३० कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारीमा लान सक्ने षडयन्त्र जनताले विफल पार्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा लैजाने भारतीय षडयन्त्र जनताले कहिलै सफल हुन नदिने बताउनुभयो । उहाँले मधेस आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेसका जनतासमेत नागरिकताको सवालमा संविधान संशोधन गर्ने पक्षमा नरहेको उल्लेख गर्नु भयो ।
तराईमा सरकारले घरदैलो अभियान सञ्चालन गर्दै नागरिकता वितरण गर्न लागेको प्रसङ्गमा उहाँले नेपालमा प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकलाई नागरिकता बाँड्ने परम्परा अहिलेको पुष्पकमल दाहाल नेतृत्व सरकारले पनि निरन्तरता दिएको आरोप लगाउनुभयो ।
संविधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालका रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै उहाँले केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने भएपछि लोकमान प्रकरण बाहिर आएको बिजुक्छेको दाबी थियो ।
सरकारले सय दिनमा कुनै पनि परिणाममुखी काम गर्न नसकेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेले सरकार असफल भएको विचार व्यक्त गर्नु भयो । रासस
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १४:५६ मा प्रकाशित