back
CTIZAN AD

आधुनिक फेशनको मोबाइल

वि.सं.२०७६ जेठ ११ शनिवार

612 

shares

हिँजोआजको आधुनिक फेशन छ मोबाइल । यो विज्ञानको चमत्कारले कति सजिलो बनाई राखेको छ । घरमा बसी–बसी संसारको खबर थाहा गराउने । पढ्नेलाई खोजी–खोजी पढ्न सजिलो । माया गाँस्ने, माया गराउने । बुडा बुडी लडाउने । आमा–बाबा रुवाउने आदि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा देख्ने र सुन्न पाउने गर्दछौं ।

नौ कक्षामा पढ्दा जयदीप र जयाको माया गाँसी दिएको यही मोबाइलले चार वर्ष भइसकेको थियो । जयालाई जयदीप बिना केही राम्रो नलाग्ने, र उनि बिना अधुरो लाग्न थालेको थियो । पढी सकेर सँगै जिन्दगी बिताउने बाचा पनि दिनहुँ नभएको हुँदैन थियो । दिनहुँ विद्यालयबाट आउनासाथ कोठा बन्द गरी घण्टौ बात चल्ने गर्थे । घरका सदस्य भने छोराछोरीलाई पढाईमा ध्यान देखेर ढुक्क पर्ने गर्दथे । तर, जयाको जिन्दगी भुमरीभित्र पसिसकेको कसैलाई थाहा छैन । एकदिन जया विद्यालयबाट आएर लुगा फेर्न लाग्दा जयदीपको फोन आउँछ ।

‘जया अँ भ..न…न…’

‘के गर्दै छौं मेरी स्विट हार्ट ?’

‘म लुगा फेर्दै छु ।’

‘आहा…एकपल्ट भिडियो काँल गरेर देखाउन कसरी फेर्दैछौं ।’

‘धत्…! मलाई लाज लाग्दै कि क्या हो ?’

‘यतिका दिन भयो हाम्रो पिरती गाँसिएको म माथि माया छैन कि विश्वास छैन ?’

‘जयदीप..आज किन यस्तो प्रश्न गर्छौ ? माया थिएन भनि रातभरि लुकी–लुकी कुरा गर्दछु त्यो के हो ?’
‘मलाई पक्कै माया गर्दछौ भने आज साबित गरेर देखाउ न त ।’

‘कसरी देखाउँ ? हनुमानले जस्तै छाति चिरेर देखाउँ कि ? कि भने विष खाएर देखाउँ ? तिमी बिना त म सक्छु जस्तो पटक्कै लाग्दैन ।’

‘कहाँ पुगेउ…तिमी त्यो सब होइन ल…न…त’

‘त्यति माया विश्वास छ भने बिना लुगाको एउटा फोटो खिचेर पठाउन त हैं ।’

‘उफ.. मबाट हुन सक्दैन मलाई लाज लाग्छ ।’

‘सबै त मेरै हो अब मसित के को लाज ? थपक्क खिचेर पठाईहाल ल प्लीज ।’

‘उफ..मसित हुन सक्तैन भनेको हौं कसो गरौं ।’

‘म केही जान्दिन थपक्क खिचेर पठाउ । मलाई तिमी सित… ।’

‘कस्तो फोटो हेर्न मन लागेको तिमीलाई । हेर्ने वित्तिकै डिलिट गर्नु ल । कसैले देखे राम्रो हुन्न ।’

‘ओके…गुडगर्ल’ जयदीपले फोन राखे ।

पन्ध्र बीस दिन पछि फोनमा अचम्मको बात सुनेर जयालाई आफैसित विश्वास भएन । डरले शरीर काम्न थालेको थियो । रिङटा चली लड्छु जस्तो भएर सम्हालिएर भनिन् ‘म कसरी होटलमा त्यसरी आउन सक्छु ?’

‘जसरी सधैं क्याम्पस जान्छौं त्यसैगरी आउ आधा घण्टा पछि गई हाल न त ।’

‘ म आउन सक्दिन । कसैले देखे या घरमा थाहा पाए कस्तो हालत हुन्छ तिमीलाई थाहा छ ?’

‘जया के हुन्छ र ? आउने वर्षमा त हामी बिहे गरी हाल्ने हो । मन मिलेकै छ, बिहे मै के राखेको छ र ? आएनौ भने म तिम्रो माया झूटो ठान्छु ।’

‘यो सबै बिहेपछि मात्र राम्रो हुन्छ जयदीप । एक वर्ष त प्रतिक्षाको फल मिठो हुन्छ पर्ख ल ।’

‘तिम्रो गनगनले म वाक्क परे । आएनौ भने अस्ति तिमीले पठाएका फोटाहरु सबै तिम्रो साथीहरु र घरमा पठाइदिन्छु । यति भन्दै जयदीपले फोन राखे ।

त्यसपछि जयाले धेरै चोटि फोन लगाइन् तर जयदीपले उठाएनन् । आखिरिमा हार मानी एउटा गरेको गल्तीलाई छुपाउनु अर्को गलती गर्दै डराउँदै होटल पुगिन् । जयदीप भने होटल बुक गरी जयालाई पर्खेर बसेका थिए ।

