back
CTIZAN AD

‘साना किसानहरुलाई निर्वाहमुखी भनेर राज्यले ध्यान दिएको छैन’

वि.सं.२०७६ वैशाख १२ बिहीवार

684 

shares


कृष्ण पौडेल ‘पालुवा’

 

मुख्य समस्या भनेको राज्य किसान कहाँ पुग्दैन । किसान राज्यसम्म पुग्न सक्दैनन् । अनुदानका थुप्रै कुरा मिडियामा आउँछन् तर प्रायः उत्पादनमुखी किसानले भन्दा पहुँचवाला र्फम वालाले नै अनुदान र सहुलियत ऋण पाउँछन् । कतिपय ब्यावसायिक नाममा खुलेका फर्महरु पाउने जति अनुदान पाईसकेपछि बन्द हुने गरेका छन् । उत्पादनलाई स्थिर बनाउन नागरिकलाई पेशा प्रति आर्कषण गर्न सक्नुपर्दछ । साना किसानहरुलाई निर्वाहमुखी भनेर राज्यले खासै ध्यान दिएको देखिन्न । फर्म हेरेर होइन उत्पादन हेरेर प्रोत्साहन गर्ने हो भने किसान आफै उत्प्रेरित हुने थिए ।

अनुत्पादक गाईबाच्छालाई निकासी अनुमति दिने, कृषकको उत्पादन खरिद गर्न सरकारले ग्यारेन्टी गर्ने, अनुदान र ऋण स्थानियस्तरबाट नै उपलब्धता गराउने, प्रत्येक स्थानिय निकायमा पशु प्राविधिक, सेवाकेन्द्र र औषधी पु¥याउने, काम सरकारले गर्ने र किसानहरुले सहकारी वा समूह मिलेर आफ्नो उत्पादन आफै बजारिकरण गर्ने तथा उपभोग्य बस्तु त्यसरी नै आयत गर्ने हो भने समस्या केहि हद सम्म समाधान हुने थिए ।

‘समृद्धी हाम्रै पालामा, समृद्ध नेपाल र सुखी नेपाली’ हरेकको मुखमा झुण्डिएका शब्द हुन् तर समाज उत्पादनमुखी बन्न सकेन भने फगत नाराले केहि हुँदैन । राज्यले काम गर्ने उमेर समुहका युवा हरुलाई कामका क्षेत्रको पहिचानमा परामर्श दिने, सहुलियत दरमा ऋण लगानी गराउने र प्राबिधिक पाटो उपकरण र तालिम मा सहजिकरण गर्नु पर्छ । एकपटक दिईने अनुदान भन्दा दिर्घकालिन रुपमा स्थापित हुने परिपाटीमा राज्यले लगानी गरे राम्रो हुनेछ ।

तपाई कसरी प्रवास पुग्नुभयो ?
मेरो बुवा भारतिय सेनामा हुनुहुन्थ्यो तर उहाँले हामीलाई बिदेश जानुहुदैन भनेर सिकाउनु भयो । त्यसैले पनि होला मलाई बाल्यकालमा बिदेशजाने भनेपछि घृणा लाग्थ्यो । राम्रो पढ्छु र देशमा नै केहि गर्दछु भन्ने मेरो बिस्वास थियो । २०४६ को परिवर्तन पछि राजनिति अति उर्जिखल बन्यो । त्यस्को प्रभाव हाम्रो पढाईमा पनि पर्यो । एसएलसी परिक्षमा राम्रो गर्न नसके पछि अब छुट्टै केहि गरिहाल्नु पर्छ भन्ने हुटहुटी लाग्यो । मेरो पहिलो प्रथामिकता पसल थियो । मैले सबै गृहकार्य सहित बजेट पनि तयार पारेको थिए । तर आर्थिक कारणले योजना पुरा हुन सकेन । त्यसैबेला भारतको मद्रास (हाल चेन्नई) बाट मामा आउनुभएको थियो शुरुमा उहाँले सहयोग गर्छु पनि भन्नुभयो पछि फेरि उतै जाऊ केहि सिप सिकेर छिट्टै फर्कनु होला भन्ने प्रस्ताव भयो । म मामा संगै प्रदेश पस्ने निर्णयमा पुगे ।
त्यतिबेला म म भरखर १७ बर्षको थिएँ । खै किन हो कुन्नी मलाई छिट्टै केहि बन्ने उत्साहले प्रवास पु¥यायो । कमजोर अंग्रजी, हिन्दी र स्थानिय तमिल भाषा नजान्ने म त्यो ठाउँमा गुफा भित्र छिरे जस्तै भएँ ।

सुरुमा प्रवासको पीडा कस्ता रहे ?
प्रवासका थुप्रै असहजता भित्र कैले गित लेख्थे कहिले कविता । सिमनापारी, दक्षिणको हुँकारमा लेख्दालेख्दै म पौडेलबाट स्वतफुर्त पालुवामा कसरी रुपान्तरण भए पत्तै भएन । त्यसपछि मैले अर्जुन भाटसंग मिलेर दक्षिणको आवाज भन्ने मासिक पत्रिका चेन्नईबाट केहि समय सम्पादन गरँे । अलि अलि त्यहाँको भाषा र भूगोल बुझेपछि म बाहिर निस्कन थाले । प्रवासी नेपाली संघ भारतमा संगठित भएपछि फराकिलो ढंगले काम गर्ने मौका मिल्यो । साथीहरु कै सल्लाहमा Annamalai University मा खुला विश्वबिद्यालय तर्फ भर्ना भएर ब्याचलर र मास्टर पनि गर्न भ्याएँ । समय र परिस्थितिले नेपाली समुदायको बिचमा स्थापित गरिदियो । राष्ट्रका महत्वपूर्ण नेतृत्वहरुको नजिक भएर छलफल गर्ने मौका पनि जुर्यो । भारतका स्थापित नेपाली संगठन मध्येको अग्रणी संगठनको केन्द्रीय नेता हुँदै तत्कालिन नेकपा एमालेको प्रवास क्षेत्रबाट अञ्चल कमिटी सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सम्मको जिम्मेवारी बहन गर्ने अवसर पाएँ । पेशामा चौकिदारबाट स्टेट इञ्चार्ज (तमिलनाडु राज्यको सम्पूर्ण व्यावसायिक जिम्मा सहित) बने केहि समय आफ्नै बिजनेस पनि सञ्चालन गरे ।

नेपाल फर्कने मन कसरी पलायो ?
प्रवासको बसाई धेरै नै आरमदायी थियो तर भावी पुस्ताको लगाव नेपालबाट नछुटोस भनेर नै म २३ बर्षे बिदेश बसाईलाई बिट मार्दै देश फर्के ।
लामो प्रवास बसाईमा मेरा बच्चाहरु बढिसकेका थिए । उनीहरुलाई नेपालको बारेमा खासै चासो थिएन यद्यपी हामी सामाजीक काममा लाग्ने, घरमा नै प्रायः बैठक भेलाहरु हुने र बिभिन्न समयमा हुने साँस्कृतिक कार्यक्रमको प्रभाव तथा घरमा प्रयोग गरिने नेपाली भाषाले गर्दा उनिहरु थोरै मात्रमा नेपाल प्रति उत्साहीत हुन्थे । जब आचार्य बालकृष्ण जस्तो स्थापित मानिसलाई त स्वार्थ नमिल्दा राष्ट्रियता को सवालमा तानिन्छ भने जतिसुकै सुबिधा सम्पन्न भए पनि अप्ठ्यारो मा मेघालय/आसामकै अवस्था फेरि दोहोरिन्न भन्न सकिन्न । त्यसैले सन्ततीलाई आफ्नै माटोमा स्थापित गराउनु पर्छ भन्ने मेरो मान्यता रह्यो । त्यहि सोचले मलाई देश फर्कायो ।

म्यानेजर भएर बस्नुभएको मान्छे गाईपाल्दा आफन्त र समाजको दृष्टिकोण कस्तो रह्यो ?
गाई पाल्ने उद्देश्यबाट नेपाल फर्कनु चुनौतीपूर्ण थियो । फर्कि सकेपछि मसँग जस्को पनि भेट हुन्थ्यो सबैका प्रश्न एउटै खालका हुन्थे । साइनो र उमेर अनुसार सम्बोधन भए पनि सोधिने प्रश्न, कहिले आउनुभयो ? कहिले फर्किने त ? जब म नफर्कने कुरा गर्थे सबैको एउटै जिज्ञासा हुन्थ्यो के नेपाल बसेर पुग्छ तपाईलाई ? सक्नु हुन्छ ? उता राम्रै थियो त तपाईको ? सकुन्जेल उतै गर्नुपर्छ । आदी इत्यादी सुझाव सल्लाह र प्रश्न साथी, इष्टमित्र र आफन्तका मात्र थिएनन् परिवार भित्रै पनि थिए । कहिले काहि बच्चाहरु नै प्रश्न गर्थे यदि गोठ धन्दा नै गर्नु थियो भने पैसा खर्च गरेर मास्टर डिग्री गर्नु को के अर्थ ? भो फेरि उतै जानु मेरो बुवा म्यानेजर हो भन्दा जस्तो हामीले गाईपालेर बसेका छौ भन्दा पक्कै गौरव हुने थिएन बच्चाहरुलाई ।

ती सबै कुरालाई चिर्नुभयो ?
हामी नेपालीको सोच नै अस्थिर छ । कमाईको नाममा आफ्नो परिवार र देश छोडेर बिदेश पस्दा अझ उतै बिलाउन सक्ने गरि कार्डहरु बन्दा बधाई र फूलमालाले स्वागत गर्ने हामी किन आफ्नो देशमा केहि गर्न सकिन्न भन्ने सोच्छौँ । मेरै बारेमा कुरा गर्दा जव म मात्र १७ बर्षको थिए कानूनी रुपमा जागिर खाने उमेर पनि भएको थिएन जतिबेला म बिदेश पसे तर सबैको सहमति थियो । सद्भाव थियो र सबैले सम्भावना देखिरहेका थिएँ । म कहाँ जाँदैछु, त्यहाँ पुगेर के गर्ने केहि थाहा थिएन । न भाषाको ज्ञान नै थियो । त्यस्तो आवयश्क नादान अबस्थामा प्रवास पस्दा ढुक्क हुने परिवार र समाज किन फर्किदा निरुत्साहित देखिन्छ यो एउटा गम्भिर अनुत्तरित प्रश्न हो र प्रवासदेखि पशुपालन सम्मको मेरो यात्रा यहि अनुत्तरित प्रश्नको उत्तर खोज्दै संघर्षरत छ ।

कस्तो लाग्छ अहिले गाईपालन व्यवसाय रोजेकोमा ?
मैले रोजेको व्यवसाय गाईपालन व्यवसायको हिसाबमा नराम्रो भन्न मिल्ने ठाऊँ छैन । उत्पादनशिल र नाफामुखी ब्यवसाय नै हो । तर अहिलेको प्रतिस्पर्धात्मक समयमा अलि भाउ नपाउने पेशा नै हो । धेरै मिहेनत लाग्ने र प्रायः फुर्सदिलो भएर चट्ट परेर हिड्न नपाइने भएरै होला अझै पनि गाई पालेको छु भन्दा मानिसहरु ब्यवसाय गरेको छ भन्ने ठान्दैनन् । कतिपयले मेरो बिगतको जीवन शैली संझाउदै बिचराको रुपमा पनि हेरेको पाउछु । यद्यपी मलाई भने पेशा प्रति गर्व छ । अझै सिकाई कै क्रममा छु । स्तरिय गाई फर्म निमार्ण गरेर अघि बढ्ने सोचमा छु ।

कृषिमै लाग्नुको तपाईको मुख्य उद्देश्य के हो ?
कृषि पेशामा लगाव बढ्नुमा चाँहि पहिलो कारण – म जहाँ बस्थे भारतको तमिलनाडु राज्य एक हिसाबले सुचना प्रबिधिको हब नै हो । प्रायः बहुराष्ट्रिय कम्पनीमा काम गर्ने क्षमतावान श्रमशक्ति भएको ठाँउ हो । मैले तयारी पोशाकका बिभिन्न ब्रान्ड Levi’s, Live In, Crocodile, TWILLS हरुमा काम गर्ने दौरानमा २००७ देखि २०१० सम्मको बिकास र २०११ देखि २०१५ सम्मको अबरोहको अध्यान गरे । मौसमी सुख्खा र कावेरी पानीको अभावमा कृषि कमजोर हुदाँ बढेको खाद्यपदार्थको महँगीले समग्र अर्थब्यावस्था र बजारलाई नै प्रभावित गर्यो भन्ने लाग्यो । जस्ले गर्दा कृषि महत्व बुझे र पेशा प्रति म मोहित भएँ ।
दोस्रो म बिदेशबस्दा राम्रो कमाई भए पनि सञ्चित रकम खासै थिएन । देशमा फर्किएर केहि गर्नु पर्छ भन्ने त थियो नै तर के गर्ने अन्योलनै थियो । आफुले जानेको बजार ब्यावस्थापन र लामो समय तयारी पोशाक ब्यापारमा लागेकोले त्यहि थियो तर अनुभव लाई कार्यन्वयन गर्न अलि अधिक आर्थिक चाहिने । नेपाल जस्तै भूगोल भएको तमिलनाडुका हरेक कुना पुगेको म दुई दशक भन्दा बढि समय देश बाहिर रहकोले नेपालको परिवेशमा नयाँ जस्तै बने । त्यसैले यहाँको परिबेश बुझ्न समय लाग्नेनै भयो । त्यसैले बिना अध्यान अलि असशज होला भन्ने लाग्यो । यद्यपी गाईपालन पनि मेरो जानकारीको क्षेत्र थिएन तर सकिन्छ भन्ने लाग्यो । लगानी र प्रतिफल प्राप्तीको समय गणना प्रमुख कारण हो ।
तेस्रो – गायक पशुपति शर्माको “मलाई अमेरिका यहि….” भन्ने गितले पनि प्रभावित गरेको हो ।
यसबाहेक म आबद्ध संगठनको साताँै अखिल भारत सम्मेलनले जहाँबाट म केन्द्रीय सचिव निर्वाचित भए, त्यस्को मुल नारा नै “पूँजि प्रबिधि, सिप र ज्ञान, देश भित्र्याउने हाम्रो अभियान” थियो । यस बिषयमा केन्द्रीत भएर धेरै ठाँउमा अरुलाई उत्प्रेरित गर्दा आफू झनै उत्साहित हुनु स्वभाविक थियो ।
यिनै बिषयलाई आत्मसात गर्दै लगानीको तत्काल प्रतिफल लिन सकिने क्षेत्रको खोजी गर्दा मलाई गाई पालन राम्रो लाग्यो र यतैतिर लागे ।

कति लगानी गर्नुभएको छ ?
म पेशाको शुरुवाती क्रममा नै छु । खासै ठूलो लगानी गरेको छैन । केहि रहलपहल उताको भए पनि यतैबाट पहल थालिएको हो । चितवनको केशरवाग, गितानगर नेपालमै गाईपालनमा पहिचान बनाएको क्षेत्र हो । यसैको प्रभावले पनि मलाई उत्प्रेरित गरेको हो । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि. को शेयर सदस्य बनेपछि संस्थाकै पहलमा आएको युवा स्वरोजगार कोषबाट दुई लाख ऋण लिएर शुरु गरेको व्यवसायमा हाल माउ बाच्छीसहित संख्या ८ छ, भने । दिनमा अधिकतम ६० लिटर सम्म दूध उत्पादन भएको छ । यो पर्याप्त त होइन तर मेरो व्यवसायको त्यो कोशेढुंगा नै हो भन्दा फरक नपर्ला ।

नाफा पनि प्राप्त गर्न सुरु गर्नुभयो ?
खासै ठूलो लगानी नगरी शुरु गरेको व्यवसायमा नाफा त नभनौँ तर लगानी भन्दा कुल व्यवसाय बढि भईसकेको छ पछिल्लो एक बर्षको अन्तरालमा । राम्रो नै मान्नु पर्छ । व्यवसायिक मापनको आधारमा यस्लाई ।

