२५ कात्तिक, मेलम्ची । कृषिमा जिल्लामै उदाहरणीय काम गरेको भन्दै जिल्ला कृषि विकास कार्यालयले नगद र प्रमाणपत्रसहित मेलम्ची नगरपालिका–१२ का लेखनाथ खतिवडालाई सम्मान गरेको छ ।
खाद्य दिवसको अवसर पारेर बुधबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी अन्तर सिलवालले नगद रु तीन हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।
खतिवडा दुई दशकदेखि मेलम्ची नगरपालिका—१२ शिखरपुरमा आधुनिक कृषि प्रणालीअनुसार तरकारी खेती गर्ने अग्रज कृषकका रुपमा परिचित हँुदै आउनुभएको छ । आधुनिक कृषि प्रणालीअनुरुप स्वदेशमा रही कृषि गर्ने हो भने आफ्नै जन्मभूमिमा राम्रो उत्पादन हुने र यसका साथसाथै देशको आर्थिकस्तर पनि माथि उठ्ने खतिवडाको ठम्याइ छ । आज लाखौँ युवा कामको खोजीमा विदेसिनु दुःखद रहेको भन्दै युवाले समेत आधुनिक कृषिका लागि स्वदेशमा लक्षित हुनुपर्ने खतिवडाले बताउनुभयो ।
उहाँले मौसमी तथा बेमौसमी गरी दुई याममा उत्पादन गरेको काउली, बन्दाकोभी, गोलभेँडालगायत तरकारीबाट वार्षिक रु चार लाखभन्दा माथि आम्दानी हुने जानकारी दिनुभयो । रासस
वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०४:१५ मा प्रकाशित