जयालाई देख्ना साथ कति ढिलो गरेकी भनि सोधे । आज भने जयालाई जयदीपको अनुहारमा पहिलोको जस्तो माया नभएर एउटा भयानक राक्षसको रुपमा देख्दै थिइन् । यो सब पाप हो भनि जयाले अनेक सम्झाई बिन्ती गरी रोएर भन्दा पनि जयदीपले कान ठाडो पारेनन् । उनको त्यो क्रुर मन पगालिएन ।

जयदीपलाई यसरी अब सजिलो भयो । कहिले बाटोमा, कहिले होटलमा धेरैजसो बोलाउन थाले । जयालाई इज्जत बचाउनका लागि अझै इज्जत बर्बाद हुँदै गएको महसुस भए पनि अरु उपाए थिएन ।

एकदिन तिमीसित जरुरी कुरा गर्नु छ भनिन् जयदीपलाई ।

‘ के छ त्यस्तो भनन् जया ।’

‘तिमीले तिम्रो बुवालाई कन्यअर्थ पठाउँछौ कि ?’

‘ के को हतार छ अहिले ?’

‘होइन जरुरी भयो म, भारीज्यानकी भएकीछु । के गर्नु हतार न गरी । घरमा थाहा पाए भने राम्रो हुन्न होला ।’

‘भरे दुई बजे क्याम्पसको पछाडिको जंगलमा आउ त्यहि बसेर सल्लाह गरौला’ भनि जयदीप गए ।
जयदीपले भेट्नासाथ बच्चा गिराउने सल्लाह दिए जयालाई ।

‘यति पाप भइसक्यो अब अर्को अझै बच्चा गिराएर ? नाई यसमा म सहमत छुइन । बुबालाई कन्यअर्थ पठाउ, नत्र भागेर बिहे गरौं ।’

धेरै बहस भएपछि जयदीपलाई रिस उठ्यो र मार्ने विचारले घाँटी निर्चोन थाल्यो जयाको । धेरैबेरसम्म दुईजनाको लडाइँ चल्यो । कसो–कसो चिच्याएर गुहार भन्न पाइन् जयाले । अलिक पर खेतमा धान काट्दै गरेका खेतालाहरुले सुनेछन् । खेतालाहरु दर्गुदै आएको देखेर जयदीप त्यहाँबाट भाग्न सफल भए ।

खेतालाहरु आएर हेंरे । जयालाई अचेत हालतमा देखेर पुण्य नै हुन्छ होला भनि सरकारी अस्पतालसम्म पुर्यादिने बिचार गरी अस्पताल पुर्याइदिए । तर, डाक्टरहरुका अनेक प्रश्नले उनीहरु डराए । उनीहरुले जयालाई कुन हालतमा भेट्टाएर यहाँ ल्याएको भन्ने बृत्तान्त डाक्टरहरुलाई बताए । मेलो छोडेर आएका मेलो रहन्छ होला हामी जान्छौ भनि डाक्टरलाई बिन्ती गर्दा डाक्टर भन्छन्–‘दुईजना जति बस्नुस् प्रहरी केस हुन्न । प्रहरी आएपछि जानु होला ।’

एकघण्टा जतिमा जयाले आँखा खोलिन् । आँखा उर्घादा आफ्नो सामु आमा, बाबा, डाक्टर र केही प्रहरीलाई पाएपछि छक्क परि हेरिरहिन् । जयाको घाँटी निचोरिएकाले बोल्न गाह्रो भइरहेको थियो । प्रहरीले अनेक प्रश्न गरे जयासित । पाँच वर्षदेखिको वृत्तान्त सबै सुनेपछि जयदीपको खोजीमा प्रहरी निस्के ।

जयदीपलाई प्रहरीले पक्रेर थानामा लगेपछि उनका आमा, बुवाले जयालाई भने, ‘नानी हामीलाई तिम्रो विषयमा केही थाहा थिएन । हामीसँग सल्लाह गरेको भए मागेरै बिहे गरिदिने थियौँ । अब बिहे गरिहाल्नु पर्छ ।’

जयाले भनिन्, अब जयदीपसित बिहे गर्न सक्दिन । यस्तो कुटील बिचार भएको सँग । उनको असली रुप मैले आज देखेँ । दुईजनाकै हत्या गर्न सक्ने मान्छे रहेछन् । म यो गर्भमा भएको नानीलाई जन्मदिएर पढाउँछु–बढाउँछु, यसको निम्ति म संघर्ष गर्छु । जयदीपलाई रेप र एटेम टू मर्डर केशमा जेल भएको ठिकै भयो । मलाई केश फिर्ता गर्नु भनेर जोड नदिनुहोस् । यो एक वर्षमा मेरो हजारपटक मृत्यु भयो । म कहिल्यै भुल्न सक्दिन । सम्झदा पनि मुटु निचोरिएर आउँछ । आजबाट यस्तो पापी व्यक्तिलाई दिलमा फेरि सजाउन सक्दिन ।

‘खै भीडभाड न गरौं यहाँ, अहिले उहाँलाई आरामको जरुरी छ । …सिस्टर…सिस्टर…’ भन्दै डाक्टरले भिडबीच कराए ।

वि.सं.२०७६ जेठ ११ शनिवार १२:२७ मा प्रकाशित