ्ना दर्जनबढी गीतहरू प्रस्तुत गरेर माहौल अविस्मरणीय बनाएका थिए । गायक लिम्बुले आफ्नो लोकप्रिय गीत ‘मभन्दा नि धेरै राम्रो पायौ होला र त ।’ बाट आफ्नो प्रस्तुति सुरू गरेर दर्शकदीर्घालाई उचालेका थिए । साथमा उनले अन्य गायकहरूका लोकप्रिय गीतहरूलाई कभर गीतका रूपमा पनि प्रस्तुत गरेका थिए । लिम्बुपछि स्टेजमा उत्रिएका गायक सुरेश लामाले नेपाली चलचित्रमा आफूले पहिलोपटक पास्र्व स्वर दिएको जोनी जेन्टलम्यान चलचित्रको लोकप्रिय गीत ‘जब जब तिम्रो साथ मिल्दैमिल्दै गयो धरोधर्म मेरो जीवन कायापलट भयो’ बाट आफ्नो प्रस्तुति सुरू गरेका थिए । उनले आफ्ना पनि केही लोकप्रिय गीतहरूका साथमा अन्य कलाकारहरूका लोकप्रिय गीतहरू गाएर दर्शक नचाएका थिए ।

यसैगरी हाम्रा स्थानीय प्रतिभाहरु र्यापर आकाश तामाङ, अनि नृत्यतर्फ शुष्मा ओली ‘आँखैमा लाउने गाजल’, सहारा लोप्चन ‘मलाई आँखैको परेलीमा गाजल लाउन मनपर्छ’, सुशील सुनार ‘नेपाली झ्याउरे गीत’, सुनी तामाङ ‘कहाँ गयो जुरेली किन गीत गाउदैन’, लुइसा तामाङ ‘मेन्दोला मेन्दोला तामाङ सेलो’, शुभद्रा शर्मा ‘लालुमै भाका’ अनि नानु गोम्जा ‘गुराँस फूल्दा वनै घमाइलो’ तथा ह्याल्मो युनिटी र अन्यले लोभ लाग्दो प्रस्तुति दिएका थिए ।

सोही काक्र्रममा साइप्रसमा नेपालबाट आउने महिला कामदारबाट साइप्रस सरकारले सामाजिक सुरक्षा योजनाका नाममा मासिक रूपमा कट्टी गर्ने रकम कामदार महिलाले स्वदेश फर्किने बेलामा फिर्ता पाउनु पर्ने मागको पहलका निम्ति हाउसमेड भिसामा साइप्रस आएका महिला कामदारको हस्ताक्षर सङ्कलन पनि गरिएको थियो । सङ्कलित हस्ताक्षर साइप्रसका लागि गैरआवसीय नेपाली राजदूत अञ्जान शाक्यमार्फत नेपाल सरकारलाई बुझाइने एनआरएनए साइप्रसका अध्क्षय सुवास मल्लले जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा केही साताअघि मध्य तराईका बारापर्सा लगायतका जिल्लामा आएको आँधीबाट पीडितहरू लागि सहयोग जुटाउने उद्देश्यले चन्दा सङ्कलन पनि गरिएको थियो ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १२:२७ मा प्रकाशित