कत्तिको चुनौतीपूर्ण व्यवसाय हो गाईपालन ?
इच्छा शक्ति र काम गर्न अप्ठ्यारो नमान्ने हो भने गाईपालन खासै कठिन छैन । पूर्वाधार निमार्णमा वा प्रबिधिमा खासै ठूलो लगानी गरिहाल्नु पर्छ भन्ने छैन । तर रेखदेख, आहार र समय खटन को नियमित गर्न नसक्नेलाई यो कठिन पेशा हुन सक्छ । पसल एकदिन सूचना टाँगेर बन्द गर्न सकिन्छ, जागिरमा एक/दुई दिन छुट्टी लिन सकिन्छ तर गाईपालन पेशामा त्यो संभव छैन ।
सबै पेशाहरुमा संभावना र चुनौती उत्तिकै हुन्छन् । चुनौतीलाई संर्घषले खारेर सम्भावना खोजिन्छ तर यहाँ केहि यस्ता समस्या छन् जुन गम्भिर चुनौती बनेर उभिएका छन् ।
१.अनुत्पादक गाई : अनुत्पादक गाई को ब्यवस्थापन एउटा सबैभन्दा ठूलो चुनौती छ । पाल्न नसकिने फाल्न नहुने समस्याले कतिपय मानिसहरुगाई पाल्ने हिम्मत नै गर्दैनन् ।
२. बिचौलियाको नियन्त्रणमा बजार : कृषकले उत्पादन गरेको दूधको मुल्य बजारमा प्रसोधन गरेर बेचिने दूधको तुलनामा निकै कम छ । हरेक कुराको मुल्य बढिरहदा यसै बर्ष दूधको मुल्य घट्यो । त्यो पनि बजार मुल्य होइन मात्र किसानको बिक्री मुल्य । तर किसानलाई चाहिने बस्तुको बजार मुल्य अनियन्त्रितछ । अघिल्लो बर्ष यसै समय फाल्गुण तिर चोकरको मुल्य चितवनमा  किलोको २५ को हाराहारी थियो आज ३५ छ । महिनामा कम खुवाउँदा पनि एउटा गाईलाई ९०–१०० किलो लाग्छ भने प्रति गाई १००० यसैमा बृद्धि भयो । ५ वटा गाई पाल्नेले अघिल्लो बर्ष भन्दा यसबर्ष ५००० त यस्मा नै गुमायो भने दूधको मुल्यमा रु ३ प्रति लिटरमा घटेको छ जस्ले गर्दा मासिक १००० लिटर दूधमा ३००० घट्यो । समग्रमा ५ वटा गाई पाल्नेलाई अघिल्लो बर्षको तुलनामा महिनामा ८००० को आम्दानीमा कटौती भएको छ । अव आफै अनुमान लगाउनुहोस १०,२०,५० को कति कटौती भएको छ । किन्नेमा बढ्ने, बेच्नेमा घट्ने हुँदा कृषक मारमा छन् ।
३.औषधीको उपलब्धता : सामन्य औषधी पनि नेपाली पाइँदैन आयत गरिने औषधीहरु किसानको हित भन्दा कम्पनीले दिने कमिशनमा निर्धारण हुने देखिन्छन् । उदाहरणको लागि थुनेलो हुदाँ वा गाईको थुनामा समस्या आउँदा राख्ने एउटा इन्जेक्सन भारतबाट पहिले ३० रुपियाँमा आउने रहेछ । त्यो बन्द भयो र रु ९० को अर्काे आयो अहिले त्यो पनि पाउँदैन सिधै १७५ को नेदरल्याण्डबाट आउने पाइन्छ । जव की सबैको काम उस्तै हो । किसानको अनुभव त्यहि भन्छ तर निर्णायक ठाँउमा बसेकाहरु उच्च गुणस्तरको भनि चित्त बुझाई दिने गर्दछ । अघिल्लो बर्ष मेरो एउटा गाई मर्दा मर्दै बाचेको छ । प्राबिधिक युवराज पौडेल जी ले सहि समयमा सहि उपचार गर्दा ठिक भयो । त्यो सामान्य ८० रुपैया भारु को औषधी नारायणगढ बजार भरि पाइएन । कसैले भारतबाट ल्याएको औषधी बाटोमा छोपेर अधिक मुल्यमा खरिद गर्नुप¥यो । हाम्रा कृषिमन्त्री इजरायल मोडेलको कुरा गर्नु हुन्छ तर के यस्तै अभावको बिचमा किसान त्यति उद्यमी बन्न सक्लान गम्भिर प्रश्न हो ।
४.अनुदान र किसान : अर्को मुख्य समस्या भनेको राज्य किसान कहाँ पुग्दैन । किसान राज्यसम्म पुग्न सक्दैनन् । अनुदानका थुप्रै कुरा मिडियामा आउँछन् तर प्रायः उत्पादनमुखी किसानले भन्दा पहुँचवाला र्फम वालाले नै अनुदान र सहुलियत ऋण पाउँछन् । कतिपय ब्यावसायिक नाममा खुलेका फर्महरु पाउने जति अनुदान पाईसकेपछि बन्द हुने गरेका छन् । उत्पादनलाई स्थिर बनाउन नागरिकलाई पेशा प्रति आर्कषण गर्न सक्नुपर्दछ । साना किसानहरुलाई निर्वाहमुखी भनेर राज्यले खासै ध्यान दिएको देखिन्न । फर्म हेरेर होइन उत्पादन हेरेर प्रोत्साहन गर्ने हो भने किसान आफै उत्प्रेरित हुने थिए ।
५.राज्यको निति : सरकारले अनुभूति दिनसक्नु पर्छ सहानुभूति र उपदेश होइन । कम्तीमा कृषि कर्म गर्नेहरुलाई हाम्रो हावापानी अनुसारको उत्कृष्ट बिउबिजन, बिधि र प्रबिधिको तालिम र उत्पादित बस्तुको बजार सुनिश्चित गरिदिए केहि बर्षमा कृषिमा आत्मनिर्भर बन्न सकिन्छ । यहिका बस्तुलाई गुणस्तरिय र प्रबिधियुक्त बनाउनको साटो तयारी गाई आयात गर्ने, कृषि सामग्री र रसायनिक मल उत्पादन गर्ने तिर ध्यान नपुग्ने तर घुमाउरो बाटोमा कृषिमा बिदेशी लगानी भित्र्याउने जुन कुरा हँुदैछ त्यस्ले कृषकलाई उत्साहित बनाउन सकेको छैन ।
६. बिमाको अल्प परिपुर्ति : हुनत बिमा कम्पनीहरु प्रत्येक नोक्सानीको परिपूर्ति गरेका छौ भनेर दाबी गर्छन । तर यर्थतता फरक छ । आजकल व्यवसायिक रुपमा पाल्न मिलने खालका गाई लाख भन्दा तल पाइदैन तर बिमा कम्पनीले सत्तरी हजारको मात्र बिमा गर्छ । अर्थात् शुरुमै ३० प्रतिशत घट्यो । पशु कुनै कारणबश मरेमा ९० प्रतिशत मात्र परिपूर्ति हुन्छ ६३ हजार । यसरी एक देखि सवालाखको गाईमा यो रकम आधा जस्तै मात्र हो । त्यस्तै अनुत्पादक गाईमा पाइने ३० प्रतिशतले २१ हजार मात्र हुन्छ । गाई को पेशामा अनुत्पादक हुनु भनेको मर्नु भन्दा पनि ठूलो नोक्सानी हो तर परिपूर्ति गाईको वास्तविक मुल्यको २० प्रतिशत मात्र हुन्छ । यसरी सरकारले ७५ प्रतिशत प्रिमियममा छुट दिएर बिमा गरे पनि किसानले बिमाबाट पुरा क्षतिपूर्ति पाउन सकेका छैनन् ।
७. मिल्क होलिडे: यद्यपी हाम्रो संस्थाको व्यवस्थापनका कारण हामीले यहाँ त्यो समस्या अहिले झेल्नु परेको छैन तर दूध बढेको बेला दुग्ध कम्पनीहरुले दूध खरिद नगरी दिँदा किसानहरुले दूध नै सडकमा घोप्टाउनु परेका दृष्टान्त देशैभरि छ । यसबर्ष नेपाल सरकारले पाउडर दूध आयातमा रोक लगाएकोले संभवत यो समस्या फेरि आउँदैन कि भनेर आशाबादी बन्न सकिन्छ । फेरि पनि उत्पादनको जिम्मा सरकारले लिन नसक्दा किसान मारमा परेको यर्थाथता चाँहि लुकेको छैन ।

गाईपालक कृषकको समस्यामा राज्यले कसरी सहयोग गर्न सक्छ ?
कम्तिमा पनि अनुत्पादक गाईबाच्छालाई निकासी अनुमति दिने, कृषकको उत्पादन खरिद गर्न सरकारले ग्यारेन्टी गर्ने, अनुदान र ऋण स्थानियस्तरबाट नै उपलब्धता गराउने, प्रत्येक स्थानिय निकायमा पशु प्राविधिक, सेवाकेन्द्र र औषधी पु¥याउने, काम सरकारले गर्ने र किसानहरुले सहकारी वा समूह मिलेर आफ्नो उत्पादन आफै बजारिकरण गर्ने तथा उपभोग्य बस्तु त्यसरी नै आयत गर्ने हो भने समस्या केहि हद सम्म समाधान हुने थिए ।

समग्र गाईपालक कृषकको तर्फबाट राज्यलाई के सुझाव दिन चाहनुहुन्छ ?
आज सबै भन्दा कर्णप्रिय समृद्धी हाम्रै पालामा, समृद्ध नेपाल र सुखी नेपाली हरेकको मुखमा झुण्डिएका शब्द हुन तर समाज उत्पादनमुखी बन्न सकेन भने फगत नाराले केहि हुँदैन । राज्यले काम गर्ने उमेर समुहका युवा हरुलाई कामका क्षेत्रको पहिचानमा परामर्श दिने, सहुलियत दरमा ऋण लगानी गराउने र प्राबिधिक पाटो उपकरण र तालिम मा सहजिकरण गर्नु पर्छ । एकपटक दिईने अनुदान भन्दा दिर्घकालिन रुपमा स्थापित हुने परिपाटीमा राज्यले लगानी गरे राम्रो हुनेछ ।

स्वदेशमा रोजगारी पाइएन भनेर सस्तो श्रममा विदेशीने युवायुवतीलाई के भन्नुहुन्छ ?
आज प्राय: युवाहरु १२ र कलेज पढ्दा पढ्दै बिदेशको प्लान बनाउनु हुन्छ । एकातिर देशको दक्षजनशक्ति बहिरिन्छ भने अर्को तिर ठूलो लगानी पनि गई रहेको छ । मानी लिउ कि एकजना अमेरिका जसरी पनि पुग्छु भन्ने ले ४०–६० लाख खर्च गर्नुहुन्छ यदि तिन चार जना त्यस्तै युवा मिलेर एउटा उद्योग खोले अरु १०–१२ जनाले रोजगारी पाउने थिए । बिदेश पसिसकेर केहि पूँजि र ज्ञान सिप उपार्जन गरेका युवाहरुले पनि अव फेसबुक स्टाटसमा मात्र देशको चिन्ता गरेर भएन । आफ्नो माटो, आफ्नो देशको को उन्नतीको बाटो र समृद्धीको खाका आफ्नै पौरखले निमार्ण गर्नु पर्छ । यतिबेला नेपाल भरखर स्थिरताको बाटोमा अघि बढिरहेको छ । इच्छा शक्ति भए नेपालमा प्रचुर सम्भावना छ भन्ने मलाई लाग्छ । कृषि, पर्यटन, रिटेलिङ जस्ता क्षेत्रमा बिदेशमा सिकेको ब्यावस्थित परिचालन बिधि प्रबिधिको प्रयोग गरौ । ठूलो लगानी गर्न सक्नेलाई उर्जा र औद्योगिक उत्पादन को सम्भाबना उत्तिकै छ । नेपाल भर्खर बामेसर्दै छ पूँजिको बिकास तिर यतिबेला तपाईहरुको हरेक लगानी पहिलो हुन्छ ।
सटहीको हिसाबले अमेरिका, यूरोप र अष्ट्रेलियाको कमाई बढि भए पनि खाडी मलेशियामा भन्दा देशमा राम्रो गर्न सकिन्छ । बिदेशको कमाई सुबिधामा खर्चिन्छ तर नेपालको सानो कमाई पनि सम्पत्तीमा रुपान्तरण हुन्छ ।

छुटेका थप केही भन्नुहुन्छ ?
अन्तमा मेरा पूर्व सहकर्मी र संगठकको रुपमा मलाई बुझेकाहरुले प्रवासमा सांगठानिक भूमिकामा देखिने तपाईको भूमिका खै भन्ने गर्नुहुन्छ । समय र सन्र्दभले मानिसको भूमिका निर्धारण गर्ने हो । मैले प्रवासमा कुशलतापूर्वक काम गरेको छु । मेरा अग्रजहरुलाई राम्रोसँग अवगत छ । यो ठाँउमा म अझै नयाँ नै छु । व्यावसायिक हिसाबमा पनि अनुभव बटुल्दै छु । हरेक बिषय उठान गर्नुपूर्व त्यस्को अध्ययन र अनुभव जरुरी हुन्छ । समस्या उजागर गर्न कुनै न कुनै रुपमा संगठित हुन जरुरी छ । अहिले म कुनै जिम्मेवारीमा छैन । एउटा सामन्य किसानको रुपमा मात्र छु । त्यसैले तत्काल यहि गरिहाल्छु भन्ने होइन तर समय र प्रसंग अनुसार पेशागत हितमा लाग्ने नै छु ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार ०९:२९ मा प्रकाशित