२४ जेठ, इटहरी । पत्रकारले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीबाट आफूहरू असुरक्षित भएको ठहर गरी सुरक्षा माग्दै आन्दोलन थालेका छन् ।
जनताको जिउधनको सुरक्षा प्रदान गर्ने निकायका प्रमुख चौधरीले पत्रकारको नाक भाँच्ने धम्की दिनु र त्यसपछी सञ्चारमाध्यममार्फत कानुन, न्यायपालिका र प्रहरीलाई नमान्ने अनि पत्रकारलाई लात्तैलात्ताले हानेर कालो मोसो दल्छु भनी अभिव्यक्ति दिएपछि सुनसरीका पत्रकारले असुरक्षा महसुस गरेका छन् ।
पत्रकार अनुपसँग मंगलबार टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘ तिम्रो नाक भाँच्न एक करोड टुट्याएको छु, तिम्रो विरुद्घ सुपारी दिइसकेको छु, सुरक्षा खोज्नू’ भन्दै धम्की दिएको थिए ।
सोही विषयमा न्युज २४ टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘म संविधान र कानुन मान्दिनँ, इटहरीमा मेरो शासन चल्छ, मेरो विरूद्घ लेख्नेलाई कालोमोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाहरूले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हुदैँन’ जस्ता अत्यन्तै अस्वाभाविक, अराजक र अमार्यादित अभिव्यक्ति दिएका थिए ।
श्ुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ २४ शुक्रवार ०८:२९ मा प्रकाशित